१५ असार २०८३, सोमबार

उच्च ओहोदाका व्यक्तिको उपचार स्वदेशमा गर्ने व्यवस्था मिलाउन पहल गर्छु : स्वास्थ्यमन्त्री बस्नेत

असार २५, २०८०
काठमाडौं
उच्च ओहोदाका व्यक्तिको उपचार स्वदेशमा गर्ने व्यवस्था मिलाउन पहल गर्छु : स्वास्थ्यमन्त्री बस्नेत
फाइल फोटो

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले उच्च ओहोदाका व्यक्तिको उपचार स्वदेशमा नै गर्ने व्यवस्था मिलाउन पहल गर्ने बताएका छन् ।

मन्त्रालयमा सोमवार आयोजित पत्रकार सम्मेलनमा उनले उच्च ओहोदाका व्यक्तिलाई आफ्नो उपचार स्वदेशमा गर्न अनुरोध गर्ने बताए । उनले उच्च ओहोदाका व्यक्तिको उपचार विज्ञ चिकित्सकबाट गराउन मन्त्रालयले प्राविधिक व्यवस्था मिलाउने समेत बताए । उनले विशिष्टीकृत व्यक्तिको उपचार स्वदेशमा गर्दा सरकारी ढुकुटी पनि जोगिने र चिकित्सकमाथि विश्वास पनि हुने भनाइ राखे ।

उनले पैसा हुनेले बाहिर गएर उपचार गर्ने, नहुनेले नगर्ने खाडल पनि पुरिन आवश्यक रहेको बताए । ‘यहाँ राम्रा विशेषज्ञ सेवा दिने चिकित्सकहरू धेरै हुनुहुन्छ । राम्रा चिकित्सक छायाँमा पर्नुभएको छ,’ उनले भने, ‘राष्ट्रको ढुकुटी पनि बर्बाद नहोस् । पैसा हुनेले सामान्य रोगका लागि पनि उपचार गर्नका लागि बाहिर गएर उपचार गर्न जान नपरोस् भन्नका लागि स्वदेशमा नै उपचारको व्यवस्था मिलाउने छौं ।’ 

उनले कुनै शीर्ष नेतालाई केही उपचारमा गर्नुपरे विशेषज्ञ सेवा सहितको चिकित्सकको समूह रोग पहिचान गर्ने र उक्त रोगका उपचार स्वदेशमा गर्न सकिन्छ/सकिँदैन भन्ने निक्र्यौल गर्ने समेत बताए । ‘चिकित्सकको समूहले के रोग हो भन्ने थाहा पाइसकेपछि रोगको उपचार यही हुन्छ भने स्वदेशमै उपचार गर्ने व्यवस्था गरिनेछ,’ उनले भने, ‘जनुसुकै नेता तथा उच्च ओहोदाका व्यक्ति बिरामी पर्नुभयो भने हामी पनि सम्पर्क गर्छौं ।’

उनले नेता बिरामी पर्ने बित्तिकै एयर एम्बुलेन्स नै लिएर जाने प्रचलन रहेको भनाइ राखे । मन्त्री बस्नेतले आफू आइसकेपछि १६ वटा केन्द्रीय अस्पतालका ३ हजार ५२३ सामान्य शय्या विपन्नका लागि निःशुल्क गरिएको जानकारी गराए । उनले कुनै पनि नेपालीले पैसाको अभावमा उपचारबाट वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यका साथ आफूले वीर अस्पतालका ७०० शय्या विपन्नका लागि निःशुल्क गराएको बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्