
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १९ किलोग्राम सुन तस्करी भएको विषयको पोल क्लोज सर्किट टीभी (सीसीटीभी) फूटेजले खोलेको पाइएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रमुख भन्सार प्रशासक अरुण पोखरेलका अनुसार नायब सुब्बा रेबन्त खड्काले भन्सारको गोदामबाट नै सुन साटफेर गरेको देखिएको हो ।
‘नासु खड्काले सामान परिवर्तन गरेको सीसीटीभी फूटेजले देखाएको छ,’ प्रमुख भन्सार प्रशासक पोखरेलले लोकान्तरसँग भने ।
सीसीटीभी अनुसन्धान गर्दा नासु खड्काले लामो समय लगाएर भन्सारको गोदामभित्र सुन भरिएको भेप (विद्युतीय चुरोट) लाई साटेको देखिएको हो । प्रारम्भिक अनुसन्धानमा उनले झोला र आफ्नो खल्तीमा राखेर सामान साटफेर गरेको देखिएको छ ।
उनले करीब १०–१५ दिन लगाएर सामान साटेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।
भेप बरामद गर्दा पहिले प्रयोग भएको सुटकेश जस्ताको त्यस्तै अवस्थामा रहेको र त्यसभित्रको सामान परिवर्तन भएको देखिएको पोखरेलले बताए ।
‘हामीले आन्तरिक अनुसन्धान गरेका थियौं, त्यसबाट उनले लामो समय लगाएर थोरैथोरै सामान खल्ती र झोलामा राखेर साटफेर गरेको पुष्टि भएको छ,’ उनले लोकान्तरसँग भने, ‘उक्त सामान करीब १५ दिन अगाडि मात्र साटिएको पाइएको छ ।’
७३० थान ‘ई–सिगरेट’ (भेप) नेपाल भित्र्याउने क्रममा २०७९ पुस १० गते शंकास्पद लागेपछि त्रिभुवन विमानस्थलको आगमन कक्षबाट विमानस्थल भन्सारले जफत गरेको थियो ।
त्यसलाई प्रक्रिया पूरा गरेर २०७९ माघ १९ गते त्रिभुवन विमानस्थलको भन्सार गोदाममा ई–सिगरेट भनेर दाखिला गरिएको प्रमुख भन्सार प्रशासक पोखरेलले बताए ।
‘हामीले पुस १० गते जफत गरेको ई–सिगरेट माघ १० गते भन्सारको गोदाममा दाखिला गरेका थियौं,’ उनले भने ।
पोखरेलका अनुसार अन्य सामान भएको भए एउटा प्रक्रिया पूरा गरेपछि लिलामीमा जान्थ्यो तर ई–सिगरेट भएकाले लिलामी प्रक्रियामा लाने वा नलाने भन्ने विषयमा छलफल भइरहेको थियो ।
‘चुरोट तथा सूर्तीजन्य वस्तुहरू सरकारले लिलामी गर्नु हुँदैन भन्ने भएकाले रोकिएको थियो,’ प्रशासक पोखरेलले भने ।
उनका अनुसार त्यही छलफल भइरहँदा सिगरेट छुटाउनलाई एउटा समूह ३–४ पटक आयो । त्यसपछि भन्सार विभागलाई शंकास्पद लागेपछि त्यसको सत्यतथ्य जाँच गर्न थालियो ।
‘फेरि एक्सरे गर्दा पनि केही देखिएन तर मानिसहरू निरन्तर छुटाउन आएपछि त्यसमा केही गडबडी छ भन्ने हिसाबले अनुसन्धान भइरहेको थियो,’ पोखरेलले भने ।
त्यस क्रममा प्रत्येक भेप खोलेर हेर्दा विमानस्थलबाट जफत गरेर ल्याएकोभन्दा गोदाममा भेटिएको सामान फरक पर्यो । विमानस्थलको एक्सरेबाट खिचेर आएको तस्वीर र त्यहाँ भएको भेपको तस्वीर फरक देखिएपछि सामानमा भएको गडबडीको रहस्य बाहिर आएको थियो ।
त्यो अनुसन्धान गर्नका लागि विमानस्थलको भन्सार विभागले सहसचिवको नेतृत्वमा ३ सदस्यीय समिति गठन गरेको थियो, त्यसले नै नासू रेबन्त खड्काले गरेको भन्ने रहस्य खोलेको थियो ।
प्रमुख भन्सार प्रशासक पोखरेलका अनुसार त्यसमा लागूऔषध हुनसक्ने अनुमान गरिएको थियो । अहिले पनि त्यसमा कति परिमाण सुन थियो भन्ने तथ्य बाहिर आएको छैन ।
‘त्यसभित्र के थियो र कति परिमाण थियो भन्ने कुरा हामीकहाँ आइपुगेको छैन,’ पोखरेलले लोकान्तरसँग भने ।
उनका अनुसार आन्तरिक अनुसन्धानबाट नासू रेबन्त दोषी देखिएपछि थप अनुसन्धानका लागि भन्सार विभागले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई वैशाख २६ गते पत्र पठाएको थियो । प्रहरीले नासू खड्कासहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका अन्यको पहिचान प्रहरीले गोप्य राखेको छ तर उनीहरू सुन व्यापारी भएको स्रोतले लोकान्तरलाई बतायो ।
सीआईबीले विमानस्थल भन्सारले पत्राचार गरेकाले त्यसमा थप अनुसन्धानका लागि नासुसहित अन्यलाई पक्राउ गरेको बताएको छ । ‘यो अहिले अनुसन्धानको क्रममा भएकाले अन्य केही बोल्न मिल्दैन,’ सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) संजयसिंह थापाले भने, ‘अहिले ४ जनालाई सीआईबीले पक्राउ गरेको छ ।’
सीआईबीका अनुसार अहिले पनि कति परिणामा सुन थियो । कहिलेदेखि आउँथ्यो भन्ने विषय खुलेको छैन ।