१४ असार २०८३, आइतबार
नक्कली शरणार्थी प्रकरण

​कांग्रेस रुपन्देहीमा सन्नाटा : बालकृष्ण खाँणको अनुपस्थितिमा कसले धान्ला विरासत ?

बैशाख २९, २०८०
​कांग्रेस रुपन्देहीमा सन्नाटा : बालकृष्ण खाँणको अनुपस्थितिमा कसले धान्ला विरासत ?

पूर्वगृहमन्त्री एवं पार्टीका प्रभावशाली नेता बालकृष्ण खाँण नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेपछि गृहजिल्ला रुपन्देहीस्थित कांग्रेसपंक्तिमा सन्नाटा छाएको छ ।

पार्टीमा दह्रो पकड जमाउँदै सत्तामा उक्लिन सिपालु खाँणले पार्टी सभापति शेरबहादुर देउवाको उत्तराधिकारीको रूपमा आफूलाई प्रस्तुत गर्दै आएका थिए ।

मंसिर ४ मा रुपन्देही– ३ बाट प्रतिनिधिसभा चुनाव हारे पनि रुपन्देही मात्र हैन लुम्बिनी प्रदेशकै कांग्रेस राजनीतिमा उनको बलियो प्रभाव छ ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने धन्दामा संलग्न भएको आरोपमा पक्राउ परेपछि रुपन्देहीस्थित कांग्रेस नेता तथा कार्यकर्ताले अब उनको राजनीतिक जीवन लगभग समाप्त भएको भनेर चर्चा गरिरहेका छन् ।

यस मुद्दामा सफाइ नै पाए पनि खाँणको पहिले जस्तो प्रभाव नरहने उनीहरूको बुझाइ छ ।

त्यसो त यस प्रकरणमा पनि जिल्लास्थित पार्टी पंक्ति दुई खेमामा बाँडिएको छ । 

संस्थापन पक्षले खाँणलाई परिबन्दमा पारेर फसाइएको तर्क गर्दै आएको छ भने संस्थापनइतरले गल्ती गरेको भए सजाय भोग्नुपर्छ भन्ने आशयको अभिव्यक्ति दिने गरेको छ । पार्टीमा प्रभावमा छँदा खाँणले आफूहरूलाई माथि आउन नदिएको तर्क गर्ने नेताहरूको संख्या पनि कम छैन । 

कांग्रेस रुपन्देहीका कोषाध्यक्ष हरिप्रसाद अर्याल सबैले कर्म अनुसारको फल भोग्नुपर्ने बताउँछन् । ‘राजनीति गर्ने व्यक्तिको जीवन पारदर्शी हुनुपर्छ,’ अर्यालले लोकान्तरसँग भने, ‘गल्ती गर्नेले सजाय पाउनुपर्छ । दोषी जो कोही भए पनि कारबाहीको भागीदार हुनुपर्छ ।’

अब युवा पुस्ताले राजनीति हाँक्ने भन्दै उनले अमुक नेताको अनुपस्थितिले खासै फरक नपर्ने बताए ।

कांग्रेसका युवा नेता काजीमान श्रेष्ठले हाई–प्रोफाइल नेताहरूले बदमासी गर्दा पार्टीलाई ठूलो असर पुग्ने बताए । ‘गलत गर्नेलाई कारवाही हुनुपर्छ,’ उनले भने, ‘यस्ता घटनाले पार्टीलाई केन्द्रदेखि क्षेत्रसम्मै अप्ठ्यारो पार्ने स्थिति छ ।’

कुनै बेला नेता–कार्यकर्ताले तर्क–वितर्क गर्दा कडा हाउभाउ देखाउने खाँण पछिल्लो समय रक्षात्मक अवस्थामा थिए ।

परिस्थिति थप जटिल बन्दा उनलाई आफ्नो राजनीतिक जीवन जोगाउन र पुरानो विरासत फर्काउन चुनौती हुने देखिएको छ । 

यी सबै परिस्थितिका बीच रुपन्देही र लुम्बिनीको कांग्रेस राजनीतिमा बालकृष्ण खाँणको स्थान कसले लेला भनेर पनि चर्चा परिचर्चा हुन थालेको सुनिन्छ ।

बालकृष्णलाई जिल्लामा सधैं साथ दिएका पूर्व जिल्ला सभापति तथा प्रदेश सांसद अब्दुल रज्जाक र पूर्व सांसद भरतकुमार शाहलाई कार्यकर्ताले खासै रुचाउँदैनन् । शाहले श्रीमतीलाई पार्टी उपसभापति बनाएपछि एउटा समूह उनीसँग रुष्ट हुँदा चुनाव समेत हार्ने परिस्थिति बन्यो ।

पार्टी उपसभापतिमा हारे पनि प्रभावशाली युवा नेताको छवि बनाएका चन्द्र भण्डारीको जोड अब रुपन्देहीमै राजनीति गर्नेतर्फ देखिन्छ । यद्यपि घरमै ग्यास 'लीक'का कारण भएको दुर्घटनामा परेका भण्डारी हालै मात्र उपचार गरी भारतबाट फर्किएका छन् ।

प्युठानका गोविन्दराज पोखरेल पनि रुपन्देही झरेर कांग्रेसको राजनीतिमा जम्न खोजेका छन् । यी दुई नेताका अलावा पार्टीका जिल्ला सभापति रामकृष्ण खाँण, बुटवल नगर सभापति खेलराज पाण्डे, सोमनाथ शर्मा, क्षेत्रीय सभापति हिरा केसी, फणिन्द्र शर्मा, काजीमान श्रेष्ठलगायत नेताहरूको पनि जिल्लामा आफ्नै हिसाबको प्रभाव छ ।

बुटवल बहुमुखी क्याम्पसका प्राध्यापक नुरजंग केसीले जनताबाट व्यक्तित्व विकास गरेका नेताहरू अब कांग्रेसको नेतृत्व हाँक्ने गरी आउने तर्क गरे । 

‘कुनै स्वार्थ नराखी जनताको मुद्दा लिएर नेतृत्व गर्ने सक्ने व्यक्तिले रुपन्देहीको पार्टी राजनीतिमा बालकृष्ण खाँणको स्थान लिन सक्छन्,’ केसी भन्छन्, ‘नेतृत्व गर्नेको व्यक्तिगत क्षमतामा पनि भर पर्छ ।’

खाँण रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर– ८ का स्थायी बासिन्दा हुन् । 

मंसिर ४ को निर्वाचनमा उनी एमालेको साथ पाएका राप्रपा उम्मेदवार दीपक बोहोरासँग पराजित भएका थिए । २०७४ मा भने उनी समानुपातिकमा बसेका थिए ।

खाँणले पार्टीभित्र गुटबन्दी र एकलौटी गर्दा प्रतिनिधिसभामा कांग्रेस रूपन्देहीमा शून्य बन्न पुगेको कांग्रेसकै कतिपय कार्यकर्ताको आरोप छ ।

रूपन्देही– २ बाट उम्मेदवार बन्न चाहेका प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारीलाई खाँणले नै रोकेको आरोप उनीहरू लगाउँछन् । भण्डारीले गुल्मी– १ बाट चुनाव जितेका थिए ।

पारिवारिक कुरा गर्दा खाँणले दुईवटा विवाह गरेका छन् ।

उनकी जेठी श्रीमती दिलमाया तिलोत्तमास्थित पुर्ख्यौली घरमा बस्छिन् ।

तिलोत्तमा– ८ को एक आधारभूत विद्यालयकी स्थायी शिक्षिका दिलमाया र मानव तस्करी काण्डमा मुछिएकी मञ्जु खाँण (कान्छी श्रीमती)बीच अहिलेसम्म भेटघाट समेत भएको छैन ।

आफू प्रत्यक्ष उम्मेदवार बन्दा मञ्जुलाई समानुपातिक सूचीमा राखेपछि चुनावको मुखैमा खाँणको चौतर्फी आलोचना भएको थियो ।

खाँणले आफ्ना सहोदर भाइ रामकृष्णलाई पार्टीको जिल्ला सभापति र तिलोत्तमाको मेयर बनाउँदा पनि आलोचना खेप्नुपरेको थियो ।

खाँण विद्यार्थी हुँदै वि.सं. २०३० सालमा कांग्रेस राजनीतिमा होमिएका थिए ।

स्ववियु सभापति, नेविसंघ तथा तरुण दलको अध्यक्ष हुँदै राजनीतिमा स्थापित भएका खाँणले गृहसहितका प्रभावशाली मन्त्रालयको नेतृत्व गरिसकेका छन् ।

पछिल्लो कार्यकालमा पनि उनी प्रधानमन्त्रीलगत्तै दोस्रो वरीयतामा थिए ।

राजनीतिक यात्राका क्रममा उनले पञ्चायतकालमा करीब २ वर्ष जेलजीवन बिताएका थिए । 

खाँणले नेविसंघको अध्यक्षका हैसियतले वि.सं. २०४६ को जनआन्दोलनमा विद्यार्थी वर्गको नेतृत्व पनि गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्