१६ असार २०८३, मंगलबार

काभ्रेका अस्पतालमा सामाजिक सुरक्षा कोषमा आबद्धको उपचार सेवा शुरू

साउन ९, २०८०
काभ्रेपलाञ्चोक
काभ्रेका अस्पतालमा सामाजिक सुरक्षा कोषमा आबद्धको उपचार सेवा शुरू
प्रतिकात्मक तस्वीर

काभ्रेपलाञ्चोकको सदरमुकाम धुलिखेलस्थित धुलिखेल अस्पताल र बनेपा नगरमा रहेको शिर मेमोरियल अस्पतालमा सामाजिक सुरक्षा कोषमा आबद्ध भएका नागरिकको उपचार सेवा शुरू गरिएको छ ।

२ अस्पताल र सामाजिक सुरक्षा कोषबीच गत जेठमा छुट्टाछुट्टै द्विपक्षीय सम्झौता भई सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका नागरिकको उपचार सेवा शुरू गर्ने सहमति भएको थियो । 

सम्झौताअनुसार हाल दुवै अस्पतालले सेवा शुरू गरेको जनाएका हुन् । धुलिखेल अस्पतालले भने स्वास्थ्य बीमा गरेका नागरिकको उपचार गर्दै आएको छ ।

धुलिखेल अस्पतालका प्रशासन प्रमुख प्रद्युम्न श्रेष्ठका अनुसार सामाजिक सुरक्षा कोषमा सूचीकृत नागरिक बिरामी भएको अवस्थामा अस्पतालले कोषका तर्फबाट ८० प्रतिशत प्राप्त गर्छ भने व्यक्तिले २० प्रतिशत तिर्नु पर्नेछ । उनले नागरिकलाई थप सहजताका लागि कोष उपयोगी देखिएकाले सेवा शुरू गरिएको बताए ।

सम्झौताअनुसार सूचीकृत भएको व्यक्ति बिरामी हुँदा कोषबाट उपचार खर्चबापत वर्षमा बढीमा १ लाख रुपैयाँसम्म पाउने छ । उपचार बापतको रकम दाबी गर्न कोषमा न्यूनतम ३ महिना योगदान गरेको हुनुपर्ने जनाइएको छ । कोषमा योगदान गरिरहेका श्रमिकले नजिकैको जुनसुकै अस्पतालमा उपचार गराउन सक्ने व्यवस्था गरिएको छ । 

अस्पतालको प्रेस्क्रिप्सन, औषधि तथा उपचार खर्चका सक्कल बिल, सामाजिक सुरक्षा कोषबाट प्राप्त कार्डसहित कोषमा उपलब्ध गराएपछि अस्पतालले वा सोझै अस्पतालको बिलसहित पेश गरेपछि आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।

कोषले उपचार बापतको कूल दाबी रकमको ८० प्रतिशत अस्पताल वा व्यक्तिको बैंक खातामा १ हप्तादेखि १५ दिनभित्र जम्मा गरिदिन्छ । यस्तै कोषमा सूचीकृतले औषधोपचार तथा स्वास्थ्य सुरक्षा दाबीसँगै मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता, आश्रित परिवार तथा उपदानका लागि दाबी गर्न पाइने व्यवस्था छ ।

धुलिखेल र बनेपामा यो सेवा शुरू भएसँगै रकम नभएका नागरिकलाई पनि उपचारमा सहज हुने अपेक्षा गरिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्