२६ जेठ २०८३, मंगलबार
लोकान्तर सम्पादकीय

आठौं वर्ष प्रवेशमा हाम्रो प्रतिबद्धता– आर्थिक मन्दीसँग जुध्दै खोजी पत्रकारितामा थप निखार

बैशाख २४, २०८०
आठौं वर्ष प्रवेशमा हाम्रो प्रतिबद्धता– आर्थिक मन्दीसँग जुध्दै खोजी पत्रकारितामा थप निखार

लोकान्तर सञ्चार प्रालिद्वारा सञ्चालित लोकान्तर डट्कम (Lokantar.com) स्थापनाको सात वर्ष पूरा गरेर आजदेखि आठौं वर्षमा प्रवेश गरेको छ ।

यस अवसरमा सबैभन्दा पहिला हामी हाम्रा समस्त पाठक, विज्ञापनदाता र शुभेच्छुकहरूप्रति विशेष आभार प्रकट गर्न चाहन्छौं ।

तपाईंहरूको शुभेच्छा, हौसला र प्रेरणाले लोकान्तर डट्कम यात्रामा अविराम खटिरहन सकेको छ भन्ने हाम्रो बुझाइ छ ।

प्रथम राष्ट्रिय पत्रकारिता दिवसको अवसर पारेर २०७३ वैशाख २४ गते हामीले खोजी पत्रकारिताको एउटा नयाँ अध्याय शुरू गरेका थियौं ।

जुन सोच राखेर लोकान्तरको यात्रा शुरू भएको थियो त्यसमा थोरै भए पनि लक्ष्य प्राप्त गर्न सकेको हाम्रो मूल्यांकन छ ।

मूलधारका मिडियामा खोजी पत्रकारिताको धार भुत्ते हुँदै गइरहेको समयमा हामीले त्यसैलाई मूलमन्त्र मानेर कठिन यात्रा शुरू गर्‍यौं, जतिबेला चलनचल्तीको भाषामा अनलाइन भनिने डिजिटल पत्रिकालाई राज्यले ‘रिकग्नाइज’ नै गरेको थिएन । तर, अहिले अनलाइन पत्रिकाहरूमा आइरहेका खोजमूलक समाचारले मूलधार मिडियाको परिभाषा पूरै बदलिएको छ । हामी अघिअघि र परम्परागत मिडिया पछिपछिको अवस्था छ ।

सात वर्षको समयमा हामीले सुशासनलाई केन्द्रमा राखेर खोजमूलक समाचारलाई प्रधान विषय बनायौं । हामीले उठान गरेका कैयौं विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सकेर भ्रष्टाचार मुद्दा दायर गरेको छ । न्यायपरिषद्ले छानबिन गरेर न्यायाधीशसमेतलाई कारवाही गरेका धेरै उदाहरण छन् । सरकारले नीतिगत निर्णय सच्याएको छ । सांसदहरूलाई नियममा बस्न बाध्य बनाएको छ ।

राजनीतिको भित्री कुरा र समाजको बदलिँदो चित्रलाई हामीले पाठकसम्म पुर्‍याइरहेका छौं । जे होस्, ‘सिंहदरबार’ले हामीलाई पढ्न र सुन्न थालेको छ । यी विषयलाई हामीले हाम्रो सफलता ठानेका छौं । 

आगामी दिनमा हाम्रो मुख्य ध्यान खोजमूलक पत्रकारिताका माध्यमबाट पारदर्शी शासन स्थापनाका लागि सघाउनेतर्फ हुनेछ । ‘खोजी पत्रकारिता’ गर्छु भन्न सजिलो छ, व्यवहारमा उतार्न कठिन छ । पटक-पटक सरकारी कार्यालय धाएर सूचना ल्याउने र त्यसलाई पाठकसम्म पस्किने काम सहज छैन । तर, हामी त्यही अप्ठ्यारो काममा नतिजा निकाल्ने प्रयत्न गर्नेछौं । 

कोरोना महामारी, युक्रेन युद्धलगायतका कारणले देखापरेको आर्थिक मन्दीका कारण बजार नराम्ररी प्रभावित छ । त्यसको प्रत्यक्ष मार मिडिया उद्योगले सामना गरिराख्नुपरेको छ । यस चुनौतीलाई चिर्दै हामी नयाँ ऊर्जासाथ खोजमूलक पत्रकारिताको धारलाई अझ तेजिलो बनाउने प्रण गर्दछौं । 

खोजमूलक, विश्वसनीय र सन्तुलित सामग्री पस्कनुका अलावा हाम्रो मिडियालाई पाठकसामु अझ बढी परिचित गराउँदै अघि बढ्ने हाम्रो अभियान पनि निरन्तर चल्नेछ ।

सधैँझैं हाम्रा गल्ती-कमजोरी औंल्याएर सन्मार्गमा अघि बढ्न तपाईं समस्त पाठकको रचनात्मक सुझाव र प्रतिक्रियाको अपेक्षा हामी गर्दछौं ।

salt training

कमेन्ट गर्नुहोस्