
विराटनगरमा डेंगु संक्रमित बिरामीको संख्या १८ पुगेको छ ।
महानगरको ४ नम्बर वडामा ४ जना, ३ नम्बरमा ३ जना, १ नम्बर वडामा ३ जना र अन्य वडाहरूमा १/१ जनामा डेंगुको संक्रमण पुष्टि भएको महानगरका स्वास्थ्य शाखा प्रमुख हैदर अलीले बताए ।
डेंगुका बिरामी देखिँदा समेत महानगरले रोकथामका लागि चासो दिएको छैन । महानगर छलफल र अन्तर्क्रिया कार्यक्रममा व्यस्त बनिरहेको छ । शून्य बजेटमा महानगरले काम गरिरहेको प्रमुख अलीले बताए ।
योजना बनाउने काममा व्यस्त भएर महानगरले काम गरिरहेको उनको दाबी छ । जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी विभिन्न संघसंस्थाका प्रतिनिधिहरूलाई राखेर अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको महानगरले जनाएको छ ।
डेंगुका बिरामीको कोशी अस्पतालमा उपचार भइरहेको छ । ‘महामारीका रूपमा फैलिए कोभिड अस्पताललाई डेंगु अस्पतालका रूपमा प्रयोग गर्ने सहमति भएको छ,’ उनले भने, ‘फैलिँदै गए परीक्षणको दायरा पनि बढाउँछौं ।’
कोशी अस्पताल, रानी अस्पताल, बैजनाथपुर अस्पताल र प्रदेश ल्याबमा परिक्षण हुने गरेको छ । त्यहाँ पनि डाक्टरको सिफारिसमा मात्रै परीक्षण हुने गरेको छ । १० हजारको चेक गर्दा मात्रै ५ सयको पुष्टि हुने गरेकाले परीक्षणको दर नबढाइएको अलीले बताए ।
धरानमा परीक्षण गरिएकामध्ये ६१ प्रतिशतमा पोजेटिभ भेटिएको छ । बिहीवारसम्मको तथ्यांक अनुसार ४ हजार ६७९ जनाको परीक्षण गर्दा २ हजार ८३८ जनामा पोजेटिभ देखिएको थियो । यता महानगरका स्वास्थ्य शाखाका प्रमुख अलीले विराटनगरमा त्यस्तो अवस्था नआउने बताए ।
‘धरान र विराटनगरको कन्डिसन फरक रहेकाले यहाँ त्यस्तो अवस्था आउँदैन,’ उनले भने, ‘बिरामीको लक्षण बढ्दै गए १९ वटै वडामा परीक्षण थाल्छौं ।’
जनचेतनामूलक कार्यक्रममा खोज र नष्ट अभियान भने महानगरले आज शुक्रवारबाट थाल्ने भएको छ । जनचेतनामूलक कार्यक्रम तल्लो स्तरसम्म नपुगेसम्म नियन्त्रण गर्न समस्या हुने उनको भनाइ छ तर बजेटको अभाव देखाउँदै महानगरले टोलटोलमा पुगेर डेंगु रोगबाट बच्ने उपायबारे नगरवासीलाई कुनै जानकारी गराएको छैन ।