
गायक प्रकाश सपूतले बिहीवार दिउँसो युट्युबमा सार्वजनिक गरेको ‘सकम्बरी’ (फूलमाया) शीर्षकको गीत केही घण्टामै ट्रेन्डिङको शीर्षस्थानमा आएको छ ।
१८ घण्टामै यो गीतले ६ लाख हाराहारी भ्युज बटुलिसकेको छ भने गीत युट्युब ट्रेन्डिङ नम्वर वानमा छ ।
नयाँ वर्षको पूर्वसन्ध्या पारेर सार्वजनिक गरेको यो गीतमा प्रकाश स्वयंमको शब्द, संगीत र स्वर छ ।
सुदिप सागरको संगीत संयोजन रहेको गीतमा स्वरमा प्रकाशलाई बर्ता गन्धर्वले साथ दिएकी छन् ।
यसको भिडियोको कथा लेखन एवं निर्देशन प्रकाशले नै गरेका हुन् ।
राम्रो कलाकार बन्ने सपना बोकेर गाउँबाट सहर छिरेकी एक युवती (फूलमाया)को कथा प्रकाशले भिडियोमा पेस गरेका छन् ।
ति युवतीमार्फत अभावले मानिसलाई के–के गर्न समेत बाध्य बनाउँछ र आफ्नो अभावमा अरू व्यक्तिहरू कसरी खेल्छन् भन्ने सन्देश गीतमा दिन खोजिएको छ ।
श्रीमतीले छोरीमात्रै जन्माएको भन्दै बुवाले दोस्रो विवाह गरेपछि परिवारको जिम्मेवारी ति युवतीको काँधमा आइपुगेको हुन्छ । एउटा राम्रो कलाकार बनौँला, नाम–दाम कमाउँला, घर परिवार हेरौँला, बहिनीहरू पढाउँला भनेर सहर छिरेकी ति युवतीलाई अरूले कसरी बाध्यताको फाइदा उठाउँछन् भन्ने नै गीतको कथा हो ।

भिडियोमा गाउँबाट सहर आएको युवतीको भूमिकामा कुसुम शर्मा प्रस्तुत छिन् । साथमा, प्रकाश स्वयंसँगै सुनिल थापा, निक्स शर्मा, सरिता राजोपाध्याय, संजोग रसाईली, सरस्वती अधिकारी, सालिक भण्डारी लगायतलाई भिडियोमा हेर्न सकिन्छ ।
युट्युबमा सार्वजनिक भिडियोमा पाँच हजार बढीले कमेन्ट गरेका छन्, जसमा अधिकांशले प्रकाशको सिर्जनाको खुलेर प्रशंसा गरेका छन् ।