०७ असार २०८३, आइतबार

सामुदायिक विद्यालयमा विद्यार्थी चाप बढ्दो

बैशाख २१, २०८०
सामुदायिक विद्यालयमा विद्यार्थी चाप बढ्दो

सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण घटिरहेको बेला रोल्पाको एक विद्यालयमा भने धान्ने नसक्ने गरी विद्यार्थीको चाप बढेको छ । 

रोल्पा सदरमुकाम लिवाङस्थित बालकल्याण माविमा चालू शैक्षिक सत्रमा करीब ३ हजार विद्यार्थी भर्ना भएका छन् । 

विद्यालयमा धान्ने मुस्किल हुने गरी विद्यार्थीको चाप बढेको छ । यहाँ नर्सरीदेखि १२ कक्षासम्म पठनपाठन हुने गर्दछ । विद्यालयले नर्सरीदेखि ५ कक्षासम्म अंग्रेजी भाषामा तथा ६ देखि १० कक्षासम्म अंग्रेजी र नेपालीमा पठनपाठन गराउँदै आएको छ । 

११–१२ कक्षामा मानविकी, शिक्षाशास्त्र, व्यवस्थापन र विज्ञान विषयमा पठनपाठन हुँदै विद्यालयले सीटीईभीटीबाट सम्बन्धन प्राप्त गरी सिभिल इन्जिनीयरिङ विषयमा ३ वर्षे डिप्लोमा र एनेक्स कार्यक्रमअन्तर्गत १८ महिने सबओभसियर विषयमा समेत पठनपाठन गराउन थालेको छ ।

चालू शैक्षिक सत्रमा शिसु कक्षादेखि १० कक्षासम्म १ हजार ८१७ विद्यार्थी भर्ना भएका विद्यालयका प्राचार्य मधुसुदन पोख्रेलले बताए । जिल्लाकै पुरानो माध्यमिक विद्यालयको रूपमा रहेको विद्यालय २०२३ सालमा स्थापना भएको हो । 

विद्यालयले २०५२ सालदेखि उच्च मावि तहमा पठन पाठन शुरू गरेको हो । हाल विद्यालयको ११ र १२ कक्षामा ८२२ विद्यार्थी अध्ययन गरिरहेका छन् ।

सिभिल इन्जिनीयरिङ डिप्लोमा र प्रि डिप्लोमा तहमा थप १४० सहित विद्यालयमा २ हजार ७५६ विद्यार्थी अध्ययनरत छन् ।

कमेन्ट गर्नुहोस्