
सुरुवाती समयदेखि नै पटकपटक विवादमा फस्दै आएको चलचित्र हो, ‘प्रसाद २’ ।
कलाकारको पारिश्रमिकको विवाददेखि सुटिङमा कोरस डान्सर ढल्दा पनि निर्माण युनिटले बेवास्ता गरेको विवाद यसअघि चलचित्रले भोगेको थियो ।
यतिबेला पनि चलचित्र विवादमा छ ।
चलचित्रका निर्माता सुवास थापाविरुद्ध बैंकिङ कसुरमा प्रहरीमा जाहेरी दर्ता छ ।
यसै चलचित्रका पूर्वनिर्माता रहेका केशव पाण्डेले थापाविरुद्ध चेक बाउन्स र ठगी आरोपमा केही दिनअघि उजुरी दर्ता गरेका हुन् ।
‘प्रसाद २’ आगामी शुक्रवारबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र हो ।
यद्यपि, छायाँकनदेखि प्रदर्शन मिति आउँदासम्म विवादले नछोडेको कारण चलचित्रलाई लिएर विभिन्न आशंकाहरु उत्पन्न भएका छन् ।
यसै बीच, निर्माता सुवास थापाले चलचित्र प्रदर्शनमा सहयोगका लागि सबैमा आग्रह गरेका छन् ।
सोमवार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै निर्माता थापाले आफ्नो नियत खराब नभएको र नियतिका कारण आफूले बचन पुरा गर्न नसकेको बताएका छन् ।
उनले चलचित्र रिलिजपछि पहिले आफूले तिर्नु पर्नेलाई रकम तिर्ने र त्यसपछि मात्र आफूले लिने बताएका छन् ।
‘हलबाट आउने रकम सबै चलचित्रसँग सम्बन्धित कुनै संस्थामा रहने र सबैको हिसाब त्यहीबाट तिर्नु पर्नेलाई दिई बाँकी रहेको रकम मलाई बुझाउने गरी गरेमा मेरो मन्जुरी छ’ उनले लेखेका छन् ‘यो चलचित्रमा धेरैको मेहनत छ । तसर्थ सबै मिलेर चलचित्र रिलिज हुने वातावरण बनाई सबैको रकम चलचित्र प्रदर्शनपछि प्राप्त हुने गरि गरिदिन हुन सबै सरोकारवाला संघ संस्था, व्यक्तिमा आग्रह गर्दछु ।’
सुदर्शन थापा निर्देशित ‘प्रसाद २’मा विपिन कार्की, केकी अधिकारी, अर्पण थापालगायत शीर्ष भूमिकामा छन् । चलचित्रले जातीय विभेदविरुद्ध सन्देश बोकेको निर्माण टिमको भनाई छ ।