१३ असार २०८३, शनिबार

‘नीरफूल’जस्ता फिल्मले कथामा विविधता ल्याउँछन् : अभिनेता राई

निर्देशक  वल भन्छन् : ‘नीरफूल’ हाम्रै कथा र व्यथा हो
जेठ २१, २०८०
काठमाडौं
‘नीरफूल’जस्ता फिल्मले कथामा विविधता ल्याउँछन् : अभिनेता राई

नेपाली फिल्ममा पछिल्लो समय समुदायको कथाले पनि स्थान पाउन थालेको छ । क्षेत्रीय फिल्मको रूपमा मात्र सीमित हुने ती कथाले अहिले मूलधारमा प्रवेश पाएका छन् । अर्थात् परिचित अनुहारले ती कथालाई धेरै दर्शकसम्म पुर्‍याएका छन् । 

यसको राम्रो उदाहरण बनेको छ, लिम्बू संस्कृतिमा आधारित फिल्म ‘जारी’ । यो फिल्मले प्रदर्शनको ५१ औं दिन पार गर्दै व्यावसायिक रुपमा सफल भएको छ । आउँदो जेठ २६ गते प्रदर्शन हुने फिल्म ‘नीरफूल’ मा तामाङ संस्कृति समेटिएको छ । उक्त समुदायमार्फत कथा वाचन गरिएको भएता पनि यो जनजातिको मात्र कथा नरहेको फिल्मका निर्देशक फूलमान वलले जानकारी दिए । 

राजधानीमा फिल्मबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘चरित्रहरू तामाङ समुदायको भए पनि यसमा तामाङ संस्कृति मात्र देखाउने उद्देश्य होइन । कथा उत्पत्ति भएको ठाउँ तामाङ समुदाय हो तर यो परिवारको बिछोड र मिलनको कथा हो । यो कथालाई हरेक समुदायको मानिसले महसुस गर्न सक्नुहुन्छ ।’ 

समीक्षक हुँदै निर्देशकसम्मको यात्रा तय गर्दा कमीकमजोरीलाई बुझ्न मद्दत पुगेको निर्देशक वलले बताए । दुई दशक लामो पत्रकारिता यात्रापश्चात् निर्देशनमा उदाउँदै गरेका उनले यो यात्रा समीक्षक भएकै कारण सम्भव बताए । 

‘समीक्षक रहँदा अन्य फिल्ममा देखिएको कमीकमजोरीलाई केही हदसम्म बुझ्ने मौका पाएको थिएँ । सकभर त्यो गल्ती नगर्ने कोसिस गरेको छु, निर्देशक वलले भने ‘नेपाली फिल्ममा खोजिएको नयाँपन यसमा हुन् सक्छ । यसमा हाम्रो कथा र व्यथा छ ।’ 

फिल्मका अभिनेता दयाहाङ राईले बिस्तारै नेपालका विविध संस्कृतिले फिल्ममा मूलरुपमै स्थान पाउन थालेको बताए । उनले भने, ‘यो जरुरी पनि थियो । किनकि हामीसँग हाम्रो मौलिक कथा धेरै छन् । नीरफूलजस्ता फिल्मले कथामा विविधता ल्याउँछन् ।’ उनले यस्ता फिल्मको महत्व कालान्तरमा अझै बढी हुने बताए । ‘जारी’ ले प्राप्त गरेको सफलताले विविध संस्कृतिलाई फिल्मको पर्दासम्म आइपुग्न व्यावसायिक जोखिमसमेत कम गरिएको उनको भनाइ थियो । 

हिमाली भेगमा छायाङ्कन गर्नुपर्ने भएकाले धादिङको रुबी भ्यालीमा यसको छायाङ्कन गरिएको निर्देशक वलले जानकारी दिए । ‘हामीलाई हिउँ नभएको हिमाली भूभाग चाहिएको थियो । त्यहीँ क्रममा त्यहाँ पुग्दा छायाङ्कन गर्ने तय गर्यौँ’, निर्देशक वलले भने । 

अभिनेता राईले सन १९४८ मा बनेको इटालियन नवयथार्थवादी फिल्म ‘द बाइसाइकल थिफ’ र सत्यजित रेको ‘पाथेर पाञ्चली’ जस्ता सधैँ बाँचिरहने फिल्म ‘नीरफूल’ बनेको बताए । उनले भने, ‘यसले हाम्रै समाजको कथालाई हाम्रै सुन्दर दृश्यमार्फत व्यक्त गरेको छ । यसमा हामीले भोगेको समयको कथा भेटिनेछ ।’ 

भूकम्पका कारण बिछोडिएका एक परिवारको सदस्यले पुनर्मिलनका लागि गरेको प्रयत्नमा आधारित रहेको फिल्ममा अभिनेता राईसँगै  शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरीलगायतको अभिनय रहेको छ । रेखा थापा फिल्ममा केमियो भूमिकामा छिन् । 

फिल्ममा पटकथा लेखन निर्देशक वल र सचिन घिमिरे, छायाङ्कन प्रमोद कार्की, सम्पादन निमेश श्रेष्ठ, सङ्गीत सिर्जना अर्जुन पोखरेल र चन्द्रकुमार दोङले गरेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्