
नेपालभर चलचित्र प्रदर्शन भएबापत गरेको व्यापारको तथ्यांक नेपाल सरकारसँग बक्स अफिस प्रणाली (ई–टिकेटिङ सिस्टम) मार्फत प्राप्त हुने गर्छ ।
विक्रम संवत् २०७६ सालदेखि नेपालमा लागू गरिएको यो प्रणाली शुरू नहुँदा निर्माता वितरककै तथ्यांकमा भर परिरहेका थिए ।
चलचित्रको वास्तविक कमाइको विवरण देखाउने प्रणालीमार्फत कुन चलचित्र भवनमा कति टिकट बिक्री भयो भन्ने आधिकारिक तथ्यांक निर्माता तथा वितरकले थाहा पाउँछन् ।
यो प्रणाली जडान भएको ३ वर्ष पूरा भइसक्दा पनि यसको विश्वसनीयतामा प्रश्न उठ्ने गरेको छ । बोर्डले २०७९ सालमा प्रदर्शन भएको १३५ मध्ये १३२ चलचित्रको कूल व्यापार सार्वजनिक गरेपछि प्रदर्शनरत चलचित्र ‘छक्का पञ्जा ४’को सार्वजनिक भएको विवरणलाई लिएर निर्माण समूहले आपत्ति जनाएको छ ।
गत फागुन १९ देखि प्रदर्शनरत चलचित्र ‘छक्का पञ्जा ४’ले बोर्डको विवरणअनुसार ६ लाख ८ हजार ४०२ टिकट बिक्री भएबापत १६ करोड ९४ लाख ३४ हजार ६३४ रुपैयाँ कूल व्यापार गरेको छ ।
प्रदर्शनरत भएकाले यसको व्यापार अझै बढ्ने देखिन्छ । चलचित्रका लेखक तथा निर्मातासँगै कलाकार रहेका दीपकराज गिरीले सामाजिक सञ्जालमार्फत नै सार्वजनिक भएको विवरण ठीक नभएको प्रतिक्रिया दिए । चलचित्रका अर्का निर्माता निर्मल शर्माले पनि बोर्डको सार्वजनिक विवरण कम देखिएको जानकारी दिए ।
‘हामी छलफल गरेर यसबारे जानकारी दिने तयारीमा छौं । यद्यपि बोर्डले सार्वजनिक गरेको विवरणमा निकै फरक परेको छ । यसबारे आधिकारिक धारणा नै सार्वजनिक गर्छाैं,’ निर्माता शर्माले भने ।
बोर्डले सार्वजनिक गरेको तथ्यांकमा सामान्य फरक भने पर्नसक्ने बक्स अफिस अधिकृत प्रवीण पाण्डेले जानकारी दिए । ‘सबै चलचित्र भवनमा बक्स अफिस प्रणाली जडान भए पनि अनुगमनको अभावमा केही हेरफेर हुनसक्छ । केहीले नियतबश पनि गरिरहेका हुन्छन् तर बोर्डले यसमा अनुमगन बढाएको छ,’ अधिकृत पाण्डेले भने, ‘हामीसँग रहेको आधिकारिक तथ्यांक सार्वजनिक गरेका हौं ।’
यसैबीच बोर्डका अध्यक्ष भुवन केसीले व्यापारबारे फैलिने भ्रम हटाउन वैशाखदेखि मासिक रूपमा बक्स अफिस विवरण सार्वजनिक गर्ने जानकारी दिए । ‘सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाटै निर्देशन भएपछि वार्षिक विवरण बाहिर ल्याएका हौं । अब मासिक रूपमा ल्याउने छौं,’ अध्यक्ष केसीले भने ।
मासिक रूपमै विवरण सार्वजनिक हुँदा व्यापारलाई लिएर भ्रम सिर्जना नहुने उनको विश्वास छ ।