
फिफा विश्वकप २०२६ को अन्तर्गत टोरन्टो रंगशालामा जारी रोमाञ्चक खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोले क्रोएसियाविरुद्ध ऐतिहासिक गोल गरेका छन् । यो गोलसँगै रोनाल्डोको दुई दशक लामो फिफा विश्वकप यात्रामा एउटा ठूलो खडेरी समाप्त भएको छ।
विश्वकपमा डेब्यु गरेको २० वर्षभन्दा बढी समयपछि उनले पोर्चुगलका लागि नकआउट चरणमा आफ्नो पहिलो गोल गरेका हुन् ।
४१ वर्षको उमेरमा यो सफलता प्राप्त गरेसँगै रोनाल्डोले विश्वकपको नकआउट चरणमा गोल गर्ने सबैभन्दा पाको खेलाडीसमेत बनाएका छन्।
यसअघि खेलिएका ८ वटा नकआउट खेलमा उनले २९ पटक प्रहार गर्दा पनि गोल निस्कन सकेको थिएन । यो गोलसँगै रोनाल्डोको विश्वकपमा कुल गोल संख्या ११ पुगेको छ र उनी जर्गेन क्लिन्सम्यान र स्यान्डोर कोकिससँगै सर्वाधिक गोल गर्नेको सूचीमा नवौँ स्थानमा आइपुगेका छन् । उनले खेलेको २६ औं विश्वकप खेल लियोनेल मेसीपछिको दोस्रो धेरै हो।
फुटबल दुनियाँमा 'गोल मेसिन' का रूपमा परिचित क्रिस्टियानो रोनाल्डो राष्ट्रिय टोली र क्लब फुटबल दुवैमा विश्वकै सबैभन्दा बढी गोल गर्ने खेलाडी हुन्। उनले राष्ट्रिय टिमका लागि २३१ खेलमा १४५ गोल गरिसकेका छन्, जुन अहिलेसम्मकै सबैभन्दा बढी अन्तर्राष्ट्रिय गोलको कीर्तिमान हो।
यस्तै व्यावसायिकतर्फ १०९९ खेल खेल्दा उनको गोल संख्या ८३० रहेको छ। राष्ट्रिय र व्यावसायिक गरी रोनाल्डोले कुल ९७५ गोल गरिसकेका छन्, जुन एक हजार गोलको ऐतिहासिक कोसेढुङ्गा पूरा गर्नबाट मात्र २५ गोल कम हो।
सन् २००६ देखि लगातार विश्वकप खेल्दै आएका रोनाल्डोको जारी फिफा विश्वकप २०२६ छैटौँ सहभागिता हो र उनी लगातार ६ वटा विश्वकप खेल्ने र ती सबैमा गोल गर्ने दुर्लभ खेलाडी हुन्। उनले सन् २००६, २०१०, २०१४ र २०२२ को विश्वकपमा एक–एक गोल गरेका थिए भने २०१८ को रुस विश्वकपमा चार र जारी विश्वकपमा उज्वेकिस्तानविरुद्ध दुई गोल गरेका थिए ।
सन् २०१४ बाहेक हरेक पटक पोर्चुगल नकआउट चरणमा पुगे पनि रोनाल्डोले नियमित समयमा कहिल्यै नकआउट गोल गर्न सकेका थिएनन्। सन् २००६ को क्वाटरफाइनलमा इंग्ल्याण्डविरुद्ध पेनाल्टी सुटआउटमा निर्णायक पेनाल्टी हाने पनि नियमित वा अतिरिक्त समयको खेलमा भने उनको खाता चल्न सकेको थिएन ।
लामो समयदेखि उनको करियरमा लागेको यो अनौठो संयोगलाई ४१ वर्षको उमेरमा क्रोएसियाविरुद्ध पेनाल्टीमार्फत गोल गर्दै रोनाल्डोले सदाका लागि मेटाइदिएका छन्।