०५ असार २०८३, शुक्रबार

चन्दा संकलन गरेर विद्यालय पुनर्निर्माण

चन्दा संकलन गरेर विद्यालय पुनर्निर्माण
प्रतिकात्मक तस्वीर

म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगस्थित महादेव माध्यमिक विद्यालय भवन प्रवासी बेगखोलावासीको नेतृत्वमा पुनर्निर्माण भएको छ ।

पुरानो भौतिक संरचना र २०७२ सालको भूकम्पका कारण विद्यालय भवन जीर्ण बनेको थियो । 

विद्यालयको स्वर्ण जयन्तीका अवसर पारेर विक्रम संवत् २०७५ सालदेखि शुरू भएको विद्यालय भवन पुनर्निर्माण अभियानअन्तर्गत प्रवासमा रहेका बेगखोलावासीको नेतृत्वमा १ करोड ५० लाख रुपैयाँ सहयोग जुटाएर भवन नयाँ बनाइएको हो ।

देश तथा विदेशमा छरिएर रहेका बेगखोलावासी बेगखोला कल्याणकारी समाजमा गोलबद्ध बनेर विद्यालय भवन पुनर्निर्माण अभियान शुरू गरेका थिए । अभियानका क्रममा १ करोड ५० लाख सहयोग संकलन गरेर विद्यालयको सातकोठे भवन पुनर्निर्माण गरिएको भवन पुनर्निर्माण समितिका संयोजक योगकुमार फगामीले जानकारी दिए ।

‘यो अभियानमा बेगखोला बाहिरका सहयोगदाताले समेत आर्थिक सहयोग गर्नुभएको छ, कोभिड लगायतका विविध कारणले भवन कार्य निर्धारित समयमा सम्पन्न हुन सकेन, समग्रमा देश तथा विदेशमा रहेका बेगखोलावासीको एकता र सहकार्यले जीर्ण भवनबाट सुविधासम्पन्न भवन सम्भव भएको हो,’ उनले भने ।

विद्यालयमा इन्द्रबहादुर, पदमबहादुर  र यमकुमार पुर्जाका ३ दाजुभाइका परिवारले करीब १४ लाख लगानीमा कम्प्युटर कक्षाको लागि छुट्टै थप कोठा निर्माण गरिदिएका छन् । सहयोगदाताले मन खोलेर सहयोग गरेकै कारण पुरानो र जीर्ण भवनको ठाउँमा सुविधासम्पन्न भवन निर्माण हुन सम्भव भएको पुनर्निर्माण अभियानका सचिव नगेन्द्र पुर्जा (नक्कु)ले जानकारी दिए ।

अभियानमा आर्थिक सहयोग गर्ने दाताको विद्यालयमा शिलालेखमा अभिलेख राखिएको छ ।

विद्यालयमा बेगखोलावासीले चन्दा संकलन गरेर निर्माण गरेको सातकोठे कक्षाकोठा भवनबाहेक पुनर्निर्माण प्राधिकरणको शिक्षा इकाईमार्फत ३४ लाख रुपैयाँ लगानीमा ३ कोठे र ६० लाख लगानीमा ४ कोठे थप भवन निर्माण भएको विद्यालयका प्रधानाध्यापक दुतबहादुर गर्बुजाले जानकारी दिए ।

प्रवासी बेगखोलावासीको नेतृत्वमा आर्थिक संकलन गरेर र सरकारी तवरबाट समेत गरी कक्षाकोठा भवन निर्माण सम्पन्न भएपछि विद्यालयको नियमित पठनपाठन समेत सहज भएको प्रधानाध्यापक गर्बुजाले बताए । यस विद्यालयले ४ कक्षादेखि नै कम्प्युटर विषयको समेत पठनपाठन गराउँदै आएको छ ।

रोजगारी, पेशा, व्यवसाय र अध्ययनका लागि विदेश र स्वदेशका विभिन्न ठाउँमा पुगेका बेगखोलावासीले आफ्नो गाउँको शिक्षा, सडक, खेलकुद क्षेत्रको विकासका लागि सहयोग भित्र्याउँदै आएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्