
लामखुट्टेको टोकाइबाट हुने डेंगुबाट बच्न चितवनको खैरहनी नगरपालिकाले ‘लार्भा खोज र नष्ट गर’ अभियान शुरू गरेको छ ।
आइतवारदेखि पालिकाका विभिन्न क्षेत्रमा लामखुट्टेले अण्डा पार्नसक्ने सम्भावित स्थानको खोजी गरी लामखुट्टेको लार्भा नष्ट गर्न घरदैलो अभियान शुरू गरिएको हो ।
नगर प्रमुख शशीकुमार खनियाँ, उपप्रमुख कविता उप्रेती लगायत जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी र स्थानीयवासी अभियानमा सहभागी भएका थिए । सो अवसरमा नगर प्रमुख खनियाँले अभियानलाई निरन्तरता दिने जनाउँदै सबै स्वास्थ्यका सवालमा नागरिक सचेत बन्नुपर्ने बताए । पानी जम्ने ठाउँमा लामखुट्टेले लार्भा बनाउने भएकाले पानी जम्न नदिन निरन्तर सरसफाइको लागि जनचेतनामूलक अभियान अगाडि बढाइएको उनले जानकारी दिए ।
पहिलो दिन नगरपालिकाको वडा नम्बर ६ र ८ मा अभियान सञ्चालन गरिएको खैरहनी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख निर्मल घिमिरेले बताए । उनले बजार क्षेत्रमा अभियान सञ्चालन गरिएको जनाउँदै सबै वडामा यो अभियान सञ्चालन हुने जानकारी दिए । डेंगुको जोखिम कम गर्न र सावधानी अपनाउनका लागि समुदायमा पुगेर सचेतना जगाउने काम गरिएको उनको भनाइ छ ।
‘नगरपालिकाका विभिन्न क्षेत्र लामखुट्टेको लार्भा बनाउनका लागि उपयुक्त वातावरण छन्,’ उनले भने, ‘तीव्र शहरीकरणका कारण पानी जम्ने ठाउँ समेत प्रशस्तै छन् ।’
विशेषगरी वर्षाको पानी जम्ने जथाभावी फालेका बोतल, टिनका भाँडा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रम, गमला, पानीका ट्यांकी आदिमा यो लामखुट्टे फूल पार्छ । विशेष गरी साँझ–बिहानको समयमा सक्रिय हुने ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेको टोकाइबाट डेंगुको संक्रमण फैलिने गर्छ । उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदि डेंगुका लक्षण हुन् ।
जटिल प्रकृतिको डेंगुको संक्रमण भएका बिरामीमा थकान महसूस हुने, गिजाबाट रगत बग्ने, पेट असाध्यै दुख्ने, बारम्बार बान्ता हुने, सास फेर्न गाह्रो हुने, पेट र खुट्टा सुनिनेस्ता लक्षण देखा पर्छन् ।
चितवनकै रत्ननगर नगरपालिकाले लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगको संक्रमण फैलिन सक्ने खतरालाई मध्यनजर गर्दै सबै नगरवासीमा सतर्कता अपनाउन आग्रह गरेको छ । नगरपालिकाले लामखुट्टेको बासस्थान तथा लार्भा खोजी गरी नष्ट गर्ने अभियानमा सहभागी हुन सबै टोलवासीमा अनुरोध गरेको छ ।
रत्ननगर नगरपालिकाले लामखुट्टेको बासस्थान र लार्भा खोजी गरी नष्ट गर्ने अभियान शुरू गरेको जानकारी दिँदै जनस्वास्थ्य अधिकृत माधवप्रसाद पौडेलले एडिज जातको लामखुट्टे सफा पानीमा बस्ने, त्यहीँ फुल पार्ने र लार्भा वृद्धि गर्ने भएकाले घरवरपर रहेका टिनका डब्बा, थोत्रा टायर, गमला, फुलदानी लगायतमा पानी जम्न नदिन आग्रह गरे । उनले १६ वटै वडाका स्वास्थ्यकर्मी, सामुदायिक महिला स्वास्थ्यसेविका एवं टोल विकास समितिका अध्यक्षहरूलाई डेंगु रोगबारे सचेतना फैलाउन आग्रह गरेका छन् ।
चितवनमा डेंगु संक्रमितको सङ्ख्या १३ पुगेको छ । ३ दिनअघि ८ जना डेंगु संक्रमित रहेकोमा आइतवार बढेर १३ पुगेको हो । स्वास्थ्य कार्यालय चितवनको अनुसार विभिन्न अस्पतालमा १२१ जनाको परीक्षण गर्दा १३ जनामा संक्रमण देखिएको छ ।