१४ असार २०८३, आइतबार
अब्बल सामुदायिक स्कूल

बुटवलका सामुदायिक स्कूलमा भर्ना पाउन मारामार, मन्त्रीको ‘फोर्स’ समेत चल्दैन

शिक्षकका छोराछोरी त्यहीँ पढाउन अनिवार्य गरेर शुरू भएको थियो 'शैक्षिक क्रान्ति'
बैशाख ८, २०८०
बुटवलका सामुदायिक स्कूलमा भर्ना पाउन मारामार, मन्त्रीको ‘फोर्स’ समेत चल्दैन

बुटवलको कालिका मानवज्ञान माध्यमिक विद्यालयमा ७ हजार ४०० विद्यार्थी अध्ययनरत छन् ।

देशकै धेरै विद्यार्थी पढ्ने सामुदायिक स्कूल कालिकामा नयाँ शैक्षिक शत्रका लागि भर्ना हुन प्रवेश परीक्षाको फर्म लिन आएका अभिभावकको भीडले चर्चित संस्थागत विद्यालयको झल्को मेटाइदिन्छ । नेपाली/अंग्रेजी दुवै माध्यममा पढाइ हुने यस विद्यालयमा नर्सरीदेखि १० कक्षासम्म हरेक कक्षामा ५ भन्दा बढी ‘सेक्सन’ छन् । 

आइतवारदेखि नयाँ शैक्षिक शत्रका लागि ६०० विद्यार्थी भर्ना लिने गरी वितरण गरिएको प्रवेश परीक्षाको फर्म बिहीवारसम्म ३ हजारभन्दा बढीले भरिसकेका छन् । ९ गते प्रवेश परीक्षा राखिएको छ । 

आफ्ना बालबच्चा कालिकामा भर्ना गराउन लागि अभिभावकको चाप थेगिनसक्नु छ । भर्नाका लागि आउने ९५ प्रतिशत संस्थागत (बोर्डिङ) स्कूलका बालबालिका हुन् । 

‘यो वर्ष एसईई परीक्षामा ६७८ विद्यार्थी सहभागी भए,’ विद्यालयका प्रधानाध्यापक दिनेश थापा भन्छन्, ‘अहिले ६०० मात्र विद्यार्थी थप्ने हो । बढी विद्यार्थी लिएर रिजल्ट राम्रो दिन सकिँदैन । फर्म त ३ हजारभन्दा बढी विद्यार्थीले भर्छन् होला । गत वर्ष पनि ३ हजार ४०० जनाले फर्म भरेका थिए । आएका सबै विद्यार्थी राख्न नसक्ने भएपछि प्रवेश परीक्षा लिने गरिएको हो । भर्नाका लागि यहाँ कसैको भनसुन लाग्दैन ।

३३७ शिक्षक/कर्मचारी कार्यरत स्कूलमा विद्यार्थीका लागि विशाल छात्रावाससहित सुविधासम्पन्न पूर्वाधार छन् । आफ्नै १० वटा गाडीबाट टाढा–टाढाका विद्यार्थी ल्याउने गरिएको छ ।

null

स्कूलमा देशका ७० जिल्लाका विद्यार्थीहरू पढ्छन् । विद्यालयमा शिक्षा, विज्ञान, कानून, प्राविधिक र व्यवस्थापन विषयहरूमा अध्यापन हुँदै आएको छ । विद्यालयका प्रअ थापाका अनुसार वि.सं. २०७१ सालदेखि लगातार चारपटकसम्म विद्यालय अन्तर्राष्ट्रिय स्कूल अवार्डबाट सम्मानित भएको छ । देशभरका सामुदायिक विद्यालयमध्ये सर्वोत्कृष्ट भई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट सम्मानित भएको हो ।

वि.सं २०७५ मा बुटवल–१० कै मानव ज्ञान माविसंँग गाभिएर कालिका मानव ज्ञान बनेको हो । ‘हामी विद्यार्थीलाई पढाउने भन्दा आफैं सिक्न प्रेरित गर्छौं र प्रोजेक्ट वर्कमा विशेष जोड दिन्छौं, यो नै हाम्रो सफलताको आधार हो,’ प्रअ थापा भन्छन् ।

विद्यालयमा अवलोकन र शिक्षण सिकाइका लागि हरेक दिन देशका विभिन्न स्कूलबाट शिक्षक तथा विद्यार्थी आउने गर्छन् ।

null

*** 

रूपन्देहीको तिलोत्तमा–५ मणिग्रामस्थित शान्ति नमूना माध्यमिक विद्यालयले यो वर्ष नयाँ शैक्षिक सत्रका लागि ५५० जना विद्यार्थी मात्र भर्ना लिन सक्ने क्षमता छ ।

चैत २६ गतेदेखि भर्नाका लागि वितरण गरिएको फर्म भरेर २ हजार जनाले प्रवेश परीक्षा दिए, जसमा ६०८ जना उत्तीर्ण भएका छन् । 

विद्यालयमा अहिले ५ हजार ४०० विद्यार्थी अध्ययनरत छन् भने ४६६ जना एसईईमा सहभागी भएका छन् । विद्यालयले नयाँका लागि वैशाख ७ गते प्रवेश परीक्षा (इन्ट्रान्स) राखेको छ । 

इन्ट्रान्सपछि विद्यालयका प्रधानाध्यापक कूलप्रसाद लामिछानेको मोबाइल अफ हुन्छ । ‘मेरो बच्चा भर्ना गरिदिनुपर्‍यो भन्दै सांसद, मन्त्री र नेताहरूको फोनले हैरान बनाउँछ,’ प्रअ लामिछाने भन्छन्, ‘हाम्रोमा सोर्सफोर्स चल्दैन । नाम निकाल्ने विद्यार्थी पढ्न पाउँछ । भर्ना गर्नुपर्‍यो भन्ने नेताहरूको दबाब सुन्दिनँ, बरु मोबाइल नै अफ गरेर बस्छु ।’

null

विद्यार्थी बोक्नका लागि विद्यालयका ८ वटा बस छन् । १९८ जना शिक्षक कर्मचारी छन् । यो वर्ष विद्यालयले १० जना शिक्षकलाई निजी स्रोतबाट राख्दैछ । विद्यालयका शिक्षकहरूले वि.स. २०६७ मा आफ्ना सबै छोराछोरीलाई स्कूलमा भर्ना गरेर विद्यालय सुधारको अभ्यास थालिएको थियो । अभिभावकको रूचि र चाहनालाई ख्याल गरेर अगाडि बढेपछि विद्यालयले शैक्षिक स्तरमा निकै सुधार गरेको हो । 

‘विगत ७ वर्षदेखि हाम्रा विद्यार्थी शत् प्रतिशत उत्तीर्ण छन्,’ लामिछाने भन्छन्, ‘अहिले त फेल भन्ने छैन । तर, हाम्रा सबै विद्यार्थीहरूले कलेज पढ्न पाउँछन् ।’

अंग्रेजी नेपाली माध्यममा पढाइ हुने स्कूल अटिमज, श्रवण/दृष्टिविहीन, बौद्धिक अपांगता भएका विद्यार्थीहरूको पनि सिकाइ केन्द्र हो ।  

स्कूलमा कक्षा ११/१२ मा विज्ञान, व्यवस्थापन, कानून, होटल म्यानेजमेन्टको पढाइ हुन्छ, जसले गर्दा विद्यार्थीले अन्य कलेज रोज्नुपर्ने अवस्था पनि छैन । भौतिक पूर्वाधार र विद्यालयका भवन चिटिक्क छन् । जसले गर्दा अभिभावकहरू पनि आकर्षित हुन्छन् र विद्यालयप्रति चासो दिन्छन् ।  ।

यस विद्यालयका पढेका विद्यार्थीले उच्च शिक्षामा पूर्ण छात्रवृत्तिमा हरेक वर्ष १० जनाभन्दा बढीले नाम निकाल्छन् ।

null

***

बुटवल हाटबजारस्थित कान्ति मावि नेपालकै धेरै विद्यार्थी पढ्ने सामुदायिक विद्यालयमा दोस्रो नम्बरमा पर्छ । विद्यालयमा अहिले ५ हजार ३६६ जना विद्यार्थी अध्ययनरत छन् ।

यो वर्ष ५०० विद्यार्थी नयाँ भर्ना गरेर ५ हजार ५५५ जना विद्यार्थी संख्या पुर्‍याउने मात्र विद्यालयको क्षमता छ । 

‘यो वर्ष हाम्रोबाट एसईई परीक्षा दिएर ३७० जना विद्यार्थी गए,’ प्रअ गोविन्द ज्ञवाली भन्छन्, ‘हाम्रोमा ५ हजार ५५५ जना पुर्‍याउने हो । त्योभन्दा बढी राख्न कक्षाकोठा पुग्ने अवस्था छैन ।’

बुधवार भएको प्रवेश परीक्षामा १ हजार ८०० जना सहभागी भएर ५०० जनाले नाम निकालेका छन् । विद्यालयमा ५० किलोमिटर टाढाबाट विद्यार्थी पढ्न आउँछन् । विद्यालयले टाढाबाट आउने विद्यार्थीका लागि १५ वटा गाडी प्रयोग गर्दै आएको छ ।

विद्यालय सुधारको ढोका २०६७ को तत्कालीन एसएलसी परीक्षामा २७ जना विद्यार्थीले विशिष्ट श्रेणी ल्याएपछि खुलेको हो ।  

‘त्यो बेलाको रिजल्टपछि हामीले आफ्ना बच्चा विद्यालयमा पढाउन थाल्यौं,’ ज्ञवाली भन्छन्, ‘शिक्षकको मेहनत नै सफलताको स्रोत हो । त्यसपछि अभिभावकले हामीलाई विश्वास गर्नुभयो । हामीले भर्नामा स्थानीय र विद्यालयबाहिर रहेका बालबालिकालाई प्राथमिकता दिन्छौं ।’

null

***

बुटवलको नवीन औद्योगिक कदरबहादुर रिता माविले पनि यो वर्ष धेरै विद्यार्थी भर्ना लिन सक्ने क्षमता छैन ।

विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतले थप ४०० विद्यार्थी भर्ना लिन सक्ने मात्र क्षमता रहेको बताए ।

‘२५ गतेबाट फर्म वितरण गरिएको छ । ८ गते इन्ट्रान्स हो,’ बस्नेत भन्छन्, ‘विद्यालयमा फर्म भर्नेको भीड थामिनसक्नु छ । विद्यालयले धेरै विद्यार्थी लिने क्षमता छैन ।’

विद्यालयमा अहिले ४ हजार १०० विद्यार्थी अध्ययनरत छन् । नविन पनि यस क्षेत्रको अब्बल सामुदायिक स्कूल हो । 

विद्यालयका ५ वटा बस छन्, जसले टाढा टाढाबाट विद्यार्थी ल्याउँछन् । बुटवलको सुकुम्बासी बस्ती क्षेत्रका बालबालिका यो विद्यालयमा पढ्ने गरेका छन् । ‘विद्यालयबाट हरेक वर्षको एसईई परीक्षामा ४० प्रतिशतले ‘ए’ ग्रेड ल्याउँछन् । सबै रिजल्ट क्याम्पस पढ्न लायक आउने गर्छ,’ प्रअ बस्नेतले भने ।

null

‘पाँच/सात वर्ष अघिसम्म घरपरिवारको आर्थिक  अवस्था कमजोर भएका अभिभावकले सकिनसकी आफ्ना बालबच्चालाई बोर्डिङ पढाउँथे,’ बस्नेत भन्छन्, ‘अहिले सामुदायिक स्कूलले गरेको गुणात्मक सुधारले पुरानो परिदृष्य बदलिएको छ । सामुदायिक विद्यालयले शिक्षामा गरेको सुधारका कारण विद्यार्थी र अभिभावक दुवैको आकर्षण बढेको छ ।’ 

रूपन्देहीका यी चारवटा मात्र होइन, विद्यार्थी संख्या, उत्तीर्ण विद्यार्थी र उनीहरूले प्राप्त गरेको श्रेणीका आधारमा लुम्बिनी प्रदेशका दर्जनौं सामुदायिक स्कूलहरू अब्बल देखिएका छन् ।

बुटवलको नहरपुर मावि, दाङको पद्यमोदय मावि, बुटवलकै उजिरसिंह माविले पनि आफूलाई अब्बल प्रमाणित गरेका छन् । सामुदायिक विद्यालयहरू अहिले निजीसँगको प्रतिस्पर्धामा अब्बल ठहरिन थालेका छन् ।  

salt training

कमेन्ट गर्नुहोस्