
नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक कार्य सम्पन्न गर्न बाँकी सदस्यलाई निर्धारित समयभित्र प्रक्रिया पूरा गर्न आग्रह गरेको छ।
पार्टीका महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलले आज जारी अपिलमार्फत क्रियाशील सदस्यता अद्यावधिकको समयसीमा जेठ २८ गते राति १२ बजेसम्म मात्र रहेको जानकारी दिएका छन्।
उनका अनुसार क्रियाशील सदस्यता अद्यावधिक गर्न योग्य कुल सात लाख ८२ हजार २०९ सदस्यमध्ये हालसम्म चार लाख ५७ हजार ३ सय ६६ जनाले एनसीआईडी प्राप्त गरिसकेका छन्। यस्तै एक लाख २४ हजार ७ सय ४८ जनाले स्वयं अद्यावधिक फारम पेस गरी अद्यावधिक प्रक्रियामा सहभागिता जनाएका छन्।
महामन्त्री पौडेलले समयसीमा सकिन एक दिन मात्र बाँकी रहेकाले अद्यावधिक गर्न छुटेका सम्पूर्ण क्रियाशील सदस्यलाई तोकिएको अवधिभित्रै आफ्नो सदस्यता नवीकरण तथा अद्यावधिक प्रक्रिया पूरा गर्न आग्रह गरेका छन्।
कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकलाई संगठन सुदृढीकरण र सदस्य व्यवस्थापनको महत्वपूर्ण अभियानका रूपमा अघि बढाएको जनाएको छ।