२८ जेठ २०८३, बिहीबार

तनहुँमा घरमै राहदानी सेवा प्रभावकारी, ३५० सेवाग्राही लाभान्वित

जेठ २७, २०८३
काठमाडौं
तनहुँमा घरमै राहदानी सेवा प्रभावकारी, ३५० सेवाग्राही लाभान्वित

तनहुँमा घरमै राहदानी वितरण सेवा प्रभावकारी बन्दै गएको छ। सरकारी सेवालाई नागरिकको घरदैलोमै पुर्‍याउने अभियानअन्तर्गत सुरु गरिएको उक्त सेवाबाट हालसम्म ३५० जना सेवाग्राही लाभान्वित भएका छन्।

नेपाल सरकारको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअन्तर्गत सरकारी कागजात नागरिकको घरमै पुर्‍याउने लक्ष्यअनुसार जिल्ला प्रशासन कार्यालय तनहुँले गत वैशाख ४ गतेदेखि हुलाक कार्यालयमार्फत घरमै राहदानी वितरण सेवा सञ्चालन गर्दै आएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीका अनुसार जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाक कार्यालयबीचको सहकार्यमा सञ्चालन भइरहेको सेवाअन्तर्गत राहदानी तयार भएपछि हुलाकमार्फत सेवाग्राहीको घर वा निजले तोकेको स्थानमा पुर्‍याउने व्यवस्था गरिएको छ।

उनले राहदानी लिन जिल्ला प्रशासन कार्यालयसम्म पुनः पुग्नुपर्ने झन्झट हटेकाले नागरिकको समय, श्रम र यातायात खर्च बचत भएको बताए। सेवा सुरु भएको छोटो अवधिमै नागरिकबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको पनि उनको भनाइ छ।

विशेषगरी ज्येष्ठ नागरिक, महिला, विद्यार्थी, वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका नागरिक तथा दुर्गम क्षेत्रका बासिन्दालाई यस सेवाले सहजता प्रदान गरेको प्रशासनको दाबी छ।

तथ्याङ्कअनुसार व्यास नगरपालिकाका ९५ जनाले घरमै राहदानी प्राप्त गरेका छन्। यस्तै भानु नगरपालिकाका ७३, शुक्लागण्डकी नगरपालिकाका ६८, भिमाद नगरपालिकाका ३८, घिरिङ गाउँपालिकाका २९, आँबुखैरेनी गाउँपालिकाका २६, म्याग्दे गाउँपालिकाका १७ र बन्दीपुर गाउँपालिकाका चार जना सेवाग्राहीले सेवा लिएका छन्।

प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले घरमै राहदानी वितरण सेवाले सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याएको बताए।

प्रशासनले आगामी दिनमा राहदानी मात्र नभई अन्य सरकारी कागजातको वितरणलाई पनि थप व्यवस्थित र प्रभावकारी बनाउने तयारी गरिरहेको जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्