
दाइ निकै उम्दा प्रशासक । कडा स्वभावका ‘बडाहाकिम’, कहिले धनकुटा, कहिले नेपालगञ्जमा । दाइ जहाँ–जहाँ गए, साइँलो भाइ दाइको सरुवासँगै पढ्न त्यहीँ पुगे । २०१९ सालमा नेपालगञ्जबाट दाइ मक्करबहादुर बान्तावा बडाहाकिमबाट अञ्चलाधीशमा बढुवा भएर धौलागिरि अञ्चलको सदरमुकाम बाग्लुङ गए । उनै मक्करबहादुरका साइँला भाइ हुन्, प्रतापकुमार बान्तावा ।
सम्वत् १९९९ मंसिर १७ गते भोजपुरको साविक दिल्पा, नागी– १ मा जन्मेका प्रतापले २०२१ सालमा एसएलसी भोजपुर नै फर्किएर पूरा गरे । दाइ प्रशासक । प्रताप २०२४ वैशाख ३१ गते प्रहरी सहायक निरीक्षक (सई) पदबाट प्रहरी सेवामा प्रवेश गरे । पाँच वर्षपछि २०२९ सालमा उनी का.मु. इन्स्पेक्टरमा बढुवा भए । २०३३ सालमा का.मु. इन्सपेक्टरबाट इन्स्पेक्टर (प्रहरी निरिक्षक)को जिम्मेवारी पाए ।
विराटनगर प्रहरी तालिम केन्द्रमा १ सय ५१ जना (एक डफा)को नेतृत्व गरेका थिए, प्रतापले । २०३९ सालको अन्त्यतिर उनको कमान्डमा १ सय ५१ जनासहित रहने गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा जिम्मेवारी आयो । त्यतिबेला प्रहरी महानिरीक्षक (आईजीपी) डीबी लामा थिए ।
२०३९ देखि २०४१ सालसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै रहँदा उनी बढुवा भए । उनी डीएसपी भए । यसबीचमा सुनका कारण उनले निकै सास्ती खेपे । यही घनचक्करमा परेर एसपीबाटै कसरी अवकाश पाए, झन् रोचक कथा सुनाउन उनी उत्साहित नै देखिए । ‘एक क्विन्टल सुन’ कसरी छिर्न सक्छ ? प्रतापको लामै बकपत्र छ । प्रतापले भोगेको सुनको कथा विस्तारमा ः
सुनको कथा
ललितपुरको ढोलाहिटी हाइटमा चाइनिज इँटाले बनेको सामान्य घर छ । राष्ट्रिय/अन्तर्राष्ट्रिय उडानका हवाई जहाजको आवाज चर्को सुनिन्छ । कारण, प्रायः जहाजको अवतरण ललिपुरको भट्टेडाँडा छिचोलेर हुन्छ । यो एक सातामा एक क्विन्टल सुन काण्डका समाचार मसिनो गरी सुने/पढेका छन् उनले । अहिले समाचारहरू पढिरहँदा २०४१ सालमा त्यो बेलाको सबैभन्दा ठूलो परिमाणमा समाएको ७ किलो सुनको सम्झना आउँछ उनलाई ।
बान्तावाले कुरा शुरू गरे, ‘लौ सुन्नुस्, है ! सुन ज–जसले समाउँछ, उसले आफन्तको नाम लेखाएर सुराकी कमिसन खाने चलन रहेछ । त्यो मलाई थाहा थिएन ।’ उनले भन्दै गए ।
‘२०४१ सालको चैतमा हो, गते अलि बिर्सिएँ । दिउँसो साढे १ बजे थाई एयरलाइन्सको विमान आउने तालिका थियो । बिहान १० बजेतिर अफिसमा फोन आयो । आज थाई एयरबाट एक नेपाली र एक भारतीय नागरिकले १४ किलो सुन बोकेर आउँदैछन् । समाउने वा छोड्ने तपाईंहरूको कुरा हो ।’
तपाईंको नाम गोप्य राख्छु, भन्नुस् भन्दा पनि फोन गर्ने सुराकीले नाम भनेनन् । ‘जति गोप्य राख्छु भन्दा पनि नाम भनेन । मलाई आजसम्म त्यो सुराकी को होला भन्ने लागिरहन्छ । अहिलेजस्तो कल डिटेल आउने जमाना थिएन,’ बान्तावा भन्छन्, ‘त्यो फोनपछि प्रहरी सेवामा मैले भोगेका घटनाहरू ताजै छन् नि हौं ।’

उनले भन्दै गए, ‘१ः३० बजे थाई एयर ल्यान्ड भयो । सबै यात्रु झरे । ट्रलीबाट ओर्लेर प्यासेन्जरहरू बाहिर निस्के । ड्युटीमा रहेका सुराकीहरूले मलाई सूचना दिइराखेका थिए । एकजना मंगोलीयन अनुहारको मान्छे मेरो चियोमा पर्यो । ज्याकेट लगाएको छ । असजिलो ढंगले गेट पार गर्यो । म उसको दायाँ–बायाँ गर्दै कता जान्छ भनेर पछि लागें । बाहिर एउटा प्राइभेट गाडीमा चढ्यो । गाडीको नम्बर लेखिसकेको थिएँ । म हतार–हतार गएर गाडी अगाडि उभिएँ । गाडी त स्टार्ट पो गर्यो हौ ।’
‘राति लाइटमा दुम्सीले आँखा जुधाए जसरी एकहोरो मलाई हेरिरह्यो ड्राइभरले । मैले पनि आँखा न झिम्काइ त्यो प्यासेन्जरलाई बाहिर निकाल भनें । मानेन । पेस्तोल झिकेर सुट गरिदिऊँ भनेको बल्ल गाडीको स्टार्ट अफ गर्यो । त्यहीबेला केटाहरूले त्यो प्यासेन्जरलाई गाडीबाट ओरालेर समाए । उसको ज्याकेट छाम्दा त गह्रुँगो छ । त्यो मान्छे त बोल्दै बोल्दैन । ज्याकेटको बाहुला, गोजी बनाएर ७ केजी सुनको बिस्कुट लगाएर आएको रहेछ । तत्कालै प्रहरी हेडक्वार्टर र आईजीपी डीबी लामालाई फोन गरेर जानकारी गराएँ ।’
हेडक्वार्टरबाट एकजना डीएसपी, राजस्वको एकजना प्रतिनिधि आएर सुन जोखे । बान्तावालाई उनीहरूले भनेछन्, ‘कमिसन आउँछ, नाम लेखाउनुस् ।’ बान्तावाले सिपाही, हल्दवार, असईसहित ६ जनाको नाम लेखिदिएछन्, कमिसनका लागि । राजस्व अनुसन्धानको ढुकुटीमा सुन बुझाउन र छानबिन गर्न भनी सुन, मुचुल्का लिएर बान्तावा त्यहाँ पुगेछन् । ‘छानबिन हुन्छ, धन्यवाद! भन्यो हाकिमले’, बान्तावा सम्झन्छन् ।
केही दिनपछि ६ जनाको नाममा ८० हजार रुपैयाँको दरले कमिसन आयो । प्रहरी हेडक्वार्टरकै समन्वयमा त्यसको आधा साँगा प्रहरी कोषबाट सञ्चालित विद्यालयमा दिने निर्णय भयो । आधाको पल्टनले खसी काटेर भोज खाएछन् । त्यसबेला भन्सार प्रमुख हेमराज ज्ञवाली (कान्तिपुर र नागरिक दैनिकका संस्थापक अध्यक्ष) थिए । त्यसको एक साताबाट हल्लीखल्ली शुरू भयो, ‘अब तिमी (बान्तवा)लाई कारवाही हुन्छ भनेर ।’
बान्तावा सम्झन्छन्– ‘दलालले त हल्ला गर्ने नै भए । भरिया, ड्राइभरले समेत अब कारवाही हुन्छ, कर्मचारी, पुलिस मिलेर ७ किलो सुन खाए भनेर भन्न थाले । पत्र–पत्रिकामा पनि त्यही खालको समाचार आउन थाल्यो । ७ किलो सुन समायो भनेर पत्र–पत्रिकाले लेख्न थाले, मेरो फोटो समेत छापे । केही दिनपछि अब कारवाही हुन्छ भनेर हल्लासँगै समाचार लेख्न थाले । छानबिन गर्छु भनेको कता गए । त्यो पक्राउ परेको व्यक्तिलाई कता छाडे केही भएन ।’
सुनको कथा झन् गहिरिँदै गयो ।
राजदरबारका सचिव थिए, ऋषिकुमार पाण्डे । दरबारबाट साँझ फोन आयो बान्तावालाई ।
‘म ऋषिकुमार पाण्डे राजदरबारबाट सचिव बोलेको । भोलि बिहान मेरो निवास क्षेत्रपाटीमा आउनू ।’
‘बिहानै उठेर सोध्दै ऋषिकुमारको घरको गेटमा पुगेँ । गेटको सुरक्षा गार्डमार्फत म आएको जानकारी गराएँ ।’
तल भुइँ तलाको कुर्सीमा बसाल्यो गेटको पालेले । ऋषिकुमार शाही शैलीमा आए । प्रताप बान्तावाले उठेर सलाम गरे । ऋषिकुमारले टाउको हल्लाउँदै सोधे–
‘तिम्रो नाम के हो ?’
‘प्रतापकुमार बान्तावा ।’
‘कहाँ छौ अहिले ?’
‘एयरपोर्ट ।’
‘के छ हाल खबर ?’
‘ठीक छ सर । तस्करी गर्नेले गरिराछन्, नगर्नेले गरेका छैनन् । टिक्न गाह्रो भयो ।’
‘उम.. राम्रो गर्नू ।’
ऋषिकुमारले एक छिन घोरिएर अर्को प्रस्ताव राखे ।
‘मेरो यो दरबार बुवा–आमाले बनाइदिनुभएको हो । मलाई ठूलो भयो । तिमीले बेचिदिनुपर्यो ।’
‘म जस्तो तल्लो तहको एउटा प्रहरीले यत्रो ठूलो दरबार कसलाई किन्दे भन्नु हजुर ? बिन्ती छ, म सक्दिनँ ।’
ऋषिकुमारले अलिक जंगिएर भने, ‘किन्ने मान्छे जति पनि पाइन्छन्, तिम्रो त लाहुरेहरूसँग राम्रो सम्बन्ध छ । यस्ता दरबार त १० वटा किन्न सक्ने मान्छे पाउँछौ ।’
‘किन्नेले किन्दा हुन्, मैले कसरी सम्पर्क राख्ने हजुर ।’
संवाद सकियो । उठ्ने बेला ऋषिकुमारले अनुहारमा आँखा जुधाएर आदेश दिए, ‘सिगरेट र ह्विस्की पठाउनु ।’
त्यस्तै साढे ९ बजेको हुँदो हो, बाटोमा अचम्मको अनुभूति संगाल्दै प्रताप एयरपोर्ट ड्युटीमा आए । केही दिनपछि एक कार्टुन सिगरेट र एक बोत्तल ह्विस्की पठाइदिए, ऋषिकुमारलाई । एक हप्तापछि फेरि बोलावट भयो । बिहानै क्षेत्रपाटी पुगे उनी । सेतो कुर्था र पाइजामामा तल ओर्लिए, ऋषिकुमार । ठाडो शैलीमा सोधे, ‘एयरपोर्टबाट डलर पास गराउने र सुन भित्र्याउने धन्दा खुब चलेको छ रे नि ? मलाई खबर आइराछ ।’
बान्तावाले जवाफमा भने, ‘खै हजुर, मेरो बुद्धिले भ्याएसम्म रोकेको छु । तर, चोरी गर्नेको हजार दाउ हुन्छन् ।’
‘हेर्ने, चेकजाँच गर्ने काम लुज गरिएको भन्ने छ । भरत गुरुङसँग सम्बन्ध कस्तो छ ?’
‘उहाँ (भरत गुरुङ) धीरेन्द्र सरकारको एडीसी, म सुरक्षा हेर्ने पुलिस भएँ हजुर । भीआईपीहरू आउँदा धीरेन्द्र सरकार देश/विदेश सवार हुँदा एडीसीसँग देखादेख हुन्छ, हजुर ।’
‘उम.. भरत गुरुङसँग मिलेर डलर पास गराउने र विदेशबाट सुन तस्करी गराउने तिमीहरू ?’
‘गरेको छैन, हजुर । प्रमाण भए कारवाही भोग्न तयार छु । सानो कर्मचारी परें, त्यस्तो केही छैन ।’
‘तिम्रो नाम भरत गुरुङसँग जोडेर निकै चर्चा छ ।’
‘त्यस्तो प्रमाण भए गोली हानेर मार्ने सजाय दिए पनि म तयार छु, हजुर ।’
‘डीबी लामाको खबर के छ नि ?’
‘आईजीपीसाप विभागीय प्रमुख हुनुहुन्छ, मलाई त्योभन्दा के थाहा हुनु र ?’
ऋषिकुमारले अलिक जंगिएर आँखा ठूलो बनाउँदै भने, ‘तिमी बेवकुफहरू हो ! आफ्नो मान्छे छानीछानी प्रमोसन गर्ने, अरूलाई खेदो खन्छ रे हो ?’
‘यस्तो कुरा मैले कसरी थाहा पाउनु हजुर’, नम्र स्वरमा बान्तावाले भने ।
अझै ठाडो स्वरमा ऋषिकुमारले भने, ‘डीबी र भरतको सम्बन्धबारे के थाहा छ ?’
‘म तल्लो तहको कर्मचारी कसरी थाहा पाउनु हजुर ?’
‘केको थाहा नहुनु ? भरत र डीबीले कति पैसा कमाइसके ।’
‘म एयरपोर्टमा बसेर त्यहाँको सुरक्षा संयन्त्रको नेतृत्व गरिरहेको छु । विभागीय प्रमुखको कुरा कसरी थाहा पाउनु ?’
‘कति जना छौ त्यहाँ ?’
‘मेरो कमान्डमा १ सय ३६ जना ।’
‘त्यति धेरै रैछ, प्रत्येक दिन के हेर्छौ त्यहाँ ?’
‘सुरक्षा भएकाले तल–माथि सबै हेर्नुपर्छ हजुर ।’
‘बेवकुफहरू केही थाहा छैन भन्यो, सकियो । कति भयो त्यहाँ गएको ?’
‘आठ महिना भयो ।’
टाउको हल्लाउँदै ऋषिकुमारले फेरि पुरानै कुरा निकाले । ‘उम्, मेरो दरबार बेचिदिनेबारे के भयो ?’

दरबारबारे कहीँ कतै केही भनेका थिएनन्, बान्तावाले । तर गाली खानुभन्दा झुठ बोले । बान्तावाले ऋषिकुमारलाई मख्ख पार्दै भने, ‘हजुर मेरो पुग्नेसम्म व्यापक हल्ला गरेको छु, बिक्री हुन्छ होला ।’
ऋषिकुमारले मुस्कुराउँदै भने, ‘उम् तिम्रो जिम्मा यो दरबार बिक्री गर्ने भयो । बिक्री भए राम्रै हुन्थ्यो, सबै रिपोर्ट गर्नू ।’
अनि शुरू भयो बान्तवाको ओरालो दिन
डीबी लामाले आईजीपीबाट अवकाश पाए । डीएसपी बान्तवाको दिन शुरू भयो । एयरपोर्टमा राम्रो काम नगरेको भनेर उनलाई २०४१ को मंसिरमा सुदूरपश्चिम दिपायल प्रहरी तालिम केन्द्रमा सरुवा गरियो । उनले डीआईजी बस्ने क्वार्टर, तालिम केन्द्रको भौतिक संरचना बनाउँदै थिए । २०४२ जेठ २९ गते हेडक्वार्टरबाट एक्कासि बेलावट भयो ।
‘डीबी लामा आईजीपी हुँदा अयोग्य भएको, भरत गुरुङसँग मिलेर राष्ट्रलाई हानी हुने काम गरेको । डलर पास गराउने, विदेशबाट सुन तस्करीका लागि सहयोग गरेको’ भनेर छानबिन समिति गठन भएको रहेछ । एक बहालवाला न्यायाधीश (बान्तावाले नाम सम्झन सकेनन्), डीआईजी रणबहादुर चन्द, मोतीलाल बोहोरासहितको समिति बनेको रहेछ । उनलाई त्यसको जानकारी थिएन ।
‘एयरपोर्टबाट झरेर दाइ (मक्करबहादुर बान्तावा)को घरमा पुगेर झोला राखें । हेडक्वार्टर गेटमा पुगें । सेन्ट्रीले डीआईजी रणबहादुर सापलाई भेट्न हनुमान ढोका जानु रे भन्यो । त्यहाँ पुगें । रणबहादुरसाप अफिस बाहिर हुनुहुन्छ भनेर डीएसपी सहवीर थापा (पछि सशस्त्र प्रहरी बलका आईजीपी बने)ले जानकारी गराए’, बान्तावाले भन्दै गए, ‘साँझ ६ बज्यो । डीआईजी साप आउनुभएन । एक्कासि सहवीरले थुनुवा पुर्जी पो दिए !’
‘तपाईं एयरपोर्टमा रहँदा डलर पास गरी विदेशबाट सुन तस्करीमा संलग्न भएको भनी रिपोर्ट आएकाले केही बुझ्नुपर्ने भएकाले (ख) श्रेणीको सिधाको सुविधा पाउने गरी आजबाट थुनामा राखिने छ’, पक्राउ पुर्जीको व्यहोरा बान्तावाले सम्झे ।
‘थापा’साप, यस्तो नाटक गर्नै पर्दैन्थ्यो नि ! मलाई पहिल्यै भनेको भए केही फरक पर्ने थिएन ।’
‘के गर्ने साप, हामीलाई पनि चित्त बुझ्दैन । माथिको आदेश यस्तै छ ।’
बान्तावालाई हनुमान ढोकाबाट तालिम केन्द्र पुर्याएर एउटा कोठामा थुनियो । घरमा फोन गर्न पनि दिइएन । राति मोतीलाल बोहोरा केरकार गर्न आए । बोहोराले ‘एउटा कुराकानी गर्नुपर्यो’ भने ।
बान्तावा जवाफ फर्काए, ‘दशवटै गर्नुस् न ।’
‘तपाईंले नढाँटी भन्नुस्, सुन तस्करी, डलर पास गराउने गिरोह डीबी र भरत गुरुङलाई कारवाही गर्ने अभियान चलाएका छौं । यसमा तपाईंको सहयोग चाहिन्छ । तपाईंलाई केही हुँदैन ।’
‘म एउटा तल्लो तहको कर्मचारीलाई के थाहा हुन्छ र ? कसरी प्रश्न गर्नुभयो ?’, बान्तावाले उल्टै प्रश्न गरे ।
‘त्यत्रो समय एयरपोर्टमा बस्दा कसरी थाहा पाइनँ भन्नुहुन्छ ?’
‘तपाईंलाई थाहा भएर सोध्न आउनुभएको रहेछ । बताइदिनुस् बरु के–के भएको हो ? म एउटा गरिबको छोरो हुँ । दुईछाक खानका लागि त्यस्तो काम गर्न सक्दिनँ । गरेको पनि छैन’, बान्तावाले फेरि जवाफ दिए ।
‘तपाईं कुरै नबुझ्ने डीबी र भरतलाई जेल हाल्ने हो । तपाईं बच्नुहुन्छ भन्दा मान्नुहुन्न । कस्तो चाम्रो मान्छे’, बोहोरा जुरुक्क उठेर हिँडे । उनको साथमा एकजना डीएसपी पनि थिए ।
दुई दिनपछि एक सेन्ट्रीले खुसुक्क भन्यो, ‘डीबी आईजीपीसापलाई ठमेलमा राखेको छ रे पक्राउ गरेर । भरत गुरुङलाई आर्मीले पक्राउ गरेर ब्यारेकमा राखेको छ रे ।’
चार दिनपछि पुलिस क्लबमा लगियो । राति ९ बजे बोहोरा आएर फेरि भने, ‘बान्तावा भाइ, एयरपोर्टमा के–के भएको हो भन ।’
बान्तावाले पुरानै जवाफ दिए । बोहोराले झोक्किँदै भने, ‘पूरै नेगेटिभ छ । अब थर्ड डिग्री (प्रहरी भाषामा कुटाई/यातना) शुरू गर्ने अवस्था आयो ।’ सिपाहीलाई आदेश दिएर बोहोरा निस्किए । अनि सिपाहीले बाँसको सिप्का बनाएर खुट्टामा हान्न लागेको शरीरमा पूरै करेन्ट लाग्दोरहेछ ।
‘गल्ती छैन, गोली हान बरु’, यातना सहन नसकेर बान्तावाले झोक्किएर भने ।
भक्तपुरमा हुँदा अर्का डीआईजी रुद्रबहादुर पाण्डेसँग बान्तावाको राम्रो सम्बन्ध थियो । ‘भाइ के छ खबर भन सबै’, पाण्डेले भने । बान्तावाले चन्द, बोहोरालाई दिएको बयान नै पाण्डेलाई दिए । हिँड्ने बेला पाण्डेले भने, ‘म अब तँसँग आउँदिनँ, तर भाइ साँढेको जुधाइ, बाच्छाको मिचाइ’मा परिस् ।’
डीबी लामालाई पछि बबरमहलमा राखिएको रहेछ । लामा र बान्तावलाई भेट गराएर बयान लिने काम भयो । त्यहाँ पनि उही कुरा दोहोरियो । प्रहरी छानबिनबाट नहुने भएपछि शाही नेपाली सेनालाई गुहारियो ।
डीबी लामा, भरत गुरुङ र बान्तावालाई सिंहदरबारको क्याब्लरी (घोडा बाँध्ने तबेला)को क्याम्पमा लगियो । सेनाले कुटपिट र टर्चर दिए । ‘ए बान्तावा भाइ भन्, किन लुकाउँछस् ?’, त्यो बेलाका ब्रिगेडर गरुड शमशेर जबराले भने । गरुडसँग बान्तावाको राम्रै चिनजान थियो । सुदूरपश्चिम दिपायलमा राजा सवारी हुँदा उनीहरूको सम्बन्ध बनेको थियो । तर, सिंहदरबारको क्याम्पमा उनले त्यो सम्बन्धलाई बिर्सेर प्रश्न गरिरहे ।
प्रहरी, सेनाको अनुसन्धानपछि बान्तावालाई ८ वर्ष, डीबी लामालाई १० वर्ष, भरत गुरुङलाई २५ वर्ष र पञ्च गुरुङ नाम गरेका व्यक्तिलाई २ वर्ष कैद सजाय भनेर नक्खु जेल चलान गरियो २०४२ सालको अन्त्यतिर । साढे ३ वर्षदेखि कैद भुक्तान गरिरहेका बेला २०४५ सालमा प्रतापकुमार बान्तावाको पक्षमा सर्वोच्चको फैसला आयो ।
‘अनावश्यक कानूनविपरीत सिभिललाई आर्मी कोर्ट अफ इन्क्वाइरी गरी थुनामा राख्नु गलत हो । निज (डीएसपी प्रतापकुमार बान्तावा)ले अहिलेसम्म खाइपाइ आएको सेवा सुविधा, बढुवा समेत पाउने गरी तत्काल रिहा गर्नू,’ भन्ने आदेश आयो ।
रिहा भएपछि बान्तावा अदालतको आदेश लिएर प्रहरी प्रधान कार्यालयमा हाजिर हुन गए । बोहोरा आईजीपी थिए । आईजीपीले भने, ‘ल बधाई छ, दाइलाई ।’ त्यसै दिन उनलाई कार्यविभागको इञ्चार्ज बनाइयो । पछि आईजीपी अच्युतकृष्ण खरेलका पालामा एसपीमा बढुवा भएर परासीमा दरबन्दीमा गए बान्तावा । २०५७ सालमा अवकाश लिएर बसे ।
अहिले पनि तीन दिन सम्झेर झस्किन्छन्, उनी ।
‘मैले समाएको सात किलो सुन त्यो बेला ठूलो घटना थियो । आधा किलो सुन, चक्लेट, क्यान जुस त कति समाइयो समाइयो । त्यो सात किलो सुनको व्यापारी को हुन् ? छानबिन कहिल्यै भएन । मैले समाएको भरिया कसरी निस्कियो पत्तो पाइनँ । त्यसको मालिक को थियो, कहिल्यै भनिँदैन । अहिलेसम्म मैले त्यो सात किलोको मालिक भेटिनँ । तर भेटें यातना र बदनामी मात्रै ।’