
चलचित्र विकास बोर्डले गत आर्थिक वर्ष २०७९/८० मा प्रदर्शनमा आएका फिल्महरूको ग्रस कलेक्सन रिपोर्ट सार्वजनिक गरेको छ ।
बोर्डले ५७ स्वदेशी र ७८ विदेशी गरी जम्मा १३५ वटा फिल्मको बक्स अफिस कमाई रिपोर्ट बिहीवार सार्वजनिक गरेको हो ।
सार्वजनिक विवरणमा कमाइसँगै टिकट बिक्री संख्या समेत उल्लेख गरिएको छ ।
स्वदेशी फिल्मतर्फ २७ लाख १६ हजार २ सय १७ थान टिकट बिक्री हुँदा छहत्तर करोड बहत्तर लाख सन्ताउन्न हजार एक रूपैयाँ ग्रस व्यापार भएको छ ।
त्यस्तै, विदेशी फिल्मतर्फ २५ लाख ८५ हजार ६ सय २ थान टिकट बिक्री हुँदा उनासी करोड त्रिचालीस लाख चार हजार सात सय अठचालीस रूपैयाँ सत्तरी पैसा ग्रस व्यापार भएको छ ।
स्वदेशी फिल्मतर्फ सर्वाधिक कमाई गर्ने फिल्ममा ‘छक्का पञ्जा ४’ छ । यो फिल्मले १७ करोड ५२ लाख रूपैयाँ ग्रस कलेक्सन गरेको बोर्डको विवरणमा उल्लेख छ । त्यस्तै, १७ करोड १७ लाख ग्रससहित ‘जारी’ दोस्रो र ‘प्रेमगीत ३’ (नेपाली भर्सन) ७ करोड ७० लाख ग्रससहित तेस्रो स्थानमा छ ।
विदेशी फिल्मतर्फ ‘पठान’ १३ करोड ग्रससहित पहिलो, ‘अवतार’ ८ करोड ग्रससहित दोस्रो र ‘ब्रम्हास्त्र’ ४ करोड ग्रस कमाइसहित तेस्रो स्थानमा छ ।
बोर्डले सार्वजनिक गरेको विवरणमा ‘शिवानी’नामक नेपाली फिल्मको ५ वटामात्र टिकट बिक्री भएको उल्लेख छ । उक्त फिल्मले जम्मा ५ सय २० रूपैयाँ मात्र ग्रस कलेक्सन गरेको छ ।