
अभिनेता सरोज खनालको निर्देशन रहेको फिल्म ‘बगान’ शुक्रवारबाट प्रदर्शनमा आएको छ ।
एकल महिलाको कथामा निर्माण भएको यो पारिवारिक फिल्ममा सरोजसँगै करिश्मा मानन्धर, प्रमिला कार्की, आकाश श्रेष्ठ, नीर शाह, बसुन्धारा भुषाल, मिथिला शर्मालगायतको अभिनय छ ।
अभिनयमा अब्बल मानिने अभिनेता खनालको पहिलो निर्देशकीय फिल्म भएकाले ‘बगान’प्रति ठूलो अपेक्षा राखिएको छ ।
योसँगै हयाहाङ राई स्टारर यसअघि रिलिज भइसकेको फिल्म ‘बिहे पास’ पनि शुक्रवारबाट पुनः प्रदर्शनमा आएको छ ।
प्रवेश पौडेल निर्देशित यो फिल्म यसअघि गत वैशाख १ गते प्रदर्शनमा आएको थियो । त्यसबेला ‘जारी’ फिल्मको चेपुवामा परेर अपेक्षित व्यापार गर्न नसकेको फिल्मलाई हल सञ्चालकको आग्रहका कारण पुनः प्रदर्शन गरेको निर्माताले बताएका छन् ।
फिल्ममा दयाहाङसँगै प्रकृति श्रेष्ठ, शिशिर वाङ्देल, बुद्धि तामाङ, रवीन्द्र झा लगायतको अभिनय छ ।
शुक्रवारबाट विदेशी फिल्महरू ‘मिसन इम्पोसिबल ७’ र ‘रेसिडेन्ट एभिल : डेथ आइसल्याण्ड’ पनि प्रदर्शनमा आएका छन् ।