२७ असार २०८३, शनिबार

साउन २१–२४ गतेसम्म कोरोना विरुद्धको खोप अभियान चलाउँदै काठमाडौं महानगर

साउन १७, २०८०
काठमाडौं
साउन २१–२४ गतेसम्म कोरोना विरुद्धको खोप अभियान चलाउँदै काठमाडौं महानगर
प्रतिकात्मक तस्वीर

काठमाडौं महानगरपालिकाले साउन २१–२४ गतेसम्म कोभिड–१९ विरुद्ध खोप अभियान चलाउने भएको छ । 

कोरोनाविरुद्ध खोप लगाउन छुटेका र बुस्टर डोज नलगाएकालाई लक्षित गर्दै काठमाडौं महानगरले साउन २१–२४ गतेसम्म खोप अभियान चलाउने भएको हो । १२ वर्षमाथिका सम्पूर्ण नागरिकलाई खोप लगाइनेछ ।

महानगरपालिकाका अनुसार वडा नम्बर ६, ११, १२, १४, १५,१७, १९, ३१ र ३२ नम्बर वडाभित्र खोप लगाइनेछ । यसअघि कोरोना विरुद्धको खोप लगाउन छुटेका र बुस्टर डोज नलगाएका काठमाडौंमा बसोबास गर्ने सबै खाले नागरिकले खोप लगाउन सक्नेछन् । जसअन्तर्गत वडा नम्बर ११ को त्रिपुरेश्वरस्थित विश्वनिकेतन विद्यालय, वडा नम्बर १७ को वडा कार्यालय, वडा नम्बर ३१ को शहरी स्वास्थ्य क्लिनिक भीमसेनगोला, वडा नम्बर १४ को शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र कुलेश्वर, वडा नम्बर ६ को वडा कार्यालय, वडा नम्बर १२ को कुमुदिनी मावि टेकु, वडा नम्बर ३२ को वडा कार्यालय र वडा नम्बर १५ को सामुदायिक स्वास्थ्य सेवा स्वयम्भूमा खोप अभियान सञ्चालन गरिनेछ ।

बुधवार स्वास्थ्य सेवा विभागमा भएको कोभिड–१९ विरुद्ध खोप सम्बन्धी कार्ययोजना गोष्ठीमा स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले अहिलेसम्म दोस्रो मात्रा ८८ प्रतिशतले लगाइसकेको जानकारी दिए । उनले बुस्टर डोजको पहिलो मात्रा ४३ प्रतिशत र चौथो मात्रा ६ प्रतिशतले लगाएको बताए ।

उनले खोप प्रवद्र्धनका लागि अन्य कार्ययोजना बनाएर अघि बढेको पनि बताए ।

डा. गौतमले भने, ‘घरबाट ननिक्लेर पनि बस्यौं । पछि खोप आइसकेपछि सजिलै लगाउँदै गइसकेपछि अहिले त्यो अवस्थाबाट यूटर्न भएका छौं । हामी पुरानै तरिकाले जीवनयापन गरिरहेका छौं । अहिले जति पनि खोप पाउने अवस्था छ तर माग घट्दो छ । हामीले कोरोना परीक्षण पनि गर्न छोड्यौं । जसकारण कोभिड–१९ बढ्यो कि घट्यो थाहा हुँदैन । अहिले पनि काठमाडौं उपत्यकासहित अन्य स्थानमा खोप लगाउन छुट्नुभएको छ । पहिलो मात्रा र दोस्रो मात्रा अधिकांशले लगाइसक्नुभएको छ । दोस्रो मात्रा ८८ प्रतिशतले लगाइसक्नुभएको छ । बुस्टर डोजको पहिलो मात्रा ४३ प्रतिशतले लगाउनुभएको छ । चौथो मात्रा ६ प्रतिशतले मात्रै लिनुभएको छ । एक पटक खोप लियो र अब लिनुपर्दैन भन्ने होइन । कोभिड–१९ लाई एउटा डोज लगाएर, २ वटा डोज लगाएर मात्रै पुग्दैन । यसमा बुस्टर डोज पनि चाहिन्छ भनेर ४ मात्रासम्मको बुस्टर डोज लगाउनुपर्ने प्रावधान सरकारले ल्याएको छ । माग भयो भने अन्य खोप पनि लिएर आउँछौं । खोप प्रमोट गर्नका लागि केही कार्ययोजना पनि लिएर आएका छौं ।’

गोष्ठीमा कोभिड १९ विरुद्ध प्रयोग भइरहेका खोपहरूबारे जानकारी गराइएको थियो । कोभिड–१९ खोप योजना प्रस्तुत गरिएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्