
ग्यास लीकबाट भएको आगलागीमा परी घाइते भएर मुम्बईमा उपचाररत कांग्रेस नेता चन्द्र भण्डारीले बाँकी उपचार नेपाल फर्किएर गराउने बताएका छन् ।
३ फागुनमा खाना पकाउने ग्यास लीक भएपछिको आगलागीमा परेर घाइते भएका भण्डारीले स्वास्थ्यमा सुधार आएकाले अब बाँकी उपचार नेपालमै फर्किएर गराउने बताएका हुन् ।
‘तपाईंहरूको माया, प्रेम र सद्भावको कारण मेरो स्वास्थ्यमा सुधार भइरहेको छ । छिट्टै नै म तपाईंहरूसँग उपस्थित भएर त्यहीँ नै उपचार गराउनेछु,’ नयाँ वर्षको अवसरमा भिडियो सन्देश जारी गर्दै भण्डारीले भनेका छन्, ‘नयाँ वर्षको अवसरमा तपाईंहरू सबैलाई शुभकामना ।’
भण्डारीको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा उपचार भइरहेको छ ।
आगलागीमा परी भण्डारीकी आमा हरिकलाको भने उपचारको क्रममा ४ फागुनमा कीर्तिपुरस्थित बर्न अस्पतालमा निधन भएको थियो ।
सोही दिन भण्डारीलाई थप उपचारको लागि मुम्बई लगिएको थियो ।