
विक्रम संवत्को वर्ष २०७९ बिहीवार मध्यरातिदेखि समाप्त हुँदैछ । यो वर्षको मात्र होइन, ०७० को दशककै अन्त्य पनि हो । केही आशा र केही निराशाका घटनासहित पुरानो वर्ष बिदाइ हुन लागेको छ ।
शुक्रवार २०८० सालको पहिलो दिन शुरू हुँदैछ । बिदाइ भएर जाँदै गरेको पुरानो वर्ष २०७९ मा केही महत्त्वपूर्ण घटनाक्रम भएका छन् ।
आर्थिक मन्दी, बढ्दो बेरोजगारी र युवा पलायनका घटनाले मानिसहरूमा नैराश्य उत्पन्न गरेको छ ।
बिदा हुँदै गरेको वर्ष २०७९ मा केही महत्त्वपूर्ण राजनीतिक र सामाजिक घटनाक्रम भए, जसलाई यहाँ चर्चा गरिएको छ ।
स्थानीय तह निर्वाचन
२०७९ सालमा भएका महत्त्वपूर्ण राजनीतिक घटनाक्रममध्ये स्थानीय तहको निर्वाचन एक हो ।
वैशाख ३१ गते भएको निर्वाचनमा नेपाली कांग्रेस पहिलो दलको रूपमा स्थापित भयो । कांग्रेस–माओवादीसहितको गठबन्धनविरुद्ध एक्लै प्रतिस्पर्धा गरेको एमाले दोस्रो स्थानमा रह्यो ।

नेपाली कांग्रेस ३२९ पालिकामा विजयी भएको थियो ।
स्थानीय तह निर्वाचनमा राजधानी काठमाडौंमा स्वतन्त्र उम्मेदवार विजयी भएको घटना अहिलेसम्म सेलाएको छैन ।
वर्ष सकिने बेलासम्म काठमाडौंका मेयर र संघीय सरकारबीच टसल चलिरहेको छ । बिहीवार मात्र मेयर बालेन साहले सिंहदरबार अन्य पालिकामा सार्न चुनौती दिएका छन् । स्थानीय तह निर्वाचन संविधान कार्यान्वयनको अर्को कडीको रूपमा रह्यो ।
प्रधानन्यायाधीशविरुद्ध महाभियोग
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग यो वर्षको अर्को महत्त्वपूर्ण घटना हो ।
अघिल्लो वर्षको फागुन १ गते संसद् सचिवालयमा दर्ता भएको महाभियोग ७ महिनापछि प्रक्रियामा गएको थियो ।
भदौ १५ गते निलम्बित अवस्थामा रहेका प्रधानन्यायाधीश जबराले महाभियोग सिफारिश समितिमा उपस्थित भएर राजनीतिक दलका नेता, सर्वोच्चकै न्यायाधीश, नाम चलेका वकिल र मिडिया मालिकको पोख खोले । चोलेन्द्रले विभिन्न क्षेत्रको पोल खोलेको घटनाले राजनीति तरंगित भयो ।
प्रतिनिधिसभाको कार्यकाल सकिएपछि संघीय संसदका महासचिवको पत्रको बलमा चोलेन्द्र सर्वोच्च फर्किने प्रयास गरेका थिए ।
प्रतिनिधिसभाको कार्यकाल सकिएसँगै महाभियोग निष्क्रिय बनेको भन्दै संसद्का महासचिव भरत गौतमले मंसिर २१ गते चोलेन्द्रलाई पत्र दिएका थिए ।
तर, सरकारले सरकारी निवासबाट बाहिर निस्कन नदिएपछि आफूलाई नजरबन्दमा राखिएको भनेर प्रतिक्रिया दिए ।
‘देशमा कि जंगबहादुर थियो, कि चोलेन्द्र शमशेर छ,’ भन्ने जबरा मंसिर २८ गते लुरुलुरु घर फर्के ।
प्रतिनिधिसभा निर्वाचन
मंसिर ४ मा सम्पन्न आवधिक निर्वाचन गत वर्षको सबैभन्दा महत्त्वपूर्ण राजनीतिक घटनाक्रम हो ।
२०७४ सालको निर्वाचनबाट पहिलो दलको रूपमा स्थापित नेकपा एमालेलाई पछि पार्दै कांग्रेस पहिलो दल बन्यो । समानुपातिकतर्फ भने पपुलर भोटमा नेकपा एमाले नै अघि रह्यो । प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसले ८९, नेकपा एमालेले ७८ र माओवादी केन्द्रले ३२ सीटमा चुनाव जिते ।

मंसिरको निर्वाचनमार्फत रवि लामिछाने नेतृत्वको रास्वपा, पूर्वपञ्चको पार्टी राप्रपा र सीके राउतको पार्टी जनमत निर्णायक शक्तिको रूपमा उदाए ।
कैलालीको टीकापुर हत्याकाण्डमा दोषी ठहर भएका रेशम चौधरीको दल पनि ४ सीटसहित संसदमा आयो ।
संविधान कार्यान्वयनका लागि आवधिक निर्वाचन लोकतन्त्रका लागि महत्त्वपूर्ण कसी बन्यो । तर, त्रिशंकु संसद्ले राजनीतिक स्थिरताभन्दा पनि अस्थिरता निम्त्याउने चिन्ता भइरहेको छ ।
पुरानो भत्किएर नयाँ गठबन्धन
नेकपा एमालेका अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनलाई प्रतिगमनको संज्ञा दिएर बनेको कांग्रेस–माओवादी–समाजवादी गठबन्धन पुस ११ गते टुट्यो । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री मान्न प्रचण्ड र प्रचण्डलाई प्रधानमन्त्री दिन कांग्रेस तयार नभएपछि पुरानो गठबन्धन टुटेको थियो ।
कांग्रेसबाट धोका पाएको निष्कर्षसहित प्रचण्ड पुस ११ गते नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट गए । बालकोटमा केहीबेरमै ‘नाटकीय’ सहमति भएर प्रचण्ड प्रधानमन्त्री बने । बालकोटमा १६९ सांसदको समर्थन जुटाएर प्रचण्डलाई प्रधानमन्त्री बनाउन केपी ओली शीतलनिवास पुगे । सोही दिन राष्ट्रपतिबाट प्रधानमन्त्री नियुक्त भए । ‘मेड इन नेपाल’ सरकार बनाउन सफल भएको भन्दै एमाले अध्यक्ष ओलीले सार्वजनिक रूपमा हर्ष प्रकट गरे ।
एमाले, रास्वपासहित सरकार बनाएका प्रचण्डले पुस २५ गते प्रतिनिधिसभामा ९९ प्रतिशत सांसदको विश्वास जिते ।

एमालेको समर्थनमा बनेका प्रधानमन्त्रीलाई कांग्रेसले विश्वासको मत दिएर गठबन्धनमा भाँजो हाल्ने कोशिश गर्यो ।
प्रचण्डलाई विश्वासको मत माग्ने क्रममा ओलीले कांग्रेसले ‘ढोक्सा’ थापेको भन्दै आक्रोश व्यक्त गरे । ओलीको आशंका सत्य सावित भइदियो ।
कांग्रेसको ढोक्सामा माछा पर्ने देखेपछि फागुन १५ गते नेकपा एमाले सरकारबाट बाहिरियो । एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रचण्डले चैत ६ गते फेरि विश्वासको मत लिए ।
प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेस सहभागी भएपछि पुस ११ गते टुटेको गठबन्धन फेरि जुट्यो ।
अदालतबाट गृहमन्त्री बर्खास्त
मंसिरको चुनावमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्रीसहित प्रचण्ड सरकारमा गृहमन्त्री बनेका थिए ।
प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दर्ता गर्दा प्रयोग गरिएको नागरिकता कीर्ते भन्दै उनीविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको थियो ।
सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको नागरिकतालाई अवैध ठहर गरिदियो ।
सर्वोच्चको एउटा आदेशबाट उनको मन्त्री र सांसद पद चैट भयो । ३२ दिनमा रविको उपप्रधानमन्त्री पद गुमेपछि रास्वपा धेरै दिन सरकारमा बसेन । रविको सांसद पद गुमेको ठाउँमा आउँदो वैशाख १० गते उपनिर्वाचन हुँदैछ ।
वर्ष सकिनै लाग्दा घुस काण्डले रास्वपा फेरि विवादको भूमरीमा फस्यो । रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठ विवादास्पद व्यापारी दुर्गा प्रसाईंसँग घुस मागेको भन्दै कारबाहीमा परे ।
मन्त्री बन्न रविको ‘कोर टीम’लाई बुझाउन भन्दै सांसद श्रेष्ठले प्रसाईंसँग २ करोड मागेको अडियो बाहिर आएको थियो ।
नयाँ राष्ट्रपति/उपराष्ट्रपति
एमालेसँगको गठबन्धन तोडेर माओवादीले कांग्रेस उम्मेदवारलाई समर्थन गरेपछि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडल गणतन्त्र नेपालको तेस्रो राष्ट्रप्रमुख बन्न सफल भए ।
प्रधानमन्त्री, सभामुखजस्ता महत्त्वपूर्ण पद गुमाएको कांग्रेसका लागि राष्ट्रपति जित्नु राजनीतिक रूपमा पुनर्जीवनसरह भयो ।

दुई कार्यकाल पूरा गरेर विद्या भण्डारी फागुन २८ गते पौडेललाई कार्यभार दिएर घर फर्किइन् । जसपाका नेता रामसहायप्रसाद यादव उपराष्ट्रपति बने ।
देशले नयाँ राष्ट्रपति र उपराष्ट्रपति पाउनु वर्षको महत्त्वपूर्ण घटनाक्रम बन्यो ।
जहाज दुर्घटना
यती एयरको विमान दुर्घटनाले गत वर्ष नेपालका लागि पीडादायक वर्षको रूपमा चित्रित भयो ।
काठमाडौंबाट पोखराका लागि उडेको विमान माघ १ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नु केही सेकेण्डअघि मात्र सेती नदी खोँचमा दुर्घटनामा पर्यो ।
विमान दुर्घटनामा चालक दलका सदस्यसहित सबै ७२ जनाको मृत्यु भयो । कोरोनाका कारण शिथिल बनेको नेपालको पर्यटन उद्योग उकालो लाग्न लागेका बेला भएको दुर्घटनाले ठूलै धक्का दिएको छ ।
क्रिकेटमा ‘वान डे’ हैसियत जोगियो
खेलकुद जगत (विशेष गरी क्रिकेट)का लागि २०७९ साल उपलब्धिपूर्ण नै रह्यो ।
कठिन प्रतिस्पर्धा गरेर नेपालले आफ्नो ‘वन डे’ स्टाटसलाई कायम राख्न सफल भयो । यसक्रममा नेपालले आफ्ना अन्तिम १२ मध्ये ११ खेल जितेको थियो ।

वर्षको अन्त्यतिर सरकारले चितवनमा अलपत्र परेको क्रिकेट रंगशाला निर्माणको कामलाई पूर्णता दिने तयारी थाल्नु पनि खेल क्षेत्रका लागि सुखद् पक्ष हो ।
नेपाली क्रिकेटका लागि केही बिर्सनलायक घटना पनि भए । राष्ट्रिय टीमका कप्तान सन्दीप लामिछाने नाबालिक बलात्कारको आरोपमा पक्राउ परे । अन्य दुई क्रिकेट खेलाडी म्याच फिक्सिङ आरोपमा पक्राउ परे ।
फूटबल खेलाडीहरूको पलायन नेपाली खेलकुदका लागि चिन्ताको विषय बन्यो ।
पुरस्कार र उपलब्धि
आँखा उपचारमा विशिष्ट योगदान पुर्याएका डा. सन्दुक रुइतले ओमानको एक प्रतिष्ठित पुरस्कार प्राप्त गरे । १४ करोड धनराशिको इसा अवार्ड नेपालका लागि गौरव र प्रतिष्ठाको विषय बन्यो ।
क्रिकेटर आशिफ शेखले ‘आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड’ जिते ।
आयरल्यान्डका खेलाडी नेपाली बलरसँग ठोक्किएर क्रिजमा लड्दा रन आउट नगरेर देखाएको खेल भावनाका लागि उनलाई उक्त अवार्ड प्रदान गरिएको थियो ।
बितेको वर्ष जसलाई देशले गुमायो
वर्ष २०७९ ले समाजका केही चर्चित र प्रतिष्ठित व्यक्तिलाई गुमायो । असोज ३० गते मुलुकले शताब्दी पुरुष सत्यमोहन जोशीलाई गुमायो । आफ्नो जीवनको एक शताब्दी पूरा गरेर १०३ वर्षको उमेरमा जोशीको निधन भएको हो ।
यसैगरी नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं बौद्धिक नेता प्रदीप गिरीको यसै वर्ष निधन भयो । बौद्धिक नेताको छवि बनाएका गिरीको २०७९ भदौ ५ गते निधन भयो ।
नेपालका पहिलो गभर्नर हिमालय शमशेर जबराको पनि यसै वर्ष निधन भयो । ९५ वर्षको उमेरमा माघ २२ गते जबराको निधन भएको हो ।