
अधिकांश सामुदायिक विद्यालयमा राजनीति व्याप्त भएको र विद्यार्थीको संख्या घटिरहेका बेला मोरङको बेलबारी नगरपालिकास्थित विद्यालयहरूका व्यवस्थापन समितिमा समेत दलीय भागबण्डा गरिएको छ ।
तीन ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले व्यवस्थापन समितिमा भागबण्डा गरेका हुन् ।
बेलबारीमा ३१ वटा सामुदायिक विद्यालय रहेका छन् । जसमध्ये १२ /१२ वटा एमाले र नेपाली कांग्रेसको भागमा परेको छ भने ७ वटा माओवादीले पाएको छ । १९ वटा आधारभूत विद्यालय र १२ वटा माध्यमिक विद्यालयमा भागबन्डा गरिएको हो ।
भागबन्डा अनुसार केही विद्यालयमा अभिभावकको विरोधका कारण व्यवस्थापन समिति गठन हुन सकेका छैन । विद्यालय व्यवस्थापन समितिको अध्यक्षका लागि राजनीतिक दलको सिफारिशमा नगरपालिकाले पठाएका प्रतिनिधिलाई अध्यक्ष बनाउन अभिभावकबाट छानिएका प्रतिनिधिले नमानेपछि नयाँ कार्यसमिति चयन अन्योलमा परेको हो ।
छोराछोरीलाई निजीमा पढाउने र व्यवस्थापन समितिको अध्यक्ष बन्न मात्र सामुदायिक विद्यालयमा आउने भन्दै अभिभावकबाट छानिएका प्रतिनिधिले विरोध गरेपछि केही विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन हुन सकेको छैन ।
कांग्रेसको भागमा परेको कसेनी माध्यमिक विद्यालयमा दलले पठाएको व्याक्तिलाई अभिभावकले नमानेपछि व्यवस्थापन समिति गठन हुन सकेको छैन । उक्त विद्यालय बेलबारी– ४ मा पर्छ । यो कांग्रेस नेता तथा प्रतिनिधिसभा सदस्य सुनिल शर्माको वडा पनि हो । वडाअध्यक्ष समेत कांग्रेसका चन्द्रबहादुर लिम्बू छन् ।
कांग्रेसको भागमा परेको यस विद्यालयमा व्यवस्थापन समितिको अध्यक्ष बन्नका लागि वडा कार्यालयले गजेन्द्र लिम्बूलाई सिफारिश गरेको थियो । तर, बहुमत सदस्यले स्वतन्त्र व्यक्तिलाई रोजेपछि विद्यालय व्यवस्थापन समिति गठन हुन सकेको छैन । बहुमत सदस्यले जितेन्द्र फुयाँलाई रोजेका थिए । फुयाँल हाल कुनै पनि दलमा खुलेका छैनन् ।
विद्यालय व्यवस्थापन समिति चयन गर्नका लागि कांग्रेसले सबै सेटिङ गरे पनि कांग्रेसकै कार्यकर्ताले स्वतन्त्रलाई रोजेपछि व्यवस्थापन समिति गठन हुन नसकेको हो । कांग्रेस नेताहरूले दलबाट आएका प्रतिनिधिलाई सहमति भएको छैन भन्दै बैठक रोकेर हिँड्न भनेपछि बैठक रोकिएको जितेन्द्र फुयाँलले बताए ।
फुयाँल अभिभावकबाट छानिएका प्रतिनिधि हुन् । विद्यालय दलीय भागबन्डाको अखडा भएको भन्दै उनले प्रतिनिधिबाट समेत राजीनामा दिएका छन् ।
बेलबारी नगरपालिकास्थित शिक्षा ऐनले समितिमा अभिभावकबाट ४ जना छान्ने व्यवस्था गरेको छ, जसमा २ जना महिला अनिवार्य छान्नुपर्ने हुन्छ ।
एकजना वडाले छान्ने र २ जना नगरपालिकाले छान्ने गरेर विधेयक बनाइएको छ । एक जना शिक्षकहरूबाट प्रतिनिधि छान्ने व्यवस्था गरिएको छ । विद्यालय व्यवस्थापन समितिको सदस्य सचिव भने प्रअ हुने व्यवस्था गरिएको छ । प्रअलाई मताधिकार दिइएको छैन भने अन्य ८ जनाले चुनाव भएमा मतदान गर्न सक्ने व्यवस्था ऐनमा छ ।
नमूना जनता मावि बेलबारी ९, धिरानाथ सम्फुल मावि बेलबारी–१०, कसेनी उमावि बेलबारी –४, वीरेन्द्र मावि बेलबारी –६, महेन्द्र आधारभूत बेलबारी –६, महेन्द्र आधारभूत बेलबारी –६, एकता आधारभूत बेलबारी– १०, जनएकता आधारभूत बेलबारी –१ , सिंहदेवी आधारभूत बेलबारी –२ लगायतका विद्यालय कांग्रेसको भागबन्डामा परेका छन् ।
कविर माध्यमिक विद्यालय बेलबारी –२, लक्ष्मी माध्यमिक विद्यालय बेलबारी –११, जनता माध्यमिक विद्यालय बेलबारी –१, महेन्द्र माध्यमिक विद्यालय बेलबारी –१०, भगवती माध्यमिक विद्यालय बेलबारी –३ लगायतका १२ विद्यालय एमालेको भागमा परेका छन् । महेन्द्र माध्यमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा एमाले नगर कमिटीका सचिव शंकर गुरुङ नै छानिएका छन् ।
यस्तै माओवादी केन्द्रको भागमा ७ वटा विद्यालय परेका छन् । धनपाल माध्यमिक विद्यालय बेलबारी– ५, काली माध्यमिक विद्यालय बेलबारी– ९ लगायतका विद्यालय माओवादीको भागमा परेका छन् । तीन दल बसेर भागबन्डा गरेर नगरपालिकामा जानकारी गराइएको माओवादी केन्द्र बेलबारीका अध्यक्ष परशुराम सुवेदीले बताए । नगरपालिका तथा वडाले पठाउने प्रतिनिधिको नाम पनि दलले नै सिफारिश गरेका थिए ।
विद्यालय सुधार गर्नका लागि दक्ष मान्छेको खोजी गरेर पठाइएको कांग्रेस नगर सभापति छत्र लिम्बू बताउँछन् ।
सामुदायिक विद्यालयप्रति गुनासो बढिरहेका बेला भागबन्डा गरेर विद्यालयभित्र राजनीति गर्न नहुने भन्दै सामाजिक संघ–संस्था तथा अन्य दलले विरोध जनाइरहेका छन् ।
सामुदायिक विद्यालयमा दलीय भागबन्डाभन्दा पनि भिजन भएको व्यक्तिलाई व्यवस्थापन सम्मतिमा छान्नुपर्ने नगर प्याब्सनका पूर्व अध्यक्ष समेत रहेका एकीकृत समाजवादी बेलबारी कमिटी अध्यक्ष भूपाल बस्नेत बताउँछन् ।
अहिले छानिएका व्यवस्थापन समितिले निजी विद्यालयलाई नै फाइदा पुग्ने देखिएको उनले बताए । शिक्षा क्षेत्रकै अगुवाहरू पनि निजी विद्यालयमा विद्यार्थी तान्नका लागि प्रतिनिधि पठाएको जस्तो भएको बताउँछन् ।
यता नगरपालिकाले भने राजनीतिक दललाई नेतृत्व गर्न दिएको बताएको छ । विद्यालयमा चुनाव हुँदा खर्च हुने भएकाले मिलाएर जाऔं भनेर राजनीतिक दललाई समर्थन गरेको उपमेयर नितु थापा कोइरालाले बताइन् । अभिभावकलाई नै नगरपालिकाले छानेर पठाएको उपमेयर नितुको दाबी रहेको छ ।
बेलबारीमा नेताहरूको समेत आफ्नै निजी स्कूल छन् । नेकपा एमाले नगर कमिटीका अध्यक्ष इरान राईको आफ्नै निजी विद्यालय रहेको छ । मेयर दिलप्रसाद राई बेलबारीकै गोदावारी विद्यामन्दिर इंलिस स्कूलका पूर्व प्रिन्सिपल हुन् । उनी त्यो स्कूलका फाउन्डर समेत हुन् । मेयर हुनुभन्दा केही समयअगाडि मात्रै उनले उक्त विद्यालयको प्रअबाट राजीनामा दिएका थिए ।