![बजारमा योनेक्सका नक्कली सामान छ्यापछ्याप्ती, कसरी चिन्ने सक्कली ? [भिडियोसहित]](https://lktcdn2.prixacdn.net/media/Yonex1_qyEj9u0wWx.png)
ब्याडमिन्टन, टेनिस लगायतका खेल सामग्री उत्पादक चर्चित जापानी 'ब्रान्ड' योनेक्सका सामानजस्तै देखिने गरी कपी गरिएका नक्कली सामान नेपाली बजारमा छ्याप्छ्याप्ती पाइन थालेको छ ।
बजारमा खासगरी र्याकेट, टी- शर्ट, हाफ पाइन्ट, मोजा नक्कली भेटिन थालेको योनेक्सको नेपालका लागि आधिकारिक बिक्रेता इनास इन्टरप्राइजेजका अध्यक्ष राजु बास्तोलाले बताए ।
वनस्थलीका डा. पुरुषोत्तम घिमिरेले महाबौद्धको एक पसलबाट योनेक्सको लोगो राखिएको र्याकेट किनेका रहेछन्, तर त्यसको 'पफर्मेन्स' सक्कली र्याकेटको जस्तो पाएनन् ।
'मैले योनेक्सको भनेर र्याकेट किनेर ल्याएँ, तर ब्याटिङ गर्दा त्यसको पावर नपुगेको महसूस भयो । पछि फेसबूकमार्फत आधिकारिक बिक्रेता पत्ता लगाएर अफिसमा गई जाँच गर्दा नक्कली सामानमा ठगिएको थाहा भयो,' उनले दु:खी हुँदै भने ।
अर्का ग्राहक सनम खनालको दु:खेसो पनि उस्तै छ ।
आफूले प्रयोग गर्दै आएको योनेक्स र्याकेटको स्ट्रिङ्ग चुडिएर फेर्दा त्यो पनि नक्कली परेको खनालको गुनासो छ ।
'स्ट्रिङ्ग चुँडिएर महाबौद्धमा फेर्न दिएको थिएँ, तर फेरेको केही दिनमा फेरि चुँडियो,' खनालले भने, 'पछि धर्मपथमा रहेको इनास इन्टरप्राइजेजमा आएर देखाउँदा नक्कली स्ट्रिङ्ग फेरिदिएको थाहा पाएँ,' उनले भने।
सक्कली सामान ठानेर किन्दा ग्राहकहरू ठगिनुपरिरहेको नेपालका लागि योनेक्सको आधिकारिक बिक्रेता इनास इन्टरप्राइजेजका अध्यक्ष राजु बास्तोला बताउँछन् ।
'विचरा ग्राहकहरूलाई पनि के थाहा, सक्कली सामान ठानेर किन्दा उहाँहरू ठगिइरहनुभएको छ,' बास्तोलाले भने ।
महाबौद्ध, न्युरोड, कालिमाटीलगायत स्थानमा योनेक्सका नक्कली समान जताततै पाइन थालेको उनले बताए । देख्दा उस्तै भए पनि क्वालिटीमा भने आकाश जमिनको फरक पर्ने गरेको छ ।
'नक्कली सामानको बिगबिगीले गर्दा हाम्रा सक्कली सामानको बिक्रीमै ह्याम्पर परिरहेको छ,' बास्तोलाले भने, 'खुल्लमखुला यसरी डुप्लिकेट समान ल्याउनै नपाइने हो । ल्याइहालेमा पनि सरकारले जफत गर्नुपर्ने हो, तर किन जफत गरिरहेको छैन ?'
योनेक्सका कतिपय उत्पादनहरू चोरीपैठारी भएर नेपालगञ्ज भन्सार हुँदै भित्रिएको जानकारी समेत आफूले पाएको उनले बताए ।
'नेपालगञ्ज भन्सारबाट योनेक्सका सक्कली समान नै पनि विना भन्सार भित्रिन थालेको सूचना पाएको छु । सरकारले तुरुन्तै यसलाई नियन्त्रण गर्नुपर्यो,' बास्तोलाले थपे ।
सक्कली सामान कसरी चिन्ने त ? त्यसको सहज तरिका प्रस्ट पार्दै बास्तोलाले भने, 'योनेक्सको कुनै पनि सामान किन्दा अथेन्टिकेटर माग्नुस् र त्यसले सामानमा भएको होलोग्राम चेक गर्नुस्, त्यसो गर्दा भिजिबल पार्टमा बिरालोको आँखाजस्तो टल्किन्छ, तर नक्कलीमा त्यो टल्किँदैन । त्यहाँ त्यस्तो केही पनि देखिँदैन ।'
माथि उल्लेखित प्रक्रिया अपनाउने हो भने सक्कली र नक्कली सामग्री सहजै चिन्न सकिने उनको दाबी छ ।
विशेषगरी खेलसँग सम्बन्धित सामग्री उत्पादन गर्ने योनेक्सका र्याकेट, कक, जुत्ता, मोजा, टी-शर्ट, ब्याग आदि नेपाली बजारमा उपलब्ध छन् ।
इनास इन्टरप्राइजेजले मल्टनका फूटबल, भलिबल, बास्केटबललगायतका खेल सामग्री पनि नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ ।
हेर्नुहोस्, भिडियो :