चैत १, २०८०
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
काठमाडाैं | साउन १६, २०८०
माओवादी आन्दोलनको उद्गम थलो रोल्पा । त्यसमा पनि पञ्चायतकालदेखि विद्रोहको अजम्बरी प्रतीकका रूपमा चिनिथ्यो थबाङ । थबाङलाई रोल्पालीहरूले अझै पनि विद्रोहको आदर्श गाउँका रूपमा लिन्छन् ।
एउटा गुजुमुज्ज परेको गाउँ, जसको भेउ प्रशासनले समेत त्यति नपाउने । भेउ पाए पनि त्यो गाउँमा छिर्न नसक्ने । स्थानीयदेखि संसदीय चुनावमा पटक–पटक रित्तो मतपेटिका सदरमुकाम लिबाङ पठाइदिने सामर्थ्य थबाङले राख्यो ।
माओवादीले शुरू गरेको १० वर्षे सशस्त्र संघर्षमा थबाङले अन्तर्राष्ट्रियरूपमा नै चर्चा बटुलेको थियो । तर, थबाङ यस्तो विद्रोही बन्यो जसले स्वयं पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको माओवादीलाई समेत २०७० मा चक्मा दियो । दोस्रो संविधानसभाका लागि भएको उक्त चुनावमा थबाङले रित्तो मतपेटिका सदरमुकाम लिबाङ पठाइदिएको थियो । अर्थात थबाङले चुनाव बहिष्कार गर्यो ।
अहिले फेरि थबाङ चर्चामा छ, त्यो चर्चा पहिलेजस्तो विद्रोह वा आदर्श राजनीतिले हैन, बरु बदनामी कमाएको एक क्विन्टल सुनकाण्डले हो । यो सुनकाण्डमा थबाङकी एक चेलीको 'कनेक्सन' जोडिएको छ, जसका कारण रोल्पाबाट राष्ट्रिय राजनीतिमा उदाएका माओवादी नेताहरू समेत शंकाको घेरामा तानिएका छन् । यस प्रकरणमा थबाङ, माओवादीको सशस्त्र संघर्ष, शहीद परिवार सबैको नाम अघि आएको छ ।
‘तपाईंले शुरूआत गरेको राजनीतिले थबाङ वरपरदेखि रुकुमसम्मका धेरैको ज्यान गयो, यसमा तपाईंलाई पछुतो छैन ?’ यो प्रश्न पंक्तिकारले २०६० वैशाख पहिलो साता थबाङी वृद्ध नेता अर्थात् थबाङका पर्याय बर्मन बुढालाई गरेको थियो ।
पहिलोपटक मिडियामा बोलेका बर्मनले जवाफमा भनेका थिए, ‘के मैले राजनीति गर्नु अपराध हो र ? मैले त शोषणका विरुद्ध राजनीति थालेको पो हुँ ।’
माओवादीले २०५२ फागुन १ देखि सशस्त्र संघर्ष शुरू गरेपछि प्रशासनले उनलाई थबाङमा बसिखान दिएन । उनी ८ वर्षसम्म गुमनाम भएर राजधानीमै बसे ।
यो प्रसंगलाई यहीँ छाडौं, आज आएर फेरि थबाङको चर्चा हुनुका पछाडि एकजना पात्रको नाम आउँछ, अमला रोका । उनी सशस्त्र द्वन्द्वकी ‘शहीदपत्नी’ भनिएकी छिन् । उनका पति हुन्, तिब्बतीय मूलका बेल्जियन नागरिक दावा छिरिङ ।
ठमेलस्थित होटल भियानामा छापा मार्दै आइतवार राजस्व अनुसन्धान विभागको टोलीले दावालाई पक्राउ गरेको थियो । उनी विमानस्थलबाट जाँचपास भएर बाहिरिएको करीब १ क्विन्टल सुनकाण्डमा संलग्न रहेको आशंकामा अनुसन्धान भइरहेको छ ।
अमला र उनका श्रीमान् दावाका कारण रोल्पाली माओवादी नेताहरू यतिखेर हैरानी खेपिरहेका छन् । उनै अमलाका माध्यमबाट दावा निवर्तमान उप–राष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’, नेकपा (माओवादी–केन्द्र)का उप–महासचिव वर्षमान पुन ‘अनन्त’सम्म पुगेको फोटो सार्वजनिक भएको छ । फोटो मात्र सार्वजनिक भएको छैन, अनुसन्धानको सुईले नेताद्वय पुन र उनीहरूको परिवारलाई पनि घोचिरहेको छ ।
अमलाको त्यो पारिवारिक नाता, वर्गीय नाता जे भए पनि पुनद्वयले दिएको स्पष्टीकरणप्रति जो कोही विश्वस्त हुन सक्दैन । भलै उनीहरूको संलग्नता नहोला, तर हैरानी खेप्नुपरेको छ । उप–महासचिव पुनले त उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै आफू दोषी भए कारबाही भोग्न तयार रहेको बताइसकेका छन् ।
फोटो सार्वजनिक भएपछि नेकपा (माओवादी केन्द्र)का उप–महासचिव वर्षमान पुन ‘अनन्त’ले फेसबूकको भित्तामा लेखे–
‘जनयुद्धको शहीद परिवार, रोल्पाकी चेली, पार्टी कार्यकर्ता अमला रोकासँग पारिवारिक भेटघाटका सन्दर्भमा ८ वर्ष पहिला नै सार्वजनिक भइसकेको तस्वीरलाई अहिले मसँग जोडेर गरिएको प्रचारप्रति मेरो गम्भीर आपत्ति छ । सरकारको सुशासनको मुद्दालाई विषयान्तर गर्न गरिएको यस्तो गलत प्रचारको खण्डन गर्दै सुन तस्करीको निष्पक्ष छानबिनको म पूर्णरूपमा समर्थन गर्दछु । राजनीतिक पूर्वाग्रहका आधारमा गरिएको यस्तो गलत प्रचारको भ्रममा नपर्न सबैसँग हार्दिक आग्रह गर्दछु ।’
उनका समर्थकहरू त्यसलाई कपी गरेर तुरुन्तै प्रचार–प्रसारमा लागे । उप–महासचिव पुन यही स्टाटसमै चिप्लिएको देखिन्छ । अमला को थिइन् ? उनी कति इमान्दार हुन् ? युद्धमा उनको संलग्नता के हो ? उनले कति संघर्ष गरेकी थिइन् ? उनको पहिलो श्रीमानको ‘सहादत’ कहाँ र कसरी भयो ? कुन युद्ध मोर्चामा मारिए ? उनको योगदान के थियो ? र, अहिले अमलाको पहुँच कसरी उनीहरूसम्म पुग्यो ? यसको भित्री कथा गज्जबको छ ।
अमला ‘शहीदपत्नी’ हुन कि होइनन् ?
रोल्पा माओवादीको उद्गम थलो हो । रोल्पाभित्र झन् थबाङमा माओवादी हुन्नँ भन्ने कसले ? थबाङको समाज यसरी नै निर्माण भएको छ । थबाङी नेताहरूको तीन तह छ । पहिलो पुस्ता हुन्, बर्मन बुढा । उनले भनेका शब्द माथि नै उल्लेख गरिएको छ । दोस्रो पुस्तामा सन्तोष बुढा लगायत छन्, जो अहिले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादीमा आबद्ध छन् । तेस्रो तहका नेताहरू छन्, माओवादीले ‘जनयुद्ध’ शुरू भएदेखि बन्दुक बोकेको युवा पुस्ता ।
२०५२ फागुन १ देखि माओवादीले सशस्त्र युद्ध घोषणा गर्यो । त्यो बेला भर्खर १५–१७ वर्ष उमेरका आधा दर्जन केटाहरू मिलिसियामा भर्ती भए । यसरी भर्ती हुनेमध्ये थिए, ऋषिकेशव रोका (पार्टीको नाम सबिन, हाल थबाङ गाउँपालिका अध्यक्ष), लालमणि रोका (पार्टी नाम एटम, उनले लडाइँमा सहादत प्राप्त गरे), प्रवेश रोका (पार्टी नाम छिरिङ), आशमान रोका (पार्टी नाम पवन), लीलाराम रोका (पार्टी नाम भंगारु) । लडाइँमा एक हातको पञ्जा गुमाएका मौसम रोका (पत्रकार) अलि पछि मात्र युद्धमा सामेल भएका थिए, उमेरका कारण ।
गुजुमुज्ज परेका घरहरू, जसलाई थबाङको मूल अर्थात् ठूलो गाउँका नामले सम्बोधन गरिन्छ । तस्वीरमा आउने त्यही गाउँ हो, थबाङको पहिचान । उक्त गाउँबाट आधा दर्जन युवा हतियार बोकेरै पूर्णकालीन भएर हिँडे । केही गाउँमा समर्थक भएर बसे । ठूलो थबाङमा ती छापामारका समकालीन शिक्षक थिए, सुजनप्रकाश रोका । थबाङको ठूलो गाउँका सुजन शिक्षण पेशासँगै भलिबलका कहलिएका खेलाडी थिए ।
२०५५ फागुनतिर एकदिन भलिबल म्याच राम्रै जम्यो । तर, फउलका विषयमा शुरू भएको विवादले खेल मैदानमै दुई समूहबीच झडप भयो । एक पक्षको नेतृत्व सुजनले गरेका थिए । खेल मैदानको विवाद र केहीबेरमा साम्य भयो, तर त्यसको ईख मेटिएको थिएन । सुजनसहितको टीम साँझ खाइपिइ गरेर एउटा घरमा बसेको थियो । दिउँसो विवाद भएको विपक्षी टीमका केटाहरू आएर आक्रमण गरे । ‘ग्याङफाइट’ नै भयो । त्यसैक्रममा विपक्षी टीमका एक सदस्यले खुकुरी प्रहार गर्दा सुजनको मृत्यु भयो ।
सुजन नै हुन् अमलाका पूर्वपति । उनी जनयुद्धमा मारिएका हैनन् । मदिरा सेवन गरेपछि उग्ररूप लिएको भलिबलको झगडामा उनी मारिएका थिए । थबाङका अगुवा एवं नेताहरूलाई आधार मान्ने हो भने जनयुद्धमा थबाङबाट ५९ जनाले सहादत प्राप्त गरेका थिए । ती ५९ जनामा सुजन पर्दैनन् ।
थबाङ अहिले गाउँपालिका बनेको छ । साविकका ३ गाविस थबाङ, उवा र मिरुललाई मिसाएर ५ वटा वडामा विभाजन गरिएको छ ।
‘खासमा त्यो वर्गीय लडाईं थिएन, भलिबल खेलको झगडा मात्र थियो । यसको कहानी लामै छ, कति भन्ने नभन्ने आफ्नै ठाउँमा छ । भो, पुरानो घटना नदोहोर्याऊँ,’ थबाङका एक पुराना माओवादी कार्यकर्ताले भने, ‘सुजनलाई खुकुरी हान्ने टीममा माओवादीका एकजना भूमिगत कार्यकर्ताचाहिँ थिए ।’
यसै त प्रशासनको नजर नपुग्ने थबाङ, त्यसमाथि जनयुद्धको समय । यो घटना यत्तिकै सामसुम भयो । माओवादी शान्ति प्रक्रियामा आएपछि सुजनलाई पनि माओवादीले ‘शहीद’को ‘लिस्ट’मा राख्यो । अनि वर्षमान पुनकै भाषामा ती रोल्पाली चेली अमलाले शहीद परिवार भनेर राज्यबाट सेवा–सुविधा लिइन् ।
‘थबाङजस्तो ठाउँको मान्छेलाई माओवादी होइन भनेर कसले भन्न सक्थ्यो र ? सुजनको श्रीमती अमला २०६३ सम्म दूधेबालक च्यापेर गाउँमै बसिन् । त्यस्तो पूर्णकालीन भनेर पार्टीमा हिँडेकी पनि होइनन् । काठमाडौं झरेपछि २०६३/०६४ ताका माओवादी हुन बाँकी को थियो र ? अमला माओवादी बनिनन् र होइनन् कसरी भन्ने ?’, ती थबाङी नेताले अहिलेको घटना विश्लेषण गर्दै भने, ‘हामीले हाम्रा नेताहरू भेट्न पहुँच नपुग्ने, तर व्यापारी, तिब्बती ज्वाइँ भएपछि किचनमै पुर्याएर सम्मान गरे । अहिले बल्ल चाल पाउँदैछन् ।’
साबिक थबाङ, मरान्थाना– ७ की अमलाको माइतीको थर बुढा हो । थबाङ ठूलो गाउँका सुजनसँग विवाह गरेपछि अमला रोका बनिन् । २०६३ मा थबाङबाट शहर झरेपछि अमला अल्लो, भाङ्गो आदिको धागो व्यापारमा लागिन् । व्यापारकै सिलसिलामा काठमाडौं आएकी अमलाको हिमचिम सिन्धुपाल्चोकका केही व्यापारीहरूसँग बढ्यो । सोही माध्यमबाट उनले तिब्बती मूलका बेल्जियन नागरिक दावासँग विवाह गरेको चिनेजानेकाहरू बताउँछन् ।
त्यसपछि उनी रोल्पाली, अझै थबाङी भएको नाताले त्यही जिल्लाका ठूला नेता र उनीहरूको परिवारसँग सहजै पहुँच विस्तार गर्न सफल भइन् । नेताहरूसँगको सम्बन्धलाई उनले अवैध व्यापार गर्ने गतिलो माध्यम बनाउन सफल भइन् । नेताहरूसँगकै पहुँचमा उनी २०७२ ताका माओवादी रोल्पा–काठमाडौं सम्पर्क समितिको उपाध्यक्ष समेत बनेकी थिइन् ।
उनले कसरी पहुँच विस्तार गरिन् भन्ने जान्न निवर्तमान उप–राष्ट्रपति पुनका जेठी बुहारी जुना पुनको प्रतिक्रिया सुन्दा थाहा हुन्छ ।
‘बुवा अघिल्लो कार्यकालमा उप–राष्ट्रपति निर्वाचित भएपछि अमला बधाई दिन आइन् । त्यो सन्दर्भ सन् २०१५ हो र पहिलोपटक त्यहीँ चिनेकी हुँ । मेरो नम्बर मागिन् । त्यही साल तिहारमा बहिनी जसरी पनि दाइलाई टीका लगाइदिन आउनुपर्यो भनेर नक्सालको घरमा बोलाइन् । त्यहीँ गएर टीका लगाइदिएकी हुँ । पछि सन् २०१८ मा पनि टीका लगाइदिएँ’, जुनाले भनिन् ।
आफूले टीका लगाइदिएको दाइ एक क्विन्टल सुन काण्डमा पक्राउ परेपछि निवर्तमान उप–राष्ट्रपति परिवारसँग समेत सम्बन्धका विषयमा प्रश्न उब्जेको छ । उप–महासचिव र निवर्तमान उप–राष्ट्रपतिको अमलासँग कुनै पारिवारिक नाता देखिन्न । अमलाको ‘डीएनए’मा त्यस्तो बम, बारुद, संघर्षको रगत, पसिनाको गन्ध पनि भेटिन्न । तर, एक व्यापारी ज्वाइँसँगै ‘शहीदपत्नी’को नाममा यस्तो घनिष्ट सम्बन्ध नेता पुनद्वयको कसरी बन्न सफल भयो, यसको जवाफ समाजले खोजिरहेको छ ।
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...