१९ असार २०८३, शुक्रबार

तिलोत्तमाका स्वास्थ्यकर्मीले ५ महिनादेखि तलब नपाएपछि आन्दोलन

तिलोत्तमाका स्वास्थ्यकर्मीले ५ महिनादेखि तलब नपाएपछि आन्दोलन

विगत ५ महिनादेखि तलब नपाएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाका स्वास्थ्यकर्मी आन्दोलित भएका छन् ।

दोहोरो सहमतिमा काज सरुवा भएर दरबन्दीभन्दा बढी कर्मचारी भएपछि सम्पूर्ण स्वास्थ्यकर्मी तलबविहीन भएका हुन् ।

सहमतिमा आएका कर्मचारीलाई तलब खुवाउने दायित्व पालिकाको हो । 

तिलोत्तमा नगरपालिकाअन्तर्गत सम्पूर्ण स्वास्थ्यकर्मीले बुधवार पत्रकार सम्मेलन गरी लामो समयसम्म तलब नपाउँदा दैनिक गुजारा गर्न समेत अप्ठ्यारो परेको भन्दै आफूहरूको माग सम्बोधन नभए कडा संघर्षमा उत्रिन बाध्य हुने चेतावनी दिए ।

आन्दोलनका संयोजक ज्ञानप्रसाद पौडेलले बारम्बार अनुरोध र छलफल गर्दा पनि तलब नपाएपछि आन्दोलित भएको बताए । 

‘हामी आन्दोलन गरे पनि सेवा अवरुद्ध गरेका छैनौं,’ पौडेलले भने, ‘तर हामी भोकभोकै काम गर्न सक्दैनौं । ५ महिनाको तलब अबिलम्ब उपलब्ध गराई आगामी दिनमा निरन्तर पाउने व्यवस्था होस् ।’

नगरपालिकामा ७८ जना स्वास्थ्यकर्मी कार्यरत छन् । जसमध्ये ४५ जनाको दरबन्दी हो भने ३३ जना दोहोरो सहमतिमा सरुवा भएर आएका हुन् । नगरभित्र ७ वटा स्वास्थ्य चौकी छन् । संयोजक पौडेलले ४ करोड रुपैयाँ तलबका लागि अपुग रहेको बताए । 

नगर प्रमुख रामकृष्ण खाँण, उपप्रमुख जागेश्वरदेवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले आफूहरूका समस्या राख्दा कुनै चासो नदिएको उनीहरूको गुनासो छ । स्वास्थ्यकर्मीले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । अहिले कालोपट्टी बाँधेर काम गरिरहेका छन् ।

जनस्वास्थ्य निरीक्षक थानेश्वर बस्यालले आन्दोलनलाई बेवास्ता गरिए भोक हड्तालमा उत्रिन बाध्य हुने बताए । उनले करारका कर्मचारीलाई सामाजिक सुरक्षा कोषको व्यवस्था हुनुपर्ने माग गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्