
अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर स्टारर फिल्म ‘जारी’ले प्रदर्शनको ५१ दिन मनाएको छ । फिल्मले शनिबार उपत्यकाबाहिर ११ वटा र उपत्यकाभित्र १८ वटा गरी २९ वटा हलमा प्रदर्शनको ५१ दिन मनाएको हो ।
वैशाख १ गतेबाट प्रदर्शनमा आएको यो फिल्मले उक्त अवधिसम्म १७ करोड ४३ लाख रूपैयाँ ग्रस कमाइ गरेको निर्माण पक्षले जानकारी दिएको छ ।
५१ दिन मनाउने फिल्ममध्ये ‘जारी’ सर्वाधिक धेरै हलमा चल्ने फिल्म समेत बनेको छ । फिल्मले नेपालमा मात्र नभएर विदेशमा समेत आक्रामक कमाइ गरेको छ । लिम्बू समुदायमा प्रचलित जारी प्रथाको पृष्ठभूमिमा निर्माण भएको फिल्मलाई उपेन्द्र सुब्बाले लेखन एवं निर्देशन गरेका हुन् ।
फिल्ममा विजय बराल, प्रेम सुब्बा, पुष्कर गुरुङ, रोयदीप श्रेष्ठ, कमलमणि नेपाल, रेखा लिम्बू लगायतको पनि अभिनय छ ।
रामबाबु गुरुङ यस फिल्मको निर्माता हुन् ।
