
फिल्म ‘हुक्का एन एब्सर्ड ड्रिम’ नेपाली मौलिक कथामा निर्माण भएको निर्माण पक्षले जनाएको छ ।
यही जेठ १२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म हुक्कासँग जोडिएको मनोविज्ञानमा आधारित रहेको निर्देशक शम्भु थापाले बताए । ‘अग्रजले हुक्का प्रयोग गरेको देखेपछि बच्चाले के कस्तो सपना देख्छ र त्यो पुरा गर्न के गर्छ भन्ने कुरा उठान गरेका छौँ’, फिल्मबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘फिल्मले अहिलेको समाजको प्रतिनिधित्व गरेको छ ।’
उनले अहिलेको पुस्ताले अग्रजको सम्पत्ति घरआँगनमै भए पनि त्यसलाई कुल्चिएर अहिलेको पुस्ता भौतारिने गरेको कथालाई फिल्ममा देखाइएको बताए । उनले फिल्ममा सामन्तवादको केही विषय समेटिएको खुलाए ।
अभिनेता तेज गिरीले फिल्ममा विदेशबाट फर्किएको अल्लारे केटाको भूमिका निर्वाह गरेको खुलाए । उनले आफ्नो भूमिका मायाको अभावमा रहेकालाई मायाको प्रभावमा पारेर अल्झाउने रहेको जनाए । ‘मेरो चरित्रले कथामा नयाँ ट्वीस्ट ल्याउँछ’, उनले भने ।
अभिनेत्री तलिसा गुरुङले नेपाली भाषाको डेब्यू फिल्म ‘हुक्काः एन एब्सर्ड ड्रिम’मा अभिनय गर्न पाउँदा खुशी लागेको बताइन् ।
उनले राम्रो टिम र कथामा काम गर्न पाएकाले दर्शकले आफ्नो भूमिका मन पराउने बताइन् ।

अभिनेता प्रकाश घिमिरेले फिल्ममा आफू हुक्का खाने क्यारेक्टरको रूपमा देखिने खुलाए । उनले आफू कहिले नरम र कहिले कडा पात्रको रुपमा प्रस्तुत हुने बताउँदै फिल्म सबैका लागि हेर्न उपयुक्त रहेको जनाए ।
फिल्मका लेखक तथा अभिनेता सन्तोषकुमार आत्रेयले आफूले पत्रिकामा समवेदना पढेर कथा बुनेको बताए । फिल्मको कथा अहिलेसम्म आएको फिल्म भन्दा भिन्न भएको उनको दाबी थियो ।
कार्यकारी निर्माता किरणकुमार आत्रेयले नेपाली कला संस्कृतिका लागि केही गर्नुपर्छ भन्ने भावनाले फिल्ममा लगानी गरेको बताए । फिल्ममा प्रकाश घिमिरे, सन्तोषकुमार आत्रेय, प्रमिला खनाल, तेज गिरी, अशु न्यौपाने, निश्चल विमल, एलिशा विकको अभिनय छ ।
सन्तोषकुमार आत्रेयको कथा रहेको फिल्ममा सन्तोष र भगवान पौडेलको पटकथा छ । रेश्मा प्रधान सह–निर्माता, पार्वती थापा, सुशीला गुरुङ र सागर गोदार क्षेत्री निर्माता रहेको फिल्ममा कमलबहादुर भुजेल र किरणकुमार आत्रेय कार्यकारी निर्माता हुन् ।