
केही दिनयता बढिरहेको प्रचण्ड गर्मीका कारण सिरहाको लहान नगरपालिकाले विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ ।
नगरपालिकाले एक सूचना जारी गर्दै सबै विद्यालयमा १ हप्तासम्मका लागि बिदा दिने निर्णय गरेको हो ।
अत्यधिक बढ्दो गर्मीको कारण बालबालिकाको स्वास्थ्यमा पर्नसक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै आज शुक्रवारदेखि जेठ २६ गते शुक्रवारसम्मका लागि नगरपालिका अन्तर्गतका बालविकासदेखि १२ कक्षासम्मका सबै सामुदायिक, निजी तथा धार्मिक विद्यालयमा पठनपाठन बन्द गरिएको हो ।
गर्मीले पठनपाठनमा अवरोध भएकाले वर्षे बिदाबाट बिदा कट्टा हुने गरी विद्यालय बन्द गरिएको लहान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुभद्रा गौतमद्वारा जारी सूचनामा उल्लेख छ ।
गर्मी यथावत रहिरहे आइतवारदेखि लागू हुने गरी सिरहाका अन्य पालिकाले पनि पठनपाठन बन्द गर्ने शिक्षा विकास तथा समन्वय एकाइ सिरहाका प्रमुख शशीकुमार यादवले जानकारी दिए । सिरहामा १७ वटा स्थानीय पालिका रहेका छन् ।
विगत केही दिनदेखि अत्यधिक गर्मीका कारण सिरहा, सप्तरी, धनुषासहित मध्य तराईको जनजीवन प्रभावित भएको छ । सिरहाको लहानको बिहीवारको अधिकतम तापक्रम ४२ डिग्री सेल्सियस रहेको छ ।