
शिक्षा राज्यमन्त्री प्रमिला कुमारीले आफूसँग भएका ज्ञान र सीप स्वदेश कै उन्नतिका लागि प्रयोग गर्न अनुरोध गरेकी छिन् ।
पछिल्लो समय युवा पलायनको दर बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्दै उनले नेपालमा भएका अवसरहरूको पहिचान गर्न र मुलुक प्रति योगदान गर्न युवा पुस्तासँग आग्रह गरिन् ।
पाटन कलेज फर प्रोफेसनल स्टडीजको दीक्षान्त समारोहलाई बिहीवार सम्बोधन गर्दै राज्यमन्त्री कुमारीले सरकार रोजगारीको अवसर सिर्जना गर्न दत्तचित्त भएर लागि परेको भन्दै यसमा हातेमालो गर्न पनि आग्रह गरिन् ।
लर्ड बुद्ध एजुकेशन फाउण्डेशन अन्तरगतको पाटन कलेज फर प्रोफेसनल स्टडीजले हरेक प्रदेशबाट छानिएर आउने विद्यार्थीहरूलाई छात्रवृत्ति दिँदै आएको छ ।
दीक्षान्त समारोहमा बोल्दै नेपाल ब्रिटेन चेम्बर्स अफ कमर्सका अध्यक्ष राजेन्द्र खेतानले आफ्नो शिक्षाले देशमा कसरी परिवर्तन ल्याउन सकिन्छ भन्ने जिम्मेवारी बोध गर्न आग्रह गरे।
क्याम्पसका अध्यक्ष पंकज जलानले सरकार तथा निजी शैक्षिक संस्थाले देशको शैक्षिक क्षेत्रको विकासका लागि सहकार्य गर्नुपर्ने बताए ।
समारोहमा क्याम्पसका बीएससी कम्प्युटर साइन्स एण्ड साफ्टवेयर इन्जिनियरिङ र बीबीए अध्ययन गरेका ६८ विद्यार्थी दीक्षित भएका थिए ।