
प्रतिनिधिसभा तथा राष्ट्रियसभा बैठकहरू हेर्न विभिन्न विद्यालयका विद्यार्थी बेला–बेला नयाँ बानेश्वरस्थित संघीय संसद् भवन पुगिरहेका हुन्छन् । विद्यार्थीले आफ्नो पाठ्यपुस्तकमा संसद्को सम्बन्धमा पढ्नुपर्छ ।
पढेको कुरालाई व्यावहारिक रूपमा देखाउनका लागि शिक्षकहरूले आफ्ना विद्यार्थीलाई संसद् भवन लिएर आउने गर्दछन् । बुधवार पनि प्रतिनिधिसभा बैठक हेर्नका लागि अनामनगरस्थित अक्सिडेन्टल पब्लिक स्कूलका ८ र ९ कक्षामा अध्ययनरत विद्यार्थी शिक्षकहरू सहित आएका थिए ।
अक्सिडेन्टल पब्लिक स्कूलमा अध्ययनरत विभूति चौलागार्इंले संसद्को बारेमा सामाजिक अध्ययन विषयमा पढ्नुपर्ने भन्दै बुधवार व्यावहारिक रूपमा संसद् देख्न पाउँदा खुशी लागेको बताइन् । उनले सांसदहरूले आ–आफ्नो जिल्लामा भएका समस्याहरू व्यक्त गरेको सुनेको प्रतिक्रिया दिइन् ।
९ कक्षामा अध्ययनरत विद्यार्थी सम्पन्न सिलवालले संसद बैठकमा समयको व्यवस्थापन राम्रो लागेको बताए । उनले वार्षिक बजेटको विषयमा छलफल भइरहेको र बजेटका समस्या र समाधानको विषयमा संसद् बैठकमा छलफल भइरहेको बताए ।
८ कक्षामा अध्ययनरत स्पर्शी खरेलले देशका विभिन्न स्थानहरूमा कहाँ कस्ता समस्याहरू छन् भन्ने ज्ञान पाएको बताइन् । उनले संसद् बैठकबाट अनुशासनको महत्त्वबारे पनि थाहा पाएको प्रतिक्रिया दिइन् ।
अक्सिडेन्टल स्कूलमा नेपाली विषय प्राध्यापनरत शिक्षक तुलसीप्रसाद घिमिरेले विद्यार्थीहरूलाई प्रयोगात्मक रूपमा संसद बैठक देखाउँदा पढाउन सजिलो हुने बताए । उनले बजेट निर्माण कसरी हुन्छ र सरकार कसरी चल्छ भन्ने कुरा संसदमा आएर देखाउन पाउनु गौरवको अवसर भएको पनि उल्लेख गरे ।
उनले विद्यार्थीलाई प्रतिनिधिसभा बैठकमा ल्याउनुले शिक्षण सिकाइ क्रियाकलापमा सहयोग पुग्ने बताए ।