प्राध्यापक डा. जयराज आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण फलदायी नभएको टिप्पणी गरेका छन् । देशको प्राथमिकतालाई पहिचान गर्न नसक्दा प्रधानमन्त्री चुकेको उनको टिप्पणी छ ।
‘हाम्रो अपेक्षा, प्राथमिकता तथा एजेन्डा के थियो भन्ने प्रश्नमा प्रधानमन्त्रीको भारत भ्रमणलाई हेर्नुपर्छ,’ उनले भने, ‘भैरहवामा नेपालगञ्ज रुटबाट उडान अनुमति, पर्यटन विस्तारका लागि वनारस–पोखरा–मुक्तिनाथ उडानजस्ता विषय प्राथमिकतामै परेन ।’
नेपाल–भारत प्रबुद्ध समूहले तयार पारेको ईपीजी प्रतिवेदनबारे कुरा नउठ्नुले पनि भ्रमण फलदायी भयो भन्ने अवस्था नदेखिने उनको भनाइ छ ।
‘भारतसँग पेट्रोलियम लाइन विस्तारको कुराले झन् परनिर्भरता बढाउने काम गर्यो,’ उनी थप्छन्, ‘दूरगामी नेतृत्व हो भने १० वर्षभित्र पेट्रोल शून्य देश बनाउनुपर्ने हो, यहाँ त विद्युत् बेचेर पेट्रोल लाइन विस्तार गर्ने विषयमा सहमति भयो ।’
प्रधानमन्त्रीलाई राज्यमन्त्रीले स्वागत गर्ने विषयलाई उनले ‘असन्तुलित प्रोटोकल’को संज्ञा दिएका छन् । ‘यो घट्दै गएको राजनीतिक र कूटनीटिक क्षमता प्रदर्शन हो,’ आचार्यले भने ।
प्रधानमन्त्री दाहालको भारत भ्रमणमा संयुक्त प्रेस विज्ञप्ति आउनुपर्नेमा वक्तव्य मात्रै आएको प्रति पनि उनी सन्तुष्ट देखिएनन् ।
‘दुई देशका शीर्ष व्यक्तिबीच भेट हुँदा वक्तव्य मात्रै आउनु दुःखद् कुरा हो,’ आचार्यले भने, ‘यो क्रमले पछिल्लो समय निरन्तरता पाएको छ ।’
उनले कालापानी र लिपुलेकको विवाद समाधान गर्ने विषयमा सरकारसँग स्पष्ट एजेन्डा नभएको पनि बताए । ‘यो क्षेत्र शत् प्रतिशत नेपालको भूमि हो । त्यो भूमि छाड्ने कुरै हुँदैन । तर, नेपालले कुनै हालतमा फिर्ता लिन सक्ने अवस्था पनि देखिन्न,’ उनी भन्छन्, ‘जमिनै काटेर दिने हो कि के हो ? त्यसरी दिने सम्भावना पनि छैन । धेरै दिए भने निर्बाध रूपमा बाटो प्रयोग गर्न दिए राम्रो हुन्थ्यो । प्रधानमन्त्री यसमा नै स्पष्ट भएनन् जस्तो लाग्छ ।’
नेपालको पानीमा मात्रै भारतको रुचि रहेको उनको भनाइ छ ।
‘माथिल्लो कर्णालीजस्ता आयोजना हडपेर राख्ने मात्रै रणनीति हो,’ उनी भन्छन्, ‘बिजुली उत्पादनमा गर्ने भारतको रुचि थियो भने पञ्चेश्वर आजसम्म किन बनेन ?’
भरतसँग अहिले भएका सम्झौता कार्यान्वयन हुनेमा समेत उनले आशंका व्यक्त गरे । उनले प्रचण्डको भारत भ्रमणलाई पास मार्क्स पनि दिएनन् ।
‘प्रधानमन्त्री प्रचण्डमा सतप्रतिशत राजनीतिक अपरिपक्वता देखियो । म प्रोफेसर पनि भएको नाताले १०० मा ३२ अंक पनि दिन्नँ, उहाँ फेल हुनुभयो,’ उनले भनेका छन् ।
प्रचण्डले भारतमा लगाएको गेरुबस्त्र, प्रधानमन्त्री पुत्रीसहित भ्रमण दलका सदस्यले देखाएको गैरकूटनीतिक व्यवहार तथा भारतले थप बिजुली किन्ने भनी गरेको घोषणाका सम्बन्धमा पनि आचार्यले टिप्पणी गरेका छन् ।
प्रस्तुत छ, प्रा.डा. आचार्यसँग लोकान्तरका लागि ऋषि खतिवडा र विश्वास खनालले गरेको कुराकानीको सम्पादित अंश (भिडियोमा) :