
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले ८ जना अग्रज लोक स्रष्टालाई ‘सम्मानार्थ सदस्यता’ प्रदान गरेको छ ।
सोमवार गुरु पूर्णिमाको अवसर पारेर राजधानीको गंगबुमा आयोजित समारोहकाबीच अग्रज लोक स्रष्टा कुमार बस्नेत, नन्दकृष्ण जोशी, प्रेमदेव गिरी, शम्भु राई, प्रेमराजा महत, कृष्ण गन्धर्व, रामप्रसाद खनाल र हरिदेवी कोइरालालाई सम्मानार्थ सदस्यता प्रदान गरिएको हो ।
समारोहमा साङ्गीतिक माहोलकाबीच ‘सम्मानार्थ सदस्य’हरुलाई स्वागत एवं सम्मान गरियो ।
गायक रामप्रसाद खनाल अमेरिकामा रहेका कारण र हरिदेवी कोइराला प्रतिकूल मौसमका कारण पोखराबाट काठमाडौं आएर समारोहमा सहभागी हुन नसकेको जानकारी गराइयो ।

अन्य ६ जना लोक स्रष्टालाई स्वागत गर्दै सम्मानमा उनीहरूका गीत अन्य गायक–गायिकाबाट प्रस्तुत गरिएको थियो ।
कुमार बस्नेतको गीत रामजी खाँडले प्रस्तुत गरे । प्रेमराजा महतको गीत पशुपति शर्मा र शिरीष देवकोटाले गाए । नन्दकृष्ण जोशीको गीत राधिका हमालले, कृष्ण गन्धर्वको गीत पूर्णकला बिसी र रेशम निर्दोशले, प्रेमदेव गिरीको गीत कृष्ण रेउलले र शम्भु राईको गीत रमेशराज भट्टराईले प्रस्तुत गरे । सम्मानार्थ सदस्यहरूले पनि आफ्ना चर्चित गीतहरू लाइभ बाजामा प्रस्तुत गरेका थिए ।

सम्मानार्थ सदस्यता पाउने अग्रज स्रष्टाहरूले प्रतिष्ठानको सदस्य बन्न पाउँदा खुशी लागेको बताए । उनीहरूले दोहोरीगीत प्रतिष्ठानलाई लोक संगीत क्षेत्रको ठूलो संस्थाको रुपमा हेरेको भन्दै संस्थाले गरेका कामको समेत प्रशंसा समेत गरे ।
प्रतिष्ठानका संस्थापक अध्यक्ष अम्बर विरही गुरुङले ‘सम्मानार्थ सदस्य’हरुलाई प्रतिष्ठानले साङ्गीतिक गुरुका रुपमा सम्मान गर्ने बताए ।
प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरले अग्रजहरूको मेहनतले यहाँसम्म ल्याएको संस्थालाई थप व्यवस्थित बनाउन आफूहरूको पुस्ताले काम गर्ने बताइन् ।

समारोहमा प्रतिष्ठान केन्द्रीय कार्यसमितिका पदाधिकारी, संस्थागत एवं पूर्व अध्यक्ष तथा सल्लाहकारसहितको उपस्थिति थियो ।
दोहोरीगीत प्रतिष्ठानले गायक बमबहादुर कार्कीलाई समेत सम्मानार्थ सदस्यता प्रदान गर्ने निर्णय गरेको थियो । यद्यपि उनले आफू नयाँ संस्थाको काममा लागेकोले प्रतिष्ठानको उक्त सम्मानार्थ सदस्यता अहिले नलिने जानकारी गराएका थिए ।


