
नेपाली म्युजिक भिडियोका पुराना र सफल निर्देशक शिव विक यतिबेला अमेरिकामा छन् । केही समयका लागि मात्रै भनेर उनी अमेरिका गएका भने होइनन् । नेपाल छाडेर स्थायी बसोवासका लागि परिवारसहित अमेरिका पुगेका उनले त्यहाँ रहेर एक गीतको सुटिङ गरेका छन् ।
वाल्टिमोरमा भएको सुटिङका तस्वीरहरू सामाजिक सञ्जालमा सेयर गर्दै उनले यसबारे जानकारी दिएका हुन् ।
तीज गीतको भिडियोमा अभिनेत्री प्रियंका कार्कीले अभिनय गरेकी छिन् । साथमा, शिवहरी पौडेल, खेम शर्मा, रुबी पौडेल लगायतको अभिनय रहेको शिवले जनाएका छन् । गायिका कल्पना देवकोटामा स्वर, लक्ष्मण पौडेलको शब्द एवं संगीत रहेको गीतको सुटिङ गरिएको उनले जानकारी दिएका छन् ।
युट्युबमा सर्वाधिक हेरिएको लोकदोहोरी गीत ‘सालको पातको टपरी हुने’मा शिवको निर्देशन छ ।
विष्णु माझीको ‘चरी जेलैमा’ तीज गीतमा शिवकै कोरियोग्राफी छ । ‘त्यो मान्छेले हेरेको हेर्यै छ’, ‘चिटिकै भाछु रे’ जस्ता चर्चित गीतमा पनि उनको निर्देशन छ । उनले अभिनेता राजेश हमालदेखि भुवन केसीसम्मलाई समेत लोकदोहोरी गीतको भिडियोमा नचाएका छन् ।
शिवले नृत्य निर्देशन गरेका थुप्रै फिल्मी गीतहरू पनि हिट छन् । पछिल्ला वर्षमा भने म्युजिक भिडियोमा उनको व्यस्तता अलि कम भएको थियो ।


