१५ असार २०८३, सोमबार

‘बिताउँ जुनी हाँसेर माया गाँसेर’

साउन २, २०८०
कास्की
‘बिताउँ जुनी हाँसेर माया गाँसेर’

‘आए म त खैजरीको तालै सुनेर 
दिए मन तिमीलाई नै हजारौंमा चुनेर ।
जिन्दगी त दुई दिनको पाहुना हो 
बिताउँ जुनी हाँसेर माया गाँसेर ।।’

गायक नवराज थापा, राजकुमार बगर र प्रसाद थापाको स्वरमा रहेको यो कौराहा (कौडा) गीत निकै चर्चामा छ । यो गीतभन्दा अघि र पछि पनि कौराहा गीत र नृत्य निकै चर्चामा रह्यो ।

आधुनिकतामा गीत चर्चामा रहे पनि मौलिक शैलीको कौराहा संस्कृति लोप हुने हो कि भन्ने चिन्ता छ, मगर समुदायलाई । 

यही चिन्तालाई मध्यनजर गर्दै पछिल्लो समय मौलिक कौराहा संस्कृति जोगाउन तल्लिन छन् मगर समुदाय । केटाले गीत गाएर खैजरी र मुजुरा बजाउँदै केटीलाई नचाउने कौराहा नृत्य नेपालमा मगर समुदायको परम्परा लोकप्रिय नाच हो । सोही परम्परा जोगाउन पछिल्लो समय मगर युवायुवती नै लागिपरेका छन् ।

नेपाल मगर संघ कास्की कदममार्ग चाउथे एकाइ समितिका युवायुवती मगर समुदायले आयोजना गर्ने हरेक कार्यक्रममा पुगिहाल्छन् । मगर पोशाकमा सजिएका उनीहरू खैजरी र मुजुराको तालमा कम्मर मर्काउन शुरू गरिहाल्छन् ।

कदममार्ग चाउथे एकाइ समितिका कलाकार सीमा रानामगर आफ्नो संस्कृति हराउने हो कि भन्ने चिन्ताले केही समयअघि सिकेर नाच्दै हिँडेको बताउँछिन् । ‘मैले सिकेको ५–६ महिना भयो । हामीले नसिके हाम्रो संस्कृति नै हराउने हो कि भन्ने चिन्ता थियो,’ सीमाले भनिन्, ‘यूट्युबमा आएको गीतमा त पहिला पनि नाचेको थिएँ तर खैजरी र मुजुरा बजाएर प्रत्यक्ष नाच्नु हाम्रो परम्परा रहेछ । अहिले बल्ल थाहा भयो ।’

समूहमा अहिले १० जनाले नृत्य गर्ने गरेको उनले सुनाइन् । ‘हामी अहिले १० जना छौं । हामीले केही भए पनि जानिसकेका छौं,’ सीमाले भनिन्, ‘हामीले जानेपछि पछि आउने पुस्तालाई पनि सिकाउन सजिलो हुन्छ ।’

सोही समूहमा खैजरी बजाउने अनि गीत गाउने क्याप्टेन ताराबहादुर रानामगरले लोप हुन थालेका कौराहा संस्कृति बचाउन सफल भएको बताउँछन् । ‘केही समयअघि त संस्कृति लोप नै हुने हो कि भन्ने साह्रै चिन्ता थियो,’ ताराबहादुरले भने, ‘पछि हामीले नै हाम्रो संस्कृति जोगाउनुपर्छ भनेर लागेपछि युवायुवतीले पनि रुचि राखेर सिके । अब चाहिँ बचाउन सकिन्छ भन्ने लागेको छ ।’

कदममार्ग एकाइले जस्तै देशभरका नेपाल मगर संघ अन्तर्गतका अरु समाजले पनि मौलिक कौराहा नाच्ने गरेको उनले बताए । ‘पोखरामा अगल–अगल जिल्लाका मगर समुदायका मानिसको बसोबास छ । त्यसैले चुनौती पनि थियो । तर हामीले आँट्यौं,’ उनले भने, ‘बूढापाका अनि नानीबाबुलाई बोलाएर सिक्यौं अहिले त सजिलो भएको छ । हामीले जस्तै अरु समाजले पनि सिक्दै हुनुहुन्छ ।’

पुरानो घर तनहुँ बताउने ताराबहादुरले गाउँघरको जस्तै कौराहा जोगाउन सकेकामा खुशी व्यक्त गरे । तनहुँतिरको मौलिक कौराहाको गीत उनले यसरी सम्झिए –

‘खैजरी के को छालाको
नानी त रैछ बाजेको पालाको ।
पछ्यौरीको छेवै भिज्यो तिम्ले माया मार्दा
यो नानीको मायाले गर्दा ।।’

राष्ट्रिय मौलिक कौराहा संरक्षणका लागि समिति नै गठन गरेर काम गरिरहेको राष्ट्रिय मौलिक कौराहा संरक्षण नेपालका अध्यक्ष हर्क आलेमगरले बताए । विक्रम संवत् २०७३ सालमा स्थापना भएको समितिले सोही वर्ष मौलिक कौराहाको राष्ट्रिय सम्मेलन गरेको उनले जानकारी दिए ।

‘स्थापनापछि हामीले दमौलीमा राष्ट्रिय सम्मेलन गर्‍यौं । त्यहाँ कौराहाको पृष्ठभूमिसहित परिभाषामाथि चर्चा भयो,’ अध्यक्ष आलेमगरले भने, ‘पृष्ठभूमिको दस्तावेजीकरणका लागि हामीले दमौली घोषणापत्र जारी गर्‍यौं ।’
 
दमौली घोषणापत्र जारी भएपछि समूह निर्माण गरी संरक्षणका लागि विभिन्न जिल्लामा पुगेको उनले सुनाए । ‘यसको विकृति बढिरहेकाले मौलिकता जोगाउनुपर्छ भनेर समूह निर्माण विभिन्न जिल्लामा पुग्यौं,’ उनले भने, ‘जसले जस्तो किसिमले नाच्ने गाउने गरे पनि पहिला यसरी नाचिन्थ्यो भनेर मौलिकता देखाउन खोजिएको छ ।’

पत्रकारिताका माध्यमबाट मौलिक कौराहा संरक्षणका लागि ‘राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार’को स्थापना गरेको पनि उनले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्