
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभीटी) ले विभिन्न विषयको लागि भोलिदेखि सञ्चालन गर्न लागेको प्रवेश परीक्षा अन्तिम समयमा आएर आज स्थगित गरेको छ ।
सिटीइभीटीले भोलि शनिबार र बुधबारलाई निर्धारण गरेको विभिन्न विषयकोे प्रवेश परीक्षा आज सूचना जारी गरी स्थगित गरेको सिटिइभिटीका परीक्षा नियन्त्रक प्रमोदभक्त आचार्यले जानकारी दिए ।
चिकित्सा शिक्षा आयोग र सिटिइभिटीबीच चिकित्सा शिक्षा ऐन कार्यान्वयनको विषयमा विवाद बढेपछि सिटिइभीटीले परीक्षा स्थगित गरी उक्त परीक्षा आगामी भदौ २ र ६ गते परीक्षा सञ्चालन गर्ने भएको हो । आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरी र सिटीइभीटीका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीको उपस्थितिमा सिटीइभीटीको प्रवेश परीक्षा सञ्चालनका विषयमा छलफल गर्न शिक्षा मन्त्रालयमा बुधबार र बिहीबार बैठक बसेको थियो ।
उक्त बैठकमा शिक्षामन्त्री अशोककुमार राई र शिक्षा सचिव सुरेश अधिकारीले दुई संस्थाबीच आपसमा समन्वय गरेर अघि बढ्न निर्देशन दिएपछि सोही अनुरुप आगामी १५ दिनभित्र सहमति एवं समन्वय गरेर सञ्चालन गर्ने गरी हाललाई परीक्षा स्थगित गरेको बताइएको छ ।