
प्रभास स्टारर भारतीय फिल्म ‘आदिपुरुष’का पटकथा लेखक तथा गीतकार मनोज मुन्तशिरले नेपालको राष्ट्रियता र सीताको जन्मलाई लिएर दिएको धारणाप्रति नेपाली फिल्मकर्मीले आक्रोश व्यक्त गरेका छन् ।
भारतीय टेलिभिजन आजतकसँगको अन्तर्वार्तामा उनले जानकी भारतकै छोरी हुन् भनेर दाबी गरेका छन् । त्यस्तै, उनले उनले सन् १९०३ अघि नेपाल भारतकै अंश रहेको बताएका छन् ।
उक्त अन्तर्वार्तामा लेखकको कुरा सुनेपछि अभिनेता एवं निर्माता दीपकराज गिरीले फेसबुकमा लेखेका छन् ‘लेखकले आधी ज्ञान लिएर आदिपुरुष बनाएछन् ! नेपाल १९०३ मा भारतसँग अलग भएको भन्ने उनको पछिल्लो अभिव्यक्ति झनै निन्दनीय छ ।’
निर्माता एवं निर्देशक सन्तोष सेनले फिल्मलाई बहिष्कार गर्नुपर्ने फेसबुकमार्फत धारणा राखेका छन् । ‘आदिपुरुष लेखकले १९०३ मा नेपाल भारतसँग अलग भएको मूर्ख अभिव्यक्ति दिएको मा खेद् छ’ सेनले लेखेका छन् ‘यिनीहरुको फिल्मलाई बहिष्कार गरौँ ।’
यस्तै, लेखक एवं निर्देशक दीपेन्द्र के.खनालले फिल्मलाई नेपालमा बहिष्कार गर्नुपर्ने धारणा राखेका छन् । ‘सबै नेपालीले चलचित्र आदिपुरुष बहिष्कार गरौँ’ उनले फेसकुकमा लेखेका छन् ।
चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले फिल्मका लेखको अभिव्यक्ति नसच्चिएसम्म हिन्दी फिल्मलाई बहिष्कार गर्न भनेका छन् ।
आजतकसँगको अन्तर्वार्तामा लेखक मुन्तशिरले नेपालमा भइरहको विरोधलाई आफूले बुझ्न नसकेको समेत बताएका छन् ।
भारतबाट नेपाल अलग नहुँदैको कहानी भएकाले सीता भारतकै छोरी रहेको उनले उक्त अन्तवार्तामा तर्क गरेका छन् ।
‘जुनबेलाको कहानी हो, त्यसबेला भारतको अंश हुने गथ्र्याे नेपाल । हामी सीतालाई भारतकी छोरी भनिरहेका छौँ भने भारतबाट नेपाल कहाँ अलग थियो र ? नेपाल त सन् १९०३ या ४ मा भारतबाट अलग भएको थियो’ उनले भनेका छन् –‘भारत नै थियो नेपाल । र, यो हिसाबले भारतकै छोरी थिइन् सीता । नेपाल त हाम्रो भाइ हो । हामी नै हौं । म नेपाललाई भारतभन्दा अलग मान्दै मान्दिनँ ।’
फिल्मको संवादको विषयमा नेपालले आफूसँग कुरा गरेको खण्डमा जानकी भारतकै छोरी हुन् भनेर सम्झाउन सक्ने समेत उनले बताएका छन् । राष्ट्रको रुपमा नेपाल र भारत अहिले पनि अलग नरहेको लेखक मुन्ताशिरको तर्क थियो ।
उनको उक्त तर्कलाई लिएर आइतवार संसदमा समेत प्रश्न उठेको छ ।