
विराटनगर महानगरपालिकाले छात्रवृत्तिको विवरण पेश गर्न विद्यालयहरूलाई २४ घण्टे अल्टिमेटम दिएको छ ।
विराटनगर महानगरपालिकाको संस्थागत छात्रवृत्ति व्यवस्थापन समितिको आइतवार बसेको बैठकले सोमवार कार्यालय समयभित्र छात्रवृत्तिको विवरण पेश नगर्ने विद्यालयमाथि कानूनी कारबाही अगाडि बढाउने निर्णय गरेको छ ।
यसअघि संस्थागत विद्यालयसामु महानगर निरीह बनिरहेको थियो । ‘विराटनगरका अधिकांश निजी विद्यालयले बुझाउँदैनन् छात्रवृत्ति विवरण, महानगर निरीह’ शीर्षकमा लोकान्तरले समाचार प्रकाशन गरेपछि महानगरको चौतर्फी विरोध भएको थियो ।
साउन ३ गते लोकान्तरले समाचार प्रकाशन गरेको थियो । त्यसको हप्तादिन नबित्दै महानगरले चासो देखाएको हो ।
आइतवार महानगरका मेयर नागेश कोइरालाको अध्यक्षतामा बसेको बैठकले शैक्षिक सत्र २०७९ को बाल विकास कक्षादेखि १२ कक्षासम्म र शैक्षिक सत्र २०८० को बालविकासदेखि १० कक्षासम्म अध्ययन गर्ने विद्यार्थीहरूका लागि उपलब्ध गराएको छात्रवृत्ति वितरणको विवरण हालसम्म पेश नगर्ने विद्यालयमाथि कारबाही अगाडि बढाउने निर्णय गरेको छ ।
विवरण पेश नगर्ने विद्यालयको नाम महानगरको वेबसाइटमार्फत सार्वजनिक गर्ने महानगरले जनाएको छ । ‘सोमवार ५ बजेसम्म छात्रवृत्तिको सम्पूर्ण विवरण पेश नगरे हामी त्यस्ता विद्यालयमाथि कारबाही प्रक्रिया अगाडि बढाउँछौं,’ मेयर कोइरालाले भने, ‘महानगरले पटक–पटक विवरण उपलब्ध गराउनका लागि ताकेता गर्दा पनि बेवास्ता गरेको पाइएको छ । सोमवारसम्म हेरौं, त्यसपछि महानगर कडा रूपमा प्रस्तुत हुन्छ ।’
एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली (आईईएमआईएस) अनुसार विराटनगर महानगरपालिका क्षेत्रभित्र संस्थागत विद्यालयको संख्या ८९ रहेको छ । आईईएमआईएसमा दर्ता नभएका विद्यालयको संख्या समेत जोड्ने हो भने महानगरभित्र करीब १०० को हाराहारीमा संस्थागत विद्यालयहरू सञ्चालनमा रहेका छन् ।
त्यसमध्ये आइतवार कार्यालय समयभित्र ६५ वटा विद्यालयले शैक्षिक सत्र २०७९ को छात्रवृत्ति वितरणको विवरण पेश गरेका छन् । सोही शैक्षिक सत्रमा २७ वटा विद्यालयले अझै विवरण पेश गरेका छैनन् । २०८० का लागि ५५ वटा विद्यालयले विवरण पेश गरेको शैक्षिक प्रशासन महाशाखाका अधिकृत रमेश खड्काले जानकारी दिए ।
खड्काका अनुसार २०८० का लागि ३७ वटा विद्यालयले विवरण पेश गर्न बाँकी रहेको छ ।
शैक्षिक सत्र २०८० मा ११ कक्षाको छात्रवृत्ति व्यवस्थापन सम्बन्धी परीक्षा महानगर आफैंले लिने तयारी गरेको उपमेयर शिल्पा निराला कार्कीले जानकारी दिइन् ।