०३ असार २०८३, बुधबार

शिक्षण सिकाइ क्रियाकलापमा प्रभावकारी बन्यो आईसीटी

जेठ ३१, २०८०
झापा
शिक्षण सिकाइ क्रियाकलापमा प्रभावकारी बन्यो आईसीटी

शिक्षण सिकाइ क्रियाकलापमा आईसीटी (सूचना र सञ्चार प्रविधि) को प्रयोग प्रभावकारी देखिएको छ ।

झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित मोहनमाया माध्यमिक विद्यालयमा आईसीटीको प्रयोग गर्दै पठनपाठन गराउन शुरू गरेसँगै विद्यार्थीको चाप उच्च रहेको पाइएको हो ।

व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना (इभेन्ट) मार्फत नेपाल सरकारले मोहनमाया माध्यमिक विद्यालयलाई आईसीटी कक्षा सञ्चालनका अनुमति प्रदान गरेसँगै अहिले विद्यालयमा प्रविधिको प्रयोग गर्दै पठनपाठन हुने गरेको छ । 

नेपाल सरकारले आर्थिक वर्ष २०७८/७९ देखि यो विद्यालयलाई आईसीटी कक्षा सञ्चालनका लागि आर्थिक सहयोग पुर्याएसँगै परम्परागत पठनपाठनको शैलीलाई परिमार्जन गर्दै स्मार्ट प्रविधिबाट पठनपाठन हुँदै आएको छ । जसका कारण विद्यार्थीलाई सिकाउन र उनीहरूलाई बुझ्न समेत सहज भएको विद्यालयका शिक्षक कविता सापकोटाले बताइन् ।

विद्युतीय उपकरण प्रयोग गर्दै प्रोजेक्टरको माध्यमबाट पठनपाठन गराउँदा शिक्षण सिकाइ क्रियाकलापमा विद्यार्थी बढी सक्रिय देखिने हुँदा शैक्षिक गुणस्तर अभिवृद्धिमा सहज भएको बताइएको छ । ‘शिक्षकको अनुपस्थितिमा समेत विद्यार्थी आफैंले आईसीटीको प्रयोग गर्दै नयाँ–नयाँ कुरा सिक्न सक्ने भएको हुँदा यो शिक्षण विधि प्रभावकारी देखिएको हो,’ सापकोटाले भनिन् ।
  
इभेन्ट परियोजनाले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि ल्याप्टप, प्रोजेक्टर, सीसी क्यामेरा, कम्प्युटर, डीभीआर, एलभीआरजस्ता विद्युतीय उपकरण खरिदमा सहयोग पुर्‍याएको विद्यालयका सूचना अधिकारी समेत रहेका शिक्षक डम्मरुवल्लभ ओझाले बताए ।

विद्यालयमा इभेन्ट परियोजना सेकेन्ड सञ्चालनमा आएसँगै शिक्षण सिकाइ क्रियाकलापमा सहज र विद्यार्थीको आचारण र आनीबानीमा समेत परिवर्तन आएको ओझाको भनाइ छ । मोहनमाया मावि जिल्लाकै नमूना विद्यालयमध्येमा पर्छ । यो विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको संख्या १ हजार ७०० छ । 

इभेन्ट परियोजनाले आईसीटी कक्षा सञ्चालनका लागि विद्यालयलाई ३० लाख ६२ हजार ५०० रुपैयाँ आर्थिक सहयोग गरेको विद्यालयका प्रधानाध्यापक शेरबहादुर श्रेष्ठले बताए । विद्यालयमा प्रविधिको प्रयोग गर्दै पठनपाठन हुन थालेपछि विद्यार्थी अध्ययनमा उत्साहित देखिएका हुन् । प्रविधिको अधिकतम् प्रयोग गर्दै पठनपाठन शुरू गरेसँगै विद्यालयमा अध्ययन गर्न निजी विद्यालय त्यागेर आउने विद्यार्थी धेरै छन् । 

सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर खस्किएको आरोप झेलिरहेका कतिपय सामुदायिक विद्यालयका लागि यो विद्यालय प्रेरणादायी विद्यालयका रूपमा परिचित छ । यो विद्यालयको शैक्षिक गुणस्तरका विषयमा जानकारी लिन देशका विभिन्न विद्यालयबाट अवलोकनका लागि समेत आउने गरेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्