
भारतले बासमती (महंगो मूल्यको) बाहेकका चामल निर्यातमा प्रतिबन्ध लगाएपछि त्यसको असर नेपाली बजारमा पर्न थालेको छ ।
भारतले ४ साउनबाट चामल निर्यातमा रोक लगाउने घोषणा गरेलगत्तै नेपालमा बोरामै २ सयदेखि २५० रुपैयाँसम्मले भाउ बढेको हो ।
आन्तरिक बजारको मूल्यवृद्धि नियन्त्रण गर्न भन्दै भारतले गरेको निर्यात प्रतिबन्धको घोषणालगत्तै नेपालमा अस्वाभाविकरूपमा भाउ बढाइएको हो ।
सरकारी तथ्यांकअनुसार नेपालमा ३ महिनालाई पुग्ने चामल मौज्दात छ । तर, भारतले प्रतिबन्ध लगाएको खबर पाउनेबित्तिकै व्यापारीहरूले ‘स्टक’को चामलमै पनि मूल्य बढाइसकेका छन् ।
व्यापारीले बढी नाफा लिएर चामल बेच्न थालेका कारण आम उपभोक्ताको भान्छा महंगिसकेको छ ।
नेपालकै विभिन्न आन्तरिक कारणलाई बहाना बनाएर भाउ बढाउने नेपालका व्यापारीहरूलाई भारतले निर्यातमै प्रतिबन्ध लगाउनुले राम्रो बहाना मिलेजस्तो भएको खुद्रा व्यापार संघका पूर्व अध्यक्ष पवित्र बज्राचार्य बताउँछन् ।
उनले भने, ‘थोक व्यापारीले नै भाउ बढाएर पठाएकाले खुद्रा व्यापारीले बढाएर बेच्नुपरेको हो । खुद्रा व्यापारीले आफूसँग भएको चामल भाउ नबढाइ बेचे पनि थोक व्यापारीले भएकै मौज्दातमा समेत बढी मूल्य लिए ।’
उनका अनुसार अहिले पनि ठूला व्यापारीको गोदाममा ३/४ महिनालाई पुग्ने चामल मौज्दात छ, तर बजार भाउ बढिसकेको छ ।

सरकारले ठूला व्यापारीको मनोमानीलाई बेवास्ता गर्ने र ४/५ बोरा राखेर बेच्ने खुद्रा व्यापारीलाई मात्रै देख्ने गरेको गुनासो बज्राचार्यले गरे । भारतको चामल निर्यात प्रतिबन्ध लम्बिने हो भने थप भाउ बढाउन चलखेल हुन सक्ने उनको भनाइ छ ।
हल्लाको भरमा चल्ने नेपाली बजार र यसलाई नियन्त्रण गर्न नसक्ने सरकारी कमजोरीका कारण ‘स्टक’को सामान पनि भाउ बढाएर बेच्ने गरिएको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले बताए ।
‘भारतले प्रतिबन्ध नलगाएको लङग्रेनमा समेत अस्वाभाविक भाउ बढेको छ, तर सरकार मुकदर्शक बनेर बसेको छ,’ तिमिल्सिनाले लोकान्तरसँग भने ।
सरकारलाई व्यवसायीले चामलमा मूल्य बढाउन सक्छन् भनेर यसअघि नै सचेत गराउँदा पनि बेवास्ता गरिएको उनले गुनासो गरे ।
सरकारी निकायसँगकै मिलेमतोमा भाउ बढाउने खेल हुने गरेको उनको आशंका छ ।
सरकारी रबैयाकै कारण भोलि नेपालीले भातै खान नपाउने र भयावह अवस्था आउन सक्ने चिन्ता समेत तिमल्सिनाले व्यक्त गरे ।
बजारमा दैनिक एक हजार बोरा चामल बिक्री गरिरहेको आरजु राइसका महाप्रबन्धक विवेकानन्द झा नेपालीको माग जिरा मसिनो चामलमा बढी रहेको र सोही वस्तु प्रतिबन्धमा परेको बताउँछन् ।
उनले भने, ‘नेपालमा उत्पादन नै नहुने चामलमा लागेको प्रतिबन्ध र यसैको माग उपभोक्तामा बढी भएकाले ठूलो असर पर्न सक्छ ।’
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक गजेन्द्रकुमार ठाकुर चामल निर्यातमा भारतले लगाएको प्रतिबन्धको विषयमा गम्भीररूपमा छलफल भएको बताउँछन् ।
उनले भने, ‘चामलमा लागेको प्रतिबन्धपछि उद्योगी व्यवसायीसँगको छलफलमा उनीहरूले ३ महिनालाई पुग्ने चामल मौज्दात छ भनेका छन् । कात्तिकको अन्तिमदेखि बजारमा नयाँ चामल आउने हुँदा भोकमरीको समस्या नहुने र भाउ पनि नबढ्ने हाम्रो बुझाइ छ ।’

ठाकुरले थपे, ‘चामल निर्यातमा मात्रै प्रतिबन्ध लागेको हो, धान ल्याउन पाइन्छ । चामलको ठाउँमा आवश्यकताअनुसार धान आयात हुन सक्यो भने नेपाली उद्योग फस्टाउने र नेपाली नागरिक पनि भोकमरीमा नपर्ने हुन सक्छ ।’
मूल्यवृद्धिका विषयमा गुनासो आए तुरुन्तै अनुगमन गरेर कारवाही गरिने उनले बताए । ‘बजारमा हुने मूल्यवृद्धिको विषयमा विभागले तुरुन्तै अनुगमन गरेर कारवाही गर्न सक्छ । यसका लागि विभागमा गुनासो आउनुपर्ने हुन्छ,’ उनले भने ।
खुद्रा बजारमा केही मूल्य बढेको भनिए पनि कुनै उजुरी वा गुनासो नआएको ठाकुरले बताए ।
तथ्यांकअनुसार भने गत आर्थिक वर्ष २०७९/८० मा साढे ३६ अर्बको धान/चामल आयात भएको छ । नेपालमा आयात भएको यस्तो धान/चामल सबैजसो भारतबाटै आउने गरेको छ ।
भारतबाट नेपाल भित्रिएको धान/चामल गत वर्ष साढे ४७ अर्ब रुपैयाँको थियो । भारतले गत वर्ष धान १६ अर्ब रुपैयाँको पठाएको छ भने बाँकी विभिन्न प्रकारका चामल रहेको छ ।
पछिल्लो समय नेपालमा धान उत्पादन बढेकाले चामल आयात घट्दै गएको सरकारी निकायको भनाइ छ । कृषि मन्त्रालयका अनुसार नेपालमा पछिल्लो समय धान उत्पादन बढेकाले पनि चामलको आयात कम भएको छ ।
धान–चामल आयातको तथ्यांक :