२८ जेठ २०८३, बिहीबार

आरोही उद्धार र स्वास्थ्य सेवा सुदृढ गर्न सरकारको तयारी

जेठ २७, २०८३
काठमाडौं
आरोही उद्धार र स्वास्थ्य सेवा सुदृढ गर्न सरकारको तयारी

: सरकारले हिमाल आरोही तथा पदयात्रीहरूको आकस्मिक स्वास्थ्य समस्या व्यवस्थापन, उद्धार प्रणाली सुदृढीकरण र आवश्यक औषधिको उपलब्धता सुनिश्चित गर्ने तयारी अघि बढाएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्रा. डा. जगदीशप्रसाद अग्रवालको संयोजकत्वमा बुधबार बसेको बैठकले आरोही तथा पदयात्रीहरूको स्वास्थ्य सुरक्षासम्बन्धी विभिन्न विषयमा छलफल गरेको हो।

बैठकमा आकस्मिक उद्धारपछि बिरामीलाई निजी अस्पतालमा लैजानुपर्ने वर्तमान अवस्थाको समीक्षा गर्दै सरकारी अस्पतालहरूको क्षमता अभिवृद्धि र सेवा सुदृढीकरणमा जोड दिइएको छ। साथै आगामी भदौ महिनादेखि प्रमुख ट्रेकिङ रुटहरूमा परीक्षणका रूपमा अस्थायी स्वास्थ्य शिविर सञ्चालन गर्ने विषयमा पनि छलफल भएको छ।

उच्च हिमाली क्षेत्रमा आवश्यक पर्ने ‘डाइमक्स’ औषधि तथा फ्रस्टबाइट उपचारमा प्रयोग हुने विशेष सुई र अन्य औषधिको पर्याप्त उपलब्धता सुनिश्चित गर्न सम्बन्धित निकायलाई पूर्वतयारी गर्न निर्देशन दिइएको छ।

बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटा तथा पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछाने सहभागी थिए।

छलफलका क्रममा पर्यटकीय याममा हुने भीड व्यवस्थापन, नक्कली उद्धार (फेक रेस्क्यु) नियन्त्रण तथा हिमालहरूको भारवहन क्षमताबारे वैज्ञानिक अध्ययन गर्ने विषय पनि उठाइएको थियो।

बैठकले आगामी पर्यटन यामदेखि सम्भावित स्वास्थ्य जटिलता न्यूनीकरण गर्न सम्बन्धित मन्त्रालय तथा निकायबीच प्रभावकारी समन्वय गरी आवश्यक तयारी अघि बढाउने सहमति गरेको छ।

salt training

कमेन्ट गर्नुहोस्