
पशुपतिनाथ मन्दिरमा साउने सोमवारको पूजाआजा गर्न आएका दर्शनार्थीका लागि बिहान ३ बजेदेखि नै चारै ढोका खुला गरेर भक्तजनलाई दर्शन गराइँदैछ ।
दर्शनार्थीका लागि सुरक्षा, स्वयंसेवक परिचालन, दर्शन व्यवस्थापन, स्वास्थ्य शिविर, खानेपानी लगायत व्यवस्थापन गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
सौरमास अनुसार साउनको पहिलो सोमवार साउन १ गते परेको छ । साउनको सोमवार पशुपति क्षेत्रमा लाखौं भक्तजन आउने गरेका कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशंकर पराजुलीले जानकारी दिए ।
जुन ढोकाबाट दर्शनार्थी प्रवेश गर्छन्, सोही ढोकाबाट निस्कने गरी व्यवस्था मिलाइएको पनि उनले सुनाए । प्रहरी वृत्त गौशालाको नेतृत्वमा जनपद र सशस्त्र प्रहरीले पशुपति क्षेत्रमा सुरक्षा दिने भएका छन् । महाशिवरात्रि र तीजको जस्तै गरी सुरक्षा लगायत व्यवस्थापन गरिएको कोषले जनाएको छ ।
साउने सोमवार ७ हजार ५०० भन्दा कमको विशेष पूजा नगराइने पनि महाशाखा प्रमुख पराजुलीले बताए । यसैगरी वासुकीनाथको मन्दिरमा ३ हजार १०० भन्दा कमको विशेष पूजा गराइने छैन । १८१ देखि २५१ जनासम्मले विशेष पूजा गर्ने गरी व्यवस्था मिलाइएको छ । त्यसभन्दा बढीलाई सोमवार पूजा गराउन नसकिने कोषले जनाएको छ ।
साउने सोमवारका अवसरमा स्काउट र स्थानीय क्लबले पनि स्वयंसेवक खटाउने तयारी गरेका छन् । साउनको सोमवार पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लाग्ने गर्छ । साउन महिना र सोमवार भगवान् शिवजीको महिना र बार भएकाले पनि यस अवसरमा धेरै भक्तजनको भीड लाग्ने जनाइएको छ ।