डीआर पाण्डे
[कविता]
मैले आमाको अनुहार हेरे
निधार र गाला खुम्चिएको देखे
हातका रेखा सकिएर निधारमै सरेको देखे
मुहारमै धोतीका मुजा परेको देखे।
मैले आमाका आँखामा हेरे
प्रेम र स्नेहको सागर देखे
दाँतहरु झरेर थोते भएपछि
भर्खर जन्मेकी बालकजस्तै देखे
हात-पाखुरा समाएर हेरे
बिजुलीको पोलका तारजस्तै नसाहरू देखे
ती तारजस्तै नसा छुँदा
मेरो शरीरमा एउटा छुट्टै उर्जा संचार भएको पाए।
खुट्टाका पैताला छामी हेरे
लामो खडेरी परेर धाँजा परेको पृथ्वी जस्तै देखे
लाग्यो,हिँड्दा पैतालाले काँडा भाँचिदिन्छ्न
जाडो याममा ओड्ने सिरकको खोलै च्यातिदिन्छन्।
मैले आमाको मुहारमा हेरे
संसार मै सुन्दरी मेरी आमा देखे।