०८ साउन २०८३, शुक्रबार

१ वर्षदेखि गीत नगाएकी विष्णु माझी, तीज गीत ल्याउलिन् ?

साउन २१, २०८०
काठमाडौं
१ वर्षदेखि गीत नगाएकी विष्णु माझी, तीज गीत ल्याउलिन् ?

सार्वजनिक जीवनमा गुमनाम र रहस्यमयी गायिका विष्णु माझीले पछिल्लो एक वर्षयता नयाँ गीत गाएकी छैनन् । 

यो बीचमा उनको पारिश्रमिक ३ लाख रूपैयाँ पुगेको चर्चा पनि साङ्गीतिक वृत्तमा भएको थियो । तर, उक्त पारिश्रमिक दिन्छु भन्दा पनि उनले गीत नगाउने गरेको संगीतकर्मीहरू बताउँछन् । 

विष्णुसँग सिधा कुरा गर्न कलाकारहरूले समेत पाउँदैनन् । उनका श्रीमान् सुन्दरमणि अधिकारीसँग कलाकारहरूले गीतको प्रस्ताव पुर्याउनुपर्ने हुन्छ । ‘एउटा गीत विष्णुजीसँग गाउनुपर्यो भनेर सुन्दरमणिजीसँग कुरा गरेको थिए । तर, उहाँले केही निर्णय दिनुभएन’ एक गायक भन्छन् ‘उहाँले विचार गरौँला मात्र भन्नुभएको थियो । तर, त्यसपछि कुरा अगाडि बढ्न सकेन ।’ 

विष्णुले विगत लामो समयदेखि तीजमा अफिसियल गीत ल्याउँदै आएकी छन्, जसलाई स्रोता–दर्शकहरुले निकै रुचाउने गरेका छन् । 

यसवर्ष तीजका गीत युट्युबमा सार्वजनिक भइरहेका छन् । अधिकांश गीतले राम्रो चर्चा नपाइरहँदा स्रोता दर्शकहरू विष्णुको तीज गीतको प्रतीक्षामा छन् । लामो समयदेखि उनले गीत नगाएका कारण तीज गीत पनि नआउने हो कि भन्नेमा कतिपय छन् । यद्यपि, लोकदोहोरी क्षेत्रका कलाकारहरू विष्णुले बाहिरी गीत नगाएपनि उनको​ अफिसियल तीज गीत चाहिँ आउने आशा गर्छन् । 

‘उहाँले बाहिरी गीत नगाउने सोच बनाउनुभएको जस्तो लाग्छ । तीज गीत त हरेक वर्ष ल्याउने गर्नुभएको छ । यसवर्ष पनि ल्याउनुहुन्छ होला’ एक निर्देशकले आशा व्यक्त गरे ।

विष्णुले स्वर दिएको ‘सालको पातको टपरी’ लोकदोहोरीको इतिहासमा सर्वाधिक हेरिएको गीत हो । ‘लालुमै’, ‘बोकेझार’, ‘छिपछिपे पानीमा लेउ’, ‘चरी जेलैमा’ जस्ता विष्णुले स्वर दिएका गीतहरू करोड क्लबमा छन् । उनी तीज गीतको सबैभन्दा धेरै भाग ल्याउने गायिका पनि हुन् । 

‘पुतलीको भट्टी’को भाग १८ सम्म उनले ल्याइसकेकी छन् । विष्णुको तीज गीतमा अभिनेता राजेश हमालदेखि अभिनेत्री एवं निर्देशक दीपाश्री निरौलासम्मले नृत्य गरिसकेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्