
४ मंसिरको निर्वाचनमा चितवन १ मा कांग्रेसबाट पराजित भएका विश्व पौडेलले गोजीमा नागरिकता नहुनेको गफमा जनता भुलेको टिप्पणी गरेका छन् ।
१० वैशाखमा हुने उपनिर्वाचनलाई लक्षित गर्दै पौडेलले विषयविज्ञ र स्थानीय भूगोल बुझेको भन्दा स्टन्टबाजको पछि लाग्दा समस्या भएको बताएका हुन् । जनताका समस्यालाई ‘स्टन्ट’ बनाउनेलाई उपनिर्वाचनमा सबक सिकाउन उनले आग्रह गरेका हुन् ।
‘जनमतको कदर गर्नुपर्छ तर गएको निर्वाचनमा चितवनमा गठबन्धनले उठाएका उम्मेदवारहरु डा. सुर्यकान्त घिमिरे, डा. भोजराज अधिकारी, डा. विश्व पौडेल (म आँफै)ले हा–र्यौं। उमेश श्रेष्ठ, जसले धेरैलाई रोजगारी दिनुभएको छ, ले हार्नुभयो। हामीले हार्दा कस्ता ‘क्षमतावान’ ले जिते, जगजाहेर छ। जसको गोजिमा नागरिकता छैन, उनैको देश बनाउने गफमा हाम्रा जनता भुले’ पौडेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सम्झनु हुन्छ, आफ्नो जनसंपर्क अफिसमा सिइओ राख्ने नौटंकी पानी ओसार्ने नौटंकी ? कोही स्थानीयले सिइओको जागिर पाए ? एयरपोर्ट गएर कसैलाई ल्याइयो ?’
स्टन्टबाजभन्दा गाउँबस्तीमा खोज्दा सहजै भेटिने उम्मेदवारलाई विजयी बनाउन पनि उनले अपिल गरेका छन् ।
‘मेरा मित्र जितनारायण श्रेष्ठजी सानैदेखि चितवनमा बस्नुभयो, मर्दापर्दा सबैको साथी बन्नु भयो, स्थानीयको सुख दुस्खमा साथ दिनुभयो। सबैलाई खुशी बनाउन खोज्नुभयो। गाउँमा हुर्केको साधारण मान्छेको छोरो सानैमा कांग्रेस जस्तो पार्टीको जिल्ला सभापति बन्नुभयो। भोलि चाहिँदा उहाँँ सजिलै उपलब्ध हुनुहुन्छ, गाली खान ताली खान सबैको लागि उहाँँ सजिलै उपलब्ध हुनुहुन्छ’ पौडेलले लेखेका छन्, ‘जीतनारायण स्टन्टवाज हैनन, यी अगाडि पछाडि क्यामेरा लगाएर स्टन्ट गर्दैनन्, अध्यारो कुनामा साइबर सेना राखेर आक्रमण गर्दैनन्। चितवनमा यसपाली जनताको समस्यालाई ‘स्टन्ट’ को विषय बनाउनेहरूलाई हराऔं र सबक सिकाऔं।’
पौडेल ४ मंसिरमा चितवन १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालसँग तेस्रो हुँदै ९ हजार बढी मतले पराजित भएका थिए । राष्ट्रिय योजना आयोगको उपाध्यक्षबाट राजीनामा दिएर उम्मेदवार बने पनि उनी पराजित हुन पुगेका थिए ।