
शुक्रवारबाट एकल महिलाको कथामा निर्माण भएको फिल्म ‘बगान’ प्रदर्शनमा आएको छ ।
प्रदर्शनको पहिलो दिन अभिनेत्री करिश्मा मानन्धर, अभिनेता एवं निर्देशक सरोज खनाल, नव अभिनेत्री प्रमिला कार्की लगायतले राजधानीका विभिन्न हलमा पुगेर दर्शक प्रतिक्रिया लिएका छन् ।
भक्तपुरको भाटभटेनीस्थित हलमा पुगेका कलाकारमाझ फिल्म हेरेर निस्किएका एकल महिलालगायतका दर्शकहरू भावुक देखिए ।
अभिनेत्री करिश्मालाई अंगालो हालेर केही एकल महिलाहरू धुरुधुरु रोएको दृश्य समेत हलमा देखियो ।
‘हाम्रो भावनालाई बुझेर, हामीभित्रै पसेर हाम्रा पीडाहरु ओकलिदिनु भएको छ । त्यसमा म एकदमै खुशी छु’ गहभरी आँसु बनाएकी एक महिलाले करिश्मालाई अंगालो हाल्दै भनिन् ।

अर्की महिलाले फिल्मको पात्रमा आफूलाई पाउन पुगेको बताउँदै एकदमै भावुक बनाएको बताइन् । त्यहाँ पुगेका सञ्चारकर्मीसँग कुुरा गर्दै महिलाहरूले आफ्नै भोगाइ फिल्ममा पाएकोले मनलाई थाम्न नसक्दा आँसु बगेको प्रतिक्रिया दिए ।
स्वप्निल निरवको कथा रहेको फिल्मले एकल आमा र छोरीको संघर्षको कथा वाचन गर्छ । एकल आमाको नयाँ जीवन सुरुवातका लागि छोरीले गरेको संघर्षलाई फिल्ममा देखाइएको छ । नीर शाह, बसुन्धारा भुसाल, मिथिला शर्मा, आकाश श्रेष्ठलगायतका कलाकारहरूको समेत फिल्ममा अभिनय छ ।
फिल्मका निर्माता सुरेश वाग्ले हुन् ।