२९ जेठ २०८३, शुक्रबार
विपत्तिको घडी

वर्षा शुरू नहुँदै बजेको खतराको घण्टी

असार ४, २०८०
काठमाडौं
वर्षा शुरू नहुँदै बजेको खतराको घण्टी

वर्षायाम शुरू नहुँदै असार २ गते शनिवार मध्यरातमा आएको बाढीका कारण पूर्वी पहाडी जिल्लामा धनजनको ठूलो क्षति पुगेको छ ।

ताप्लेजुङ, पाँचथर र संखुवासभा जिल्ला बाढीका कारण बढी प्रभावित भएका छन् ।

मध्यरातमा आएको बाढीका कारण ४ जनाको मृत्यु भइसकेको छ भने ३० जना जति बेपत्ता छन् । बेपत्ता हुनेमा अधिकांश निर्माणाधीन जलविद्युत् आयोजनामा काम गर्ने श्रमिकहरू छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले संसदमा गराएको जानकारीअनुसार बाढीले पुल भत्काएपछि ताप्लेजुङ जिल्ला सडक सञ्जालबाट विच्छेद भएको छ ।

बाढीका कारण भएको आर्थिक क्षतिको यकिन तथ्यांक अझै आइसकेको छैन । सुपर हेवाखोला जलविद्युत् आयोजनाका संरचना बाढीले बगाएको छ । सर्वसाधारणका कयौं घर पनि बाढीको चपेटामा परेका छन् ।

पछिल्ला वर्षमा आएको यस प्रकारको बाढीले धनजनको ठूलो क्षति पुर्‍याएको छ । दुई वर्षअगाडि आएको यस्तै प्रकृतिको बाढीले मेलम्ची जलविद्युत् आयोजना र त्यस आसपासका बस्तीमा ठूलो क्षति पुर्‍याएको थियो । कतै लामो समयको खडेरी र कतै अतिवृष्टिले यस्तो प्राकृतिक प्रकोप निम्त्याएको छ । 

खडेरी या अतिवृष्टि हामीले नियन्त्रण गर्न सक्ने विषय होइनन्, तर यसबाट हुन सक्ने क्षति न्यूनीकरण गर्न सकिन्छ । मेलम्ची या पूर्वी नेपालका जिल्लामा आएको बाढीले ठूलो क्षति पुर्‍याएको छ ।

मेलम्चीमा दुई वर्षअघि आएको विनाशकारी विपत्तिको मूल कारण पहिरो भए पनि पूर्वी नेपालमा बाढीले ठूलो क्षति पुर्‍याउनुमा डाँडाकाँडामा चलाइएको अनियन्त्रित डोजर प्रमुख कारणको रूपमा रहेको छ ।

सरकारी बजेट सक्नका लागि मात्र विना इन्जिनीयरिङ सडक निर्माणको नाममा गाउँका डाँडामा जथाभावी डोजर चलाइएको छ ।

हिउँदमा खनेर फालिएको माटो नै वर्षा याममा हिलो बनेर बाढीमा मिसिने गरेको छ । यो रोग देशैभरी चलिरहेको छ ।

इन्जिनीयरिङ नगरिएका सडकका कारण दुर्घटनाको जोखिम पनि उत्तिकै बढेको  छ । 

वर्षा शुरू नहुँदै आएको बाढीले यो वर्ष पनि प्राकृतिक प्रकोप निम्तिने खतराको घण्टी बजिसकेको छ ।

मध्यवर्षामा हुन सक्ने प्राकृतिक प्रकोपको क्षति कम गर्नका लागि सरकारले अहिले नै योजना बनाउन जरुरी छ ।

जोखिमयुक्त क्षेत्रमा राहत र उद्धारका लागि सरकारी संयन्त्र तयारी अवस्थामा रहनुपर्छ ।

salt training

कमेन्ट गर्नुहोस्