१४ असार २०८३, आइतबार
मन्त्रिपरिषद् विस्तार

कांग्रेसमा भागबण्डाको सकस : आफ्नोतर्फका दुई मन्त्री टुंग्याएर शेखर पक्षका नाम कुर्दै देउवा

चैत २४, २०७९
कांग्रेसमा भागबण्डाको सकस : आफ्नोतर्फका दुई मन्त्री टुंग्याएर शेखर पक्षका नाम कुर्दै देउवा

एक महिनासम्म १६ वटा मन्त्रालय लिएपछि अघिल्लो साता १० मन्त्री चयन गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग अझै ६ वटा मन्त्रालयको जिम्मेवारी छ ।

गत शुक्रवार नै सबै मन्त्रालयमा मन्त्री चयन गर्ने प्रधानमन्त्री प्रचण्डको प्रयास थियो । तर सबैभन्दा ठूलो दल कांग्रेसको किचलोका कारण पूरा भएको हुन सकेन । यसैले कांग्रेसले पाउने ८ मध्ये ४ मन्त्रालयमा मात्रै जिम्मेवारी तोकिएको थियो । 

कांग्रेसबाट उपप्रधानसहित रक्षामा पूर्णबहादुर खड्का, अर्थमा डा. प्रकाशशरण महत, उद्योग वाणिज्य तथा आपूर्तिमा रमेश रिजाल र शहरी विकासमा सीता गुरुङ मन्त्री चयन भएका थिए । तर, शेखर पक्षले तीनवटा मन्त्रालयमा दाबी गरेर नाम नपठाएपछि कांग्रेसले पाउने चार र बाँकी २ गरी ६ मन्त्रालय अझै खाली छन् ।

प्रधानमन्त्रीसँग कानून, न्याय तथा संसदीय मामिला, खानेपानी, परराष्ट्र, वन तथा वातावरण, युवा तथा खेलकुद, स्वास्थ्य तथा जनसंख्या गरी ६ वटा मन्त्रालय बाँकी छन् । 

प्रधानमन्त्री प्रचण्डले बुधबार सहकारीकर्मीहरूको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै दुई दिनभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका थिए । उनले भनेको दुई दिनको समयसीमा शुक्रवारबाट सकिँदैछ । जनताले केही राहत पाउने गरी बजेट निर्माणमा जुट्नुपर्ने भन्दै प्रधानमन्त्रीले मन्त्रिपरिषद्लाई पूर्णता दिएर कार्यसम्पादनमा केन्द्रित हुने बताएका थिए । 

प्रधानमन्त्रीले भनेकै भाकामा शुक्रवारसम्ममै मन्त्रिपरिषद्लाई पूर्णता दिने गरी नाम टुंग्याउन कांग्रेस सभापति शेरबहादुर देउवाले पनि पहल गरिरहेका छन् । बाँकी मन्त्रालयमा कांग्रेसको संस्थापनले आफ्नो तर्फका दुई मन्त्रीको नाम टुंगो लगाएको जानकारी सभापति शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले दिए । 

‘हाम्रो तर्फबाट थप दुई मन्त्रीमा एनपी साउद र मोहन बस्नेतको नाम टुंगिसकेको छ । शेखर दाइहरूले नाम दिएपछि प्रधानमन्त्रीलाई सूची बुझाउने तयारी छ,’ भानुले भने, ‘उहाँहरूसँग कुराकानी भइरहेको छ । शायद अब लामो समय लाग्दैन ।’

संस्थापन पक्षबाट परराष्ट्रमा साउद र स्वास्थ्य वा युवा तथा खेलकुदमध्ये एकमा बस्नेतलाई मन्त्री बनाउने तयारी छ । २ नाम दिन आनाकानी गरिरहेको शेखर पक्षलाई मनाउने प्रयास भइरहेको जानकारी भानुले दिए । 

‘उहाँहरूले नाम नदिँदा मन्त्री चयन रोकिएको हो,’ भानु भन्छन्, ‘तर पनि सभापतिले मिलाउनका लागि संवाद गरिरहरनुभएको छ ।’

देउवाले २ मन्त्री र एक राज्यमन्त्रीमा मान्न शेखरपक्षलाई आग्रह गर्दै आएका छन् । तर ३ मन्त्रालयको दाबीबाट उनीहरू पछाडि हटेका छैनन् । प्रधानमन्त्री पनि ४ को सट्टामा ५ मन्त्रालय कांग्रेसलाई दिन तत्काल तयार नभएको बताइन्छ । 

प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमल्सिनाले प्रधानमन्त्रीले कांग्रेसबाट आउने चार जनाको नाम कुरिरहेको जानकारी दिए । 

‘प्रधानमन्त्री त अघिल्लो साता एकैपटक सबै मन्त्री चयनका लागि तयार हुनुहुन्थ्यो’, तिमल्सिनाले लोकान्तरसँग भने, ‘उहाँहरूले नाम पठाए मन्त्रिपरिषद्लाई पूर्णता दिन प्रधानमन्त्रीलाई समय लाग्दैन । नाम आउनेबित्तिकै मन्त्री चयन हुन्छन् ।’ 

६ मध्ये ४ वटा कांग्रेसलाई दिएर २ वटा सरकारलाई विश्वासको मत दिने अन्य दलका निम्ति राखिने तिमल्सिना बताउँछन् ।

‘कांग्रेसमा मन्त्रीको किचलो भएको छ । तर, तत्काल ४ को सट्टा ५ वटा मन्त्रालय कांग्रेसलाई दिने बुझेका छैनौं,’ उनले भने, ‘प्रधानमन्त्रीलाई विश्वासको मत दिने दलकै निम्ति २ वटा मन्त्रालय बाँकी रहन्छन् ।’

तर, कांग्रेस सहमहामन्त्री जीवन परियार ३ वटा मन्त्रालय नपाई आफ्नो पक्ष सरकारमा सहभागी नहुने अडानमै रहेको बताउँछन् । 

‘हामीले पहिलेदेखि नै २ होइन ३ वटा मन्त्रालयको माग गर्दै आएका छौं । यो एक हप्तामा पनि उल्लेख्य प्रगति भएर कुरा मिल्न सकेको जानकारी छैन,’ परियार भन्छन्, ‘२ मन्त्री र एक राज्यमन्त्रीमा हामी मान्नेवाला छैनौं ।’

देउवाले दुई मन्त्री र एक राज्यमन्त्री दिएर शेखर पक्षलाई मनाउन पटक-पटक सन्देश पठाएका छन् । तर शेखर पक्षबाट ३ वटै मन्त्रालयमा अडान कायम छ ।

शेखर पक्षबाट धनराज गुरुङ र डिगबहादुर लिम्बूलाई मन्त्री बनाउने तयारी पनि थियो । तर थप एक मन्त्रालयको अडान राखेपछि कुरा नमिलेको हो । 

देउवाले प्रकाशमान सिंह, डा. शशांक कोइराला र कृष्णप्रसाद सिटौला कुनै पनि समूहबाट यसपटक मन्त्री चयन नगरी ६ जना मन्त्री आफू निकटकै नेतालाई बनाउन खोजेपछि समझदारी नभएको हो । अरू पक्ष पनि छुट्ने भएपछि शेखर पक्षले २ को सट्टा ३ वटा मन्त्रालयमा अडान राखेको हो । 

शेखर पक्षको यस्तो अडानपछि प्रधानमन्त्रीसँग रहेका ६ मध्ये ५ वटा मन्त्रालय दिन प्रधानमन्त्रीलाई मनाउनुपर्ने दबाब बढेको कांग्रेस नेताहरू बताउँछन् । 

salt training

कमेन्ट गर्नुहोस्