
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा पहिलो ‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८०’को आयोजना हुने भएको छ ।
कर्णालीको कथा, जीवनशैली, भेषभूषा, कला र संस्कृति, भाषा, साहित्य, परम्परा र रीतिरिवाजलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले ‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८०’ आयोजना गर्न लागिएको हो ।
सोमबार चलचित्र विकास बोर्डमा आयोजित पत्रकार सम्मेलनमा रेडचेरी मिडिया प्राली र कर्णाली प्रदेश सरकार तथा चलचित्र विकास बोर्डको सहकार्यमा हुने महोत्सवको लोगो सार्वजनिक गरियो ।
महोत्सवका निर्देशक चक्रबहादुर चन्दले आगामी असोज ४, ५ र ६ गते हुने महोत्सवले स्थानीय कला र संस्कृतिलाई प्रवर्द्धन गर्ने बताए । ‘प्रदेशलाई चिनाउने र छायाङ्कनको गन्तव्य बनाउने हाम्रो उद्देश्य हो । चलचित्रको माध्यमले पर्यटनलाई प्रवर्द्धन गर्नु जरुरी देखेर महोत्सव गर्न लागेका हौँ’ – ‘प्रेमगीत ३’का निर्मातासमेत रहेका चन्दले भने ।

कार्यक्रममा उपस्थित प्रतिनिधिसभा सांसद ज्ञानेन्द्र शाहीले आकर्षक योजना ल्याएर कर्णालीमा चलचित्र छायाङ्कनको गन्तव्य बनाउन संसदमा आवाज उठाउने बताए ।
आयोजित पत्रकार सम्मेलनमा पूर्व राज्यमन्त्री कुन्ती कुमारी शाही, अभिनेता शिव श्रेष्ठ, हास्य कलाकार हिमेश पन्त, मध्येपश्चिमाञ्चल विश्व विद्यालयका पूर्व रजिष्टार डाक्टर महेन्द्र बहादुर मल्ल, निर्देशक रामशरण पाठक, निर्मात्री रज्जु प्रधान लगायतको उपस्थिति रहेको थियो ।
